प्रतीक्षा र प्रगतिशीललाई प्रश्न
हल्लालाई त यति गम्भीर रूपमा लिने लेखकले कसरी आफ््नै बुवाले छोरीको नथुनी खोलेको कुरा लेख्न सक्नुभयो ? यहाँको मन दुख्छ भने के रञ्जिताको मन दुख्दैन ?
वादी समुदायको विषयमा लेखिएका जति पनि साहित्यिक कृति छन्, चाहे त्यो नथिया, ऐलानी, अपराजिता, बादी, ऐना होऊन्, तिनमा बादी महिलाको देहलाई व्यापारका रूपमा प्रस्तुत गरिएको छ। बादी महिलाको शरीरलाई व्यापारिक प्रयोजनका लागि पस्कने काम भएको देखिन्छ। वास्तवमा उनीहरूको इतिहास, कला, संस्कृति, संंघर्ष तथा योगदान र पीडालाई कुनै मूल्य दिइएन, केवल हेरियो त उनीहरूको शरीर, रूप अनि बैंस।
बादी समुदायको विषय अरू समुदायभन्दा पृथक् र विशिष्ट प्रकारको छ। यस विषयमा साहित्यकारहरूले कलम चलाउनै पाउँदैनन् भन्ने अर्थमा कसैले नबुझे पनि हुन्छ। साहित्य समाजको दर्पण हो । समाजमा भएका हरेक गतिविधिलाई ऐनाझैं छर्लंग पार्नु यसको मर्म, कर्म र धर्म पनि हो। अहिले विशेषतः साहित्यकारहरू सीमान्तीकृत तथा दलित समुदायमा कलम चलाउने क्रम बढेको छ, यो खुसीको कुरा हो। प्रगतिवादी लेखन नै समसामयिक लेखनको मूलधार हो भन्ने बहस पनि चली नै रहेको छ। तर प्रगतिवादी साहित्यका नाममा आफूवाद हाबी भएको छ। चाँडोभन्दा चाँडो समाजमा चिनिन, नाम कमाउन, हतारिँदै हल्लाखल्ला गरेर पुस्तक छाप्ने प्रवृत्ति उत्तिकै छ। उनीहरू मुद्दाप्रति साँच्चै संवेदनशील हुनेभन्दा पनि मुद्दालाई सनसनीपूर्ण बनाएर बेच्न हतारिएको प्रस्ट देखिन्छ। समुदायको आत्मसम्मानमा पुग्ने असरको कुनै ख्याल नगर्ने साहित्य कसरी प्रगतिवादी साहित्य र कला हुन्छ र ? यसले स्रष्टालाई नाम र दाम त दिन्छ तर सम्बन्धित समुदायलाई भने चोटैचोटै र अनुहारमा पोतिन्छ...।
भारतीय लेखक काँचा इलैयाको ‘अनटचेबल गड’मा विशेषगरी अछूत महिलाहरूलाई यौन खेलौनाका रूपमा लिइन्छ र सजिलै उनीहरूलाई प्रयोग गर्ने र फ्याँकिदिने गरिन्छ। यद्यपि उनीहरूलाई अछूत भने पनि उनीहरूको शरीरलाई भने आवश्यकताअनुसार छूतका रूपमा स्वीकार गरिन्छ।
यस्तै प्रकारको विभेद नेपाली समाज र नेपाली साहित्यले अहिले बादी समुदायमा गरेको छ। बादी भनेका सबै यौन पेसामा संलग्न हुन्छन् र देहव्यापारबाट जन्मेका हुन् भनिएको छ। यिनीहरूको पहिचान हुँदैन वा यिनीहरूका बुवा हुँदैनन् भन्ने जुन सोचाइ छ, त्यो गलत छ । र यस प्रकृतिले लेखिएका सबै कृति गलत हुन्।
पछिल्लो पटक बादी समुदायका अभियन्ताहरू कानुनी उपचारको खोजीमा रहरले गएका होइनन्। कानुनी उपचार खोज्नभन्दा पहिला नै राष्ट्रिय स्तरमा सबै सरोकारवालाहरूसँग छलफल, बहस र पैरवी पनि गरिएको थियो। यतिसम्म कि लेखक तथा निर्देशकहरूसँग समन्वयका लागि भरपुर प्रयत्न गरिएको थियो। झोलामा कार्यालय बोकेर हिँडेपछि सम्पर्क हुन नसकेकै हो भने केहीसँग सम्पर्क गर्दा पनि त्यही साहित्यिक उन्मादका कारण यी भुइँयाहरूलाई ह्याकुलाले