प्रविधि ‘वर्तमान होइन, भविष्य हो’

प्रविधि ‘वर्तमान होइन, भविष्य हो’

काठमाडौं : जीवनको पहिलो आम्दानी दुई हजार रुपैयाँबाट सुरु गरेका अमित अग्रवाल भन्छन्, ‘प्रविधि वर्तमान होइन, भविष्य हो।’ आजलाई होइन भोलिलाई हेरेर आउने हो भने मात्र प्रविधि क्षेत्रमा ठूलो अवसर छ।

कुनै बेला दुई हजारले कोरेको बाटोले आज उनी ‘खल्ती’ मोबाइल वालेटसम्म आइपुगेका छन्। खल्ती उनीहरूको (मनिस मोदी, अरबिन साह, ध्रुव अधिकारी र अमित अग्रवाल) भविष्य हो। दुई वर्षमा आठ लाख मानिसले खल्तीमा लग इन गरेका छन्। स्प्यारो एसएमएसमार्फत वार्षिक पाँच करोडको हाराहारीमा एसएसएस सेवा दिइरहेको छ। तर यसको सफलता भविष्यले निर्धारण गर्नेछ।

वीरगन्जमा जन्मिएका अग्रवाल भन्छन्, ‘खल्ती सुरु गर्दा हामीलाई यो पनि थाहा थियो, ‘यो वर्तमान हैन, भविष्य हो।’ वर्तमानमा यसबाट कुनै आम्दानी हुँदैन। यसलाई निरन्तर सेवा दिन सक्ने हो भने भविष्य छ। भविष्य कति टाढा छ भन्ने मात्र हो। त्यो भविष्यलाई हामीले कति नजिक ल्याउन सक्छौं अब हामीमा निर्भर हुनेछ। कुनै बेला सौभाग्यले काठमाडौं छिरेका अग्रवाल आज युवामाझ परिचित छन्। उनको बिरामी बाबु र दाइले धानेको १० जनाको परिवार थियो। माडवारी परिवारमा जन्मिएका उनलाई त्यस समाजबाट बाहिर आउनु नै पहिलो चुनौति थियो। काम गरेर घरपरिवार चलाउनु पर्छ भन्ने सोच थियो उनको। माडवारी समुदायमा सँगै पढेका उनका साथी पढाइ छाडेर आफ्नो पेसामा लागे। उनीलाई पनि त्यसले छोएको थियो। एसएलसी सकेर दाजुसँगै हातेमालो गरेर परिवारलाई चलाउने सोच उनमा पनि थियो। सँगै थियो यहाँबाट बाहिर निस्किएर काठमाडौं पुग्ने सपना पनि।

त्यो सपनाको गोरेटो दिदी भिनाजुले कोरिदिए। दिदी भिनाजु काठमाडौं छिरेसँगै उनको बाटो पनि खुलेको हो। एसएलसी सकिएको थियो। बीचमा दाइलाई सघाउँदै गर्दा उनले सँगै ब्रिज कोर्स गर्ने इच्छा व्यक्त गरे। आफूले त्यसका लागि पूर्ण छात्रवृत्ति पाएको पनि सुनाए। सुरुमा दाइबाट कुनै प्रतिक्रिया आएन। उनी काम गर्दै गए। यता दाइले भने दिदी भिनाजुसँगको सल्लाहमा उनको काठमाडौं यात्रा तय गरिसकेका रहेछन्। त्यसपछि उनको काठमाडौंको यात्रा सुरु भयो। साइन्समा ब्रिज कोर्स गरे। जुन उनको पारिवारिक पृष्ठभूमिभन्दा पूर्ण फरक थियो। माडवारी परिवारमा हुर्किएका उनको पृष्ठभूमि व्यवसाय थियो। उनको पढाइ विज्ञानतर्फ मोडियो। उनले ह्वाइट हाउस कलेजमा पूर्ण छात्रवृत्तिमा अध्ययन प्लस टू अध्ययन सुरु गरे। उनको काठमाडौं बसाइको खर्च उनले आफूभन्दा सानालाई ट्यूसन पढाएर आएको रकम र माडवारी सेवा समाजले दिएको सहयोगले धान्यो।

माडवारी सेवा समाजले माडवारी समुदायका उत्कृष्ट विद्यार्थीलाई सानो–सानो रकम सहयोग गथ्र्यो। सहयोगस्वरूप उनले २४ हजार पाएका थिए। यही गतिमा उनको प्लस टूसम्मको यात्रा चल्यो। प्लस टू सकिएपछि उनको यात्रामा अझ समस्या देखा पर्‍यो। राम्रो अंकका साथ प्लस टू पास गरेको भए पनि त्योभन्दा माथिको अध्ययन उनको परिवारले धान्न सक्ने थिएन। उनले काठमाडौं छोडेर गाउँ फर्किने निधो गरिसकेका थिए।

