अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्धार
बैतडी : बैतडीको पाटन नगरपालिका ९ को खोड्पे बजारमा अलपत्र अवस्थामा फेला परेकी एक महिलाको उद्धार गरिएको छ।
बिहीबार राति करिब ९ महिनाको बच्चासहित सडकमा बसेकी महिलालाई देखेपछि स्थानीयले सम्बन्धित निकायलाई खबर गरेका थिए।
पाटन नगरपालिका ९ का वडा अध्यक्ष लोकबहादुर भण्डारीले अलपत्र परेकी महिलाको उद्धार गरिएको बताए। उनले भने ‘हामीले सडकमा अलपत्र अवस्थामा फेला परेकी महिलाको बिषयमा थाहा पाएपछि उद्धार गरेका हौं।’
अलपत्र अवस्थामा फेला परेकी महिलाको पहिचान भने खुल्न नसकेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। ‘हामीले ती महिलाको अवस्थाको बारेमा थाहा पाएपछि सुरक्षित महिला आवास गृहमा ल्याएर राखेका छौं’, उनले भने।
प्रहरीको सहयोगमा अलपत्र अवस्थामा रहेकी महिलालाई सुरक्षित महिला आवास गृहसम्म पुर्याइएको हो। अलपत्र अवस्थामा फेला परेकी महिलाको पहिचान खोज्ने कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए।
उद्धार गरिएकी महिलाले अलिअलि हिन्दी बोल्ने गरेको उनले बताए। उद्धार गरिएकी महिलाको ठेगाना पत्ता लगाउनका लागि प्रयास भइरहेको प्रहरी निरीक्षक बोगटीले बताए।