थिचिन्छ भन्ने आडम्बर हाबी भएको थियो। बादी समुदायलाई सार्वजनिक उपभोगको समानका रूपमा सोच्नु, उनीहरूलाई यौन खेलौनाका रूपमा प्रयोग गर्नु र उनीहरूको शरीरलाई बिक्रीको सामानका रूपमा सोच्ने प्रवृत्तिविरुद्ध सचेत बादीहरूले अभियान चलाएका हुन्। यो अभियान लेखक र साहित्यकारविरुद्ध हुँदै होइन । यो बादी समुदायलाई हेर्ने गलत प्रवृत्तिविरुद्ध हो र रहनेछ। यो अभियान अभिव्यक्ति स्वतन्त्रताविरुद्ध पनि होइन, स्वतन्त्रता यस्तो पनि हुनु हुँदैन जहाँ समाजकै उही सहयोगी व्यक्तिलाई उही नाम दिई बाबुद्वारा बलात्कृत बनाइयोस् र बाबुलाई बलात्कारी भनियोस्।
बादी समुदायको अभियान यस्ता सामाजिक विकृति फैलाउने साहित्यविरुद्ध मात्र होइन, अन्य विषयमा पनि सञ्चालन भएको छ। न्याय माग्ने कार्य बादी समुदायका लागि यो पहिलो होइन, २०६० सालदेखि नै अदालतको दैलो बादी समुदायले ढकढक्याइसकेको हो । आवश्यक परे अझै पनि कानुनी बाटोमा हिँड्नेछ। अहिले पनि केही साहित्यिक कृति र चलचित्रले बादी समुदायको आत्मसम्मानमा असर परेको महसुस गरेर बादीहरू कानुनको सहारा लिन पुगेका थिए।
प्रगतिशीलको पहिचान
कान्तिपुर कोसेलीमा ‘कठघरामा कला’ शीर्षकमा प्रकाशित गरुङ सुशान्तकै लेखलाई आधार मानेर हेर्ने हो भने नेपालका प्रगतिवादी साहित्यकारले बादी समुदाय अदालतमा जान हुँदैनथ्यो भन्ने मूल भाव देखिन्छ। बादी अभियन्ताहरूले कानुनी उपचारको बाटो रोज्दा पनि किन यति हडबडी ? आत्मसम्मानका लागि ठुल्ठूला लडाइँहरू लडेको इतिहास विश्वसामु छ तर हामीले त केवल सशक्त रूपमा कानुनी उपाय मात्र खोजेका हौँ विध्वंसको बाटो रोजेका थिएनौं र छैनौं पनि। हामीले त सानो माग मात्र राखेका थियौं। केही शब्दहरू र प्रक्रियाहरूले बादी समुदायको अस्तित्वमा चोट लाग्यो मात्र भनेका हौं, तिललाई पहाड बनाउने काम साहित्यकारहरूबाटै भएको हो।
मलाई प्रगतिवादी साहित्यकारहरूको बोलीमा उदेक लागेर आउँछ। महाभारतमा एक महिलाका पाँच श्रीमान् किन यो अत्याचार हो भनी मुद्दा हाल्यो भने के गर्ने जस्ता पुरातन कुराहरूले नेपाली साहित्य तथा नेपाली जनतालाई भ्रम छर्ने काम पनि भएछ। आजको समय र महाभारतको समयको कला साहित्य कस्तो थियो होला एकपल्ट मनन गर्नैपर्छ। बुर्जुवा दृष्टिकोणबाट लेखिएका कला साहित्यलाई आजको समयसँग तुलना गर्न मिल्छ कि मिल्दैन ? पुरातन कला साहित्यमा अध्यात्मवादी दर्शन, भाग्यवाद र भक्तिवादको प्रभाव थियो। त्यसैले त्यो समयमा साहित्यको नाममा देवीदेवताको स्तुतिगान या राजा महाराजा र कुलीनहरूका गौरवगाथा लेखिन्थे। तर अहिले समय परिवर्तनशील छ । समयअनुसार सबै चिज परिवर्तन हुन आवश्यक छ। त्यतिबेला कला साहित्यले आम जनमानसमा आध्यात्मवादी दर्शन, रूढीवादी एवम्् चाकरीवादको संस्कृतिको विकास गरेको थियो। वर्तमानमा नेपाली साहित्यलाई यसैका आधारमा लिने कि समाजको सही विश्लेषण गर्ने ?