आफंैमा पनि उनी अर्को चार वर्ष पढेर कहिले जागिर खानु र कहिले दाजुलाई सहयोग गर्नु भन्ने प्रश्नमा थिए। उनले आफूभित्र उब्जिएको प्रश्नको जवाफ गाउँ फर्किनु मै पाएका थिए। त्यसबीच उनी भिनाजुको किराना पसलमा सघाउँथे। एक दिन कलेजले बोलायो। उही प्लस टू गरेको कलेज। उनी काठमाडौं छाडेर गाउँ फर्किने तयारीमा रहेको कलेजका प्राध्यापकले थाहा पाएछन्। उनले प्लस टूमा टप गरेकाले चार वर्ष इन्जिनियरिङ निःशुल्क पढाइदिने भने। जसमा विश्वविद्यालयलाई बुझाउनु पर्ने २४ हजार भने उनी आफैंले बुझाउने पर्ने थियो। उनले बस्ने व्यवस्था पनि मिलाइदिन आग्रह गरे। कलेजले होस्टेलको व्यवस्था पनि गरिदियो। तर मासिक २५ सय शुल्क बुझाउने गरी। त्यो खर्च प्राध्यापककै छोराहरूलाई पढाएर उनले कटाए। त्यसबीच उनलाई फेरि पनि माडवारी सेवा समाजले सहयोग गर्‍यो।

अझै पनि नेपालमा टेक्नोलोजीमार्फत कारोबार गर्न कम्तिमा १० वर्ष लाग्नसक्छ। अबको पुस्ताले पनि नेपालमा प्रविधि वर्तमान होइन भविष्य हो भनेर आउनु पर्नेछ।

सहयोग रकम थियो एक लाख ४४ हजार रुपैयाँ। उनको जीवनको सबैभन्दा ठूलो पुरस्कार। यहाँबाट उनको होस्टेल बसाइ सुरु भयो। जुन उनको जीवनमा नयाँ तर फलदायी बसाइ पनि भयो। होस्टेल थियो प्लस टूका विद्यार्थी बस्ने। अरू प्लस टू पढ्ने उनी भने ब्याचलर। उनी त्यहाँ पढाइका हिसाबले सिनियर भए। होस्टेलमा केटाको संख्या एक सय १० थियो। अगाडि रहेको होस्टेलमा ७० जना केटी विद्यार्थी बस्थे। सिनियरको हिसाबले विस्तारै उनी सबैमाझ चिनिन थाले। उनको विद्यार्थीसँगको सम्बन्ध राम्रो हुँदै गयो।

त्यहाँको साढे चार वर्षको अवधिमा उनले झन्डै ६–७ सय विद्यार्थीसँग सम्बन्ध बनाउने मौका पाए। त्यही सम्बन्धलाई उनले व्यवसायमा परिणत गर्ने योजना बनाए। उनमा डान्स पार्टी आयोजना गर्ने सोच बन्यो। उनीसँग माडवारी समाजले सहयोग उपलब्ध गराएको केही रकम बाँकी थियो। त्यसैलाई सदुपयोग गरेर डान्स पार्टी आयोजना गरे। त्यसअघि आफू कहिल्यै डान्स पार्टीमा सहभागी भएनन्। प्लस टू सकिएको अन्तिम दिन विद्यार्थीका लागि डान्स पार्टी आयोजना हुँदा भने उनी सरिक भए। विद्यार्थीले काटेको टिकट वापतको रकम उनको आम्दानी थियो। पहिलो डान्स पार्टीबाट उनले दुई हजार रुपैयाँ बचाए। यही दुई हजार उनको जीवनको पहिलो कमाइ थियो।

उनले सुरु गरेको डान्स पार्टी विस्तारै ‘स्टुडेन्ट रिफ्रेसमेन्ट’ पार्टीको रूपमा ब्राण्ड बन्यो। पार्टीमा पुराना विद्यार्थीका साथै अन्य कलेजका विद्यार्थीको पनि सहभागिता हुन थाल्यो। उनको सम्पर्कमा अन्य कलेज तथा कन्सल्टेन्सीले पनि आए। उनले आयोजना गरेको पाँचौं पार्टीमा अर्बिट इन्टरनेसनल कलेजले सहयोग गरिदियो। पाँचौं कार्यक्रमबाट उनले तीन लाख रुपैयाँ बचाउन सफल भए।

‘त्योभन्दा पनि मेरोे सम्बन्ध अझ विस्तार भएको थियो’, उनी भन्छन्, ‘यसबीचमा मैले सुबिसुमा काम गर्न थालें।’ एकदिन उनको भेट मनिस मोदीसँग भयो। जो आज खल्तीमा सँगै छन्। माडवारीबाट उनी पनि सम्मानित भएकाले उनको भेट त्यहीं भएको थियो। मोदी, अरबिन र ध्रुवले पुल्चोक इन्जिनियरिङ कलेजमा तेस्रो वर्षमै पढ्दा जानकी टेक्नोलोजी सञ्चालन गरिसकेका थिए। उनी सुबिसुमै थिए। सुबिसुमा काम गर्दा उनलाई आफ्नै मेहनतले कमाएको पहिलो दुई हजार नै महत्वपूर्ण लाग्थ्यो। उनी चाहान्थे, आफैं केही गरौं।

