उत्तर कोरियाको अर्को मिसाइल परीक्षण
सोल : उत्तर कोरियाले बिहीबार फेरि छोटो दुरीमा प्रहार गर्नसक्ने दुई मिसाइल परीक्षण गरेको छ। उसले एकै साताभित्र गरेको यो दोस्रो मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जानकारी दिएको हो।
उत्तर कोरियाको उत्तर पश्चिमी सहर कुसोङबाट परीक्षण गरिएका मिसाइलमध्ये एउटाले ४ सय २० किलोमिटर र अर्कोले २ सय ७० किलोमिटर पूर्वसम्मको दुरी पार गरेका थिए। समुद्रमा खस्नुअघि दुवै मिसाइल जमिनभन्दा ५० किलोमिटर माथिबाट उडेको दक्षिण कोरियाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षण अवलोकन गरेका थिए।
उत्तर कोरियाका लागि अमेरिकी विशेषदूत स्टिफन बिगन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ। उनी दक्षिण कोरियाली आणविक निःशस्त्रीकरण दूत ली डु–हुनसँग वार्ताका लागि सोल आएका छन्।
मिसाइल स्थानीय समयअनुसार दिउँसो साढे ४ बजे परीक्षण गरिएको थियो। उत्तर कोरियाली राजधानी प्योङयोङबाट क्षेप्यास्त्र परीक्षण गरिएको सहर करिब १ सय ६० किलोमिटर टाढा पर्छ। यसअघि उत्तरले गत शनिबार मात्र यस्तै छोटो दुरीका मिसाइल परीक्षण गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पसँग दुई चरणमा वार्ता हुनुअघि सन् २०१७ नोभेम्बरमा उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच भियतनामको हनोईमा भएको निःशस्त्रीकरण वार्ता बिनानिष्कर्ष टुंगिएको थियो। त्यसपछि उत्तर कोरियाले आफूमाथिका नाकाबन्दी खुकुलो पार्नका लागि दबाब दिन फेरि मिसाइल परीक्षण गरिरहेको छ। उसले दबाब बढाउन नाकाबन्दी खुकुलो नपारे आणविक परीक्षणसमेत सुरु गर्ने धम्की दिन थालेको छ। अमेरिका भने उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण गर्न दबाब बढाइरहेको छ।