बोल्न सजिलो छ तर व्यवहारमा कार्यान्वयन गर्न कठिन हुन्छ। बादी समुदायका अभियन्ताहरूलाई कानुनी प्रक्रियमा जान हुँदैन भनी सुल्झाउन कसैको कदम अगाडि बढेको थियो ? हामीले त सामान्य माग राखेका थियौं। यी मागलाई सहज ढंगले समाधान गर्न सकिन्थ्यो, प्राज्ञिक जगत् सबैलाई थाहा थियो। यतिसम्म कि लेखक तथा निर्देशकहरूलाई समेत हामी बाध्य भएर कानुनी उपचार खोज्दै छौं, तपार्इंको विचार के छ भनी अग्रिम जानकारी दिएर मात्र कानुनी बाटो खोजिएको हो । कसैलाई भ्रम नहोस्।
२०७६ वैशाख २१ गतेको कान्तिपुर कोसेलीको ‘अदालतमा किताब’ लेखले पनि बादी समुदायलाई अपमानै गरिएको छ। एउटा लेखकमा हुने शालीनता, नम्रता, क्षमा, उदारता जस्ता गुण केही देखिएन।
के साहित्यिक कृतिले वा कलाले वैयक्तिक स्वतन्त्रता हनन गर्न पाँउछ ? नेपालको संविधान, २०७२ को प्रस्तावनामै नेपालमा सबै प्रकारका जातीय विभेदको अन्त्य गरी सामाजिक न्यायको सिद्धान्तलाई अवलम्बन गर्ने भनिएको छ। त्यसैगरी धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकअन्तर्गत प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने व्यवस्था छ। त्यसैगरी, जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को धारा ४(१२) कसैले श्रव्यदृश्य सामग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोस्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको ऊचनीच दर्साउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठहर्याउने वा जातीय सर्वोच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुँदैन भन्ने स्पष्ट हुँदाहुँदै पनि नेपाली साहित्यका केही कृतिहरूले वैयक्तिक स्वतन्त्रामाथि नै आँच आउने किसिमले कुनै एउटा व्यक्तिको वैयक्तिक चरित्र हत्या गरिएको छ। तर पनि साहित्यकार र तथाकथित समालोचक, पुरस्कार दाता, पत्रकार, प्रकाशकहरूको अहंकार भने गजबको छ।
एक जना पात्र रञ्जिता नेपाली जो यौन पेसाविरोधी आन्दोलनमा सानो उमेरदेखि लागेको व्यक्ति हो। उसको आफ््नो परिवार छ, छिमेक छ र समाज छ। उसलाई यो आफ््नै बुवाले नथुनी खोलेको हो भन्दा उसका कलिला बच्चाहरूको बालमनोविज्ञानमा कस्तो असर पर्छ होला ? उसको परिवारका सदस्यहरूले कस्तो व्यवहार गर्छन् होला ? के साहित्यकारले यी संवेदनशील विषयलाई ख्याल गर्नुपर्दैन ? साहित्यकारलाई लेख्ने स्वतन्त्रता छ भन्दैमा कसैको निजी जीवनको चारित्रिक हत्या गर्ने छूट छ ? यो अपराधविरुद्ध आवाज उठाउने कि यी बादी केही होइनन् भनेर आवाजलाई नै हेप्ने ? यस्तो पनि समाज ? यस्ता पनि पहिचानवादी ? यस्ता पनि प्रगतिशील ? अचम्म लागेको छ। को कुन कित्तामा उभिएको छ, इतिहासले हिसाब राखेको छ र राखिनेछ।
यतिबेला मलाई २०७५ भदौ २४ गते ‘अन्नपूर्ण पोस्ट््’को ‘फुर्सद’मा प्रकाशित ‘विपरीत ध्रुवमा उभिएका दुई बाबा’मा सरस्वती प्रतीक्षाले लेखेको लेखको याद आयो। जहाँ उनले भनेकी छन्, ‘आफूलाई सरुभक्तको सबैभन्दा नजिकको प्रिय पात्र सम्झने एक जना युवा कवि ईष्र्याले यतिसम्म जल्नुभयो कि सरुभक्त र सरस्वतीबीचमा अनैतिक सम्बन्ध छ भनेर हल्ला फिँजाउनसमेत पछि पर्नुभएन। हल्ला पोखरा हँुदै काठमाडौंसम्म पुगेछ। त्यो हल्ला फेरि थानकोटको बाटो हँुदै चितवन, मकवानपुर, झापा कताकतासम्म पुगेछ ।’ हल्लालाई त यति गम्भीर रूपमा लिने लेखकले कसरी आफ््नै बुवाले छोरीको नथुनी खोलेको कुरा लेख्न सक्नुभयो ? यहाँको मन दुख्छ भने के रञ्जिताको मन दुख्दैन ?
एउटा हल्लालाई बाबाले कसरी गम्भीर रूपमा लिएर छोरीको इज्जतमा दाग नलागोस् भनेर हतासिनुभयो भने के रन्जिताको बुवा हतासिनुभएन होला ? आफूबारेको हल्ला र अलिखित कुरा त यसरी फिँजियो भनेर यहाँले सही प्रतिवाद गरेर लेख्नुभएको छ तर यहाँको त लिखित कुरा कहाँकहाँ कसरी फिँजाउनुभयो यहाँले ? पुस्तकका रूपमा कसैको इज्जतको धज्जी उडाउनु कति साहित्यिक न्याय हो ?
मनन गर्नुपर्दैन ? के रञ्जिता शर्मा वा कथित उच्च जाति–वर्गको भएको भए उसका बाबुले यसो गर्छन् भनेर लेख्न सक्नुहुन्थ्यो ? के बादी मान्छे होइनन् ? आफ््नै सहयोगी यथार्थ पात्रलाई उसको सारा पहिचान खुल्ने गरी कसरी लेख्न सक्नुभयो ? ल गल्ती भयो। तर पछिल्लो लेखमै पनि क्षमा भन्ने एक शब्द पनि छैन। हल्ला त केवल काठमाडौं, पोखरा, चितवन, मकवानपुर, झापासम्म पुग्यो, यो कृतिमा लेखिएको कुरा त पुस्तौं पुस्ता कलंकित इतिहासका रूपमा रहनेछ। यसको जिम्मेवारी कसले लिने ? के यो वैयक्तिक स्वतान्त्रताको हनन होइन ?
गत फागुन १५ गते सम्मानित सर्वाेच्च अदालतले गरेको निर्देशनात्मक आदेशको बादी समुदायले विशेष कार्यक्रममार्फत स्वागत गरिसकेको छ। फैसलाको पूर्ण पाठ आएपछि केही व्यक्तिहरू बाच्छा उफ्रेझंै उफ्रन थाले। उनीहरूले कि त यो पूर्ण पाठ राम्रोसँग अध्ययन गरेका छैनन् कि त उनीहरूले बुझ्नै सकेका छैनन्। यदि यो दुवै होइन भने उनीहरू फेरि बादी समुदायलाई गुमराहमा पार्न भ्रमको खेती गरिरहेका छन्। आज साहित्यिक जगत्मा तरंग मच्चाएको बेला यस्ता अचकल्टा कुरा गर्नु राम्रो हुँदै होइन। यो निर्देशनात्मक आदेश सबैभन्दा पहिला गहन तरिकाले बुझ्न आवश्यक छ।
बादीहरूले आफ्नो अस्तित्व नष्ट भएको महसुस गरेर रिट दायर गरे। रिट दायर गर्दा उनीहरूका पनि निश्चित माग अर्थात् यो विषयमा आदेश, परमादेश होस् भनेर माग राखेका थिए। अदालतले चाहे सांकेतिक होस् या घुमाउरो तरिकाले भए पनि ती कुराहरूलाई सम्बोधन गरेको स्पष्ट छ। निर्णयादेशका २२ देखि ३६ नम्बरसम्मका बुँदा ग्रहण–अध्ययन गरौं। जसमा, ‘सामाजिक यथार्थको चित्रण गर्ने नाममा कुनै जात, जाति, वर्ग वा समुदायको सम्मान र प्रतिष्ठामा आघात पार्ने कार्य हुनु शोभनीय हुँदैन ।’ वैयक्तिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका बीचमा न्यायालयले सही निर्णय गरेको बादी समुदायको बुझाइ छ। वास्तवमा फैसला सांकेतिक, घुमाउरो र साहित्यिक पनि छ। यसलाई बुझ्न र अथ्र्याउन गाह्रो पनि छ । त्यसैले बादी समुदायकै केही व्यक्ति अन्योलमा परेर सामाजिक सञ्जालहरूमा भ्रमित हुन पुगेको पाइन्छ।