सुबिसु छोडेर उनले नयाँ यात्रा सुरु गरे। साथी (अरबिन, ध्रुव र मनिष) सँगको छलफलपछि सन् २००९ मा उनी जानकी टेक्नोलोजीमा आए। जहाँ अहिले ८० जना कर्मचारी छन्। उनी सुरुमा त्यहाँ विजनेश डेभलपमेन्ट र मार्केटिङ हेर्ने गरी १० हजार तलबमा आएका थिए। तर सर्त थियो, आगामी दिनमा आउने प्रोजक्ेटमा शेयर पाउने। त्यहीअनुसार २०१० स्प्यारो एसएमएसको सुरुवात भयो। जहाँबाट उनको सेयर लगानी सुरु भयो। स्प्यारोमा टिम वर्कले काम गर्‍यो। मेहनत धेरै भयो। जसको प्रतिफल आज स्प्यारो एसएमएस नेपालको सबैभन्दा उत्कृष्ट एसएसमएस सर्भिस प्रोभाइडरको रूपमा छ। जसमार्फत दुई हजारभन्दा बढी कम्पनीको वार्षिक पाँच करोडको हाराहारीमा एसएमएस गइरहेको छ।

त्यसपछिको प्रोडक्ट थियो ‘खल्ती’। पैसा र वालेटसँग मिल्ने टिपिकल नेपाली शब्द खोज्ने क्रममा नाम जुर्‍यो ‘खल्ती’। खल्ती सुरु भएको जम्मा दुई वर्ष भयो। यसमा लग इन गर्ने प्रयोगकर्ताको संख्या ८ लाख पुगेको छ। त्यसको करिब २० प्रतिशत सक्रिय प्रयोगकर्ता छन्। वीरगन्ज र धनगढीमा शाखा छ । देशभर आठ हजार सटर तथा पसलबाट सेवा चलिरहेको छ। तर, अझै पनि खल्तीले सोचेअनुसार बजार सिर्जना गर्न भने नसकेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेको तथ्यांक हेर्ने हो भने तीन करोड जनसंख्या भएको देशमा तीन लाख सक्रिय प्रयोगकर्ता छैनन्। बजार बाँकी छ। अबको दिनमा अझ स्मार्ट फोनको प्रयोग बढ्दै जाने छ, मोबाइल डाटा प्रयोगकर्ता बढ्दै जानेछ।’ अहिले हेर्ने हो भने सम्पूर्ण आर्थिक कारोबारको तीन प्रतिशत मात्रै डिजिटल सिस्टमबाट हुन्छ । बाँकी ९७ प्रतिशत काम नगदबाटै हो। त्यो तीन प्रतिशतमा पनि ८० प्रतिशत कार्डबाट कारोबार भइरहेको छ। त्यसमा परिवर्तन गर्न खल्तीबाट पैसा झिकेर हैन, मोबाइल झिकेर पैसा तिर्ने बानीको विकास गर्न आवश्यक रहेको उनी बताउँछन्। उनका अनुसार अहिलेको अवस्थामा भनेको युटिलिटी पेमेन्टमामात्र सीमित छ।

हामीले पैसाको कारोबार जहाँ हुन्छ त्यहाँ यो टेक्नोलोजी प्रयोग गर्न सक्नुपर्ने हो। उनी भन्छन्, ‘हाम्रो बैंकिङ सिस्टम बिहान ९ बजेबाट बेलुकी ५ बजेसम्म चल्छ। यसले हाम्रो अर्थतन्त्रलाई गति दिन सकेको छैन। रातको समयमा कारोबार रोकिएको छ।’ यदि २४ घण्टा बैंकिङ सेवा हुने हो भने लाइन बस्नु पर्ने समस्या हल हुने, समयको बचत हुनेदेखि अहिलेको रोडमा देखिएको जामलाई पनि केही हदसम्म नियन्त्रण गर्न सकिन्छ।

अनलाइनबाटै कारोबार हुने थाल्ने हो भने आर्थिक कारोबार पनि स्वाभाविक रूपले बढ्ने छ। अझै पनि नेपालमा टेक्नोलोजीमार्फत कारोबार गर्न कम्तिमा १० वर्ष लाग्नसक्छ। तर प्रविधि भविष्य हो भनेर यसमा लाग्नुपर्छ। अबको पुस्ताले पनि नेपालमा प्रविधि वर्तमान होइन भविष्य हो भनेर आउनु पर्नेछ। त्यसका लागि सरकारले सोहीअनुसार संरचनाको विकास भने गरिदिनु पर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.