स्थानीयको चेतावनीको प्रभाव : चापागाउँ-सातदोबाटो सडक मर्मत हुने
ललितपुर : तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ-सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ। लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र शुक्रबार क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।
विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो। हाल विभिन्न कारण देखाई ठेक्का लिएको सडक मर्मतको काम ठेकेदारले गर्ने जिम्मेवारीबाट पन्छन चाहे तापनि उसैबाट काम अघि बढाइने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।
‘सडक मर्मत र निर्माणको काम ९९ प्रतिशत अघि बढ्ने तयारी भइसकेको छ’, महर्जनले भने ‘अबको एक हप्ताभित्र सडकको काम पक्कै अघि बढाउने छौं।’
नगरपालिकाले मन्त्रिपरिषद् र सम्बन्धित अन्य निकायलाई आफैँ साढे पाँच करोड खर्च गरी सडक मर्मत र विस्तारको काम गर्ने चुनौती पटक पटक दिएसँगै उनीहरुले तत्काल गराउने सकारात्मक जवाफ दिएको महर्जनले बताए।
सडक मर्मतको काम तत्काल सुरु नभए शनिबारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन्। रासस