निश्चित रूपमा बादी समुदायका सबै माग सम्बोधन भए भन्ने होइन । तर यस आदेशले प्र्रस्ट रूपमा दुई सन्देश दिएको छ। कुनै पनि साहित्यिक कृति लेख्दा सम्बन्धित समुदायको आत्मसम्मानलाई विचार गर्नुपर्ने र रिट निवेदन मात्र नभएर प्रचलित अन्य कानुनी बाटो खोज्न (अर्थात् गाली बेइज्जती तथा विभेदविरुद्धका कानुन पनि आकर्षित हुन्छन्) पनि प्रस्ट रूपमा देखाएको छ। सैद्धान्तिक रूपमा बादी समुदायमा परेको पीडामा अदालत जानकार भएको बारम्बार दोहोरिएका वैयक्तिक स्वतन्त्रतालाई ख्याल गरौं भन्ने वाक्यांशबाट प्रस्ट हुन्छ।
बिनाकारण लेखक तथा साहित्यकारहरूलाई ‘विद्वान्लाई इशारा नै काफी छ’ भनिएको होइन। सम्मानित अदालतले बादीप्रति देखाएको सहनुभूतिप्रति हार्दिक स्वागत तथा धन्यवाद व्यक्ति गर्दछ। सरकार र चलचित्र विकास बोर्डलाई दिएको निर्देशन र लेखक तथा साहित्यकारलाई दिएको सचेतताले आफूहरूको सम्मान बढेको महसुस गरेका छन्।
अन्त्यमा,
बादी समुदाय लामो अस्तित्वको लडाइँ लड्दै आएको समुदाय हो। दलितभित्र पनि अछूतको व्यवहार भोग्न बाध्य समुदाय हो। बादी समुदायका महिलाहरू किन, कसरी यो ‘पेसा’मा संलग्न भए, यसको मूल कारणतर्फ ध्यान दिन आवश्यक छ। पाठकलाई मनोरञ्जन मात्र दिने उद्देश्यले कुनै समुदायको अस्तित्व, अस्मिता तथा चरित्रहत्या गर्नु आफैंमा स्वाभिमानी लेखक तथा निर्देशकको उद्देश्य हुनुहुँदैन।
बादीका विषयमा लेखिएका जतिसुकै कृतिहरूले बादी महिलाको देहलाई मनोरञ्जनको पात्रमात्र बनाए, सदियौंदेखिको उत्पीडित समुदायमाथि प्रहार गर्दै साहित्यको सामाजिक दायित्व बिर्सिएर अश्लील शब्द भर्ने र बजारु बनाउने कामबाहेक उनीहरूका विशिष्ट मुद्दाहरूलाई छुने काम गरिएको देखिँदैन। हिजो राजा रजौटाले मनोरञ्जनको साधनका रूपमा प्रयोग गरेझैं आजका यी सबै कृति पनि त्यसैको निरन्तरताबाहेक अरू केही पनि होइन। अब बादी महिलाको देहलाई व्यापारिक परियोजनका लागि होइन उनीहरूको पीडामा अनुभूति गर्न नसके पनि सहानुभूति देखाउने संस्कारको विकास गर्न आवश्यक छ। बादी समुदायले कसैलाई पनि कठघरामा उभ्याएर विचारको स्वतन्त्रलाई कुण्ठित गर्ने प्रयास गरेको होइन। लेखक तथा साहित्यकार राष्ट्रका गहना हुन्, उनीहरूलाई हतोत्साहित बनाउने र खुट्टामै झुक्याउने भुइँयाहरूले कल्पना पनि गरेका होइनन्।
आत्मसम्मानसँग अझै सिँगौरी खेल्न खोज्ने केही साहित्यकारलाई सचेत बनाउन मात्र खोजिएको हो। कसैले पनि कुनै पनि समुदायको इतिहास, पहिचान र आत्मसम्मानमा पीडा दिने प्रयास गर्न एक्काइसौं शताब्दीका विद्वान् लेखकका लागि सुहाउने कुरा होइन। यत्ति बुझे हुन्छ, आफूबारे फिँजाइने हल्लाले आफ्नो मन त्यति दुख्छ भने के किताबै लेखिँदिँदा अर्काको मन दुख्दैन ? के यो क्षमा नै नमाग्नुपर्ने गल्तीसमेत होइन ? यो अक्षम्य अपराध हो।
-मानवशास्त्रमा एमफिल गरिरहेका लेखक सामाजिक अनुसन्धाता हुन् ।
आपराधिक हमला
- रञ्जिता नेपाली
सरस्वती प्रतीक्षा किताब लेख्न भनेर दाङ आउनुभयो। चिनजान र भेटघाट भयो। मैले हाम्रो समुदायबारे जानेबुझेको कुरा सुनाएँ। अनि कुनै समुदायबारे लेख्दा त्यो समुदायलाई अपमानित, लाञ्छित गर्ने हिसाबले लेख्नुहुन्छ, यसरी लेख्नु कानुनतः पनि गैरकानुनी काम हो भनेर मैले भनेकी थिएँ। दाङमा उहाँको किताबको बहस चलेका बेला उहाँले मलाई धन्यवाद दिनुभयो। मैले पूरै किताब पढेकी थिइनँ। तर त्यस बेला हाम्रो समुदायबाट उहाँलाई धेरै प्रश्न सोधिएका थिए।
दाङमा मलाई चिनेजानेका मान्छेबाट ‘के हो तेरो यस्तो पारा ? बाफ्रे बधाई छ !’ जसरी मलाई प्रतिक्रिया आउन थाले । अनि मैले किताब पूरा पढेँ। मैले आईएड क्लियर गरेकी छु। उपन्यास पढेपछि म आश्चर्यचकित भएँ, विक्षिप्त भएँ अनि धेरै नै रिस पनि उठ्यो। तर, हामी अवहेलित समुदायको आवाज सुनिदिने यहाँ को छ र ? अझ यही किताबलाई पुरस्कृत गर्ने, पहिचानवादी भन्ने, क्रान्तिकारी हुँ भन्ने महान् भन्नेहरूको स्वर मात्रै सुनिन थाल्यो।
उपन्यासको आभारमा मलाई धन्यवाद दिइएको छ। अनि म पात्र पनि छु। उपन्यास पढेका सबैलाई थाहा होला, उहाँले मेरो नाम मात्र होइन, बुबाको नाम गुमान पनि लेख्नुभएको छ। (उहाँले भेटेका यथार्थ नामलाई नै उही नाममा पात्र बनाउनुभएको छ ।) मेरो बुबालाई उहाँले जघन्य अपराधी, बलात्कारी बनाइदिनुभएको छ।
मेरो बुबा र श्रीमान् दुवै बितिसक्नुभयो । तर मलाई लाग्छ– म अन्यायमै परेर मर्नेछैन। मैले उजुरी दिएकी छु। कुनै सुनुवाइ भएको छैन। तर म आशावादी छु, अदालतले नभए पनि इतिहासले चाँडै फैसला गर्नेछ। र न्यायका पक्षमा सचेत जमातले साथ दिनेछ। यति हुँदा पनि क्षमा नमाग्ने लेखकसित थप क्षमा र सुधार माग गरेर पर्खेर बसिँदैन। लडाइँ सुरु भयो। पढेलेखेकी छु, मिडियाहरूमा पहुँच छ, अनेक कल्पना गरेर अघिल्लो हप्ता लेखेजस्तो कहानी लेख्न सक्छु, सबैले पत्याउँछन् भन्ने लागेको होला । तर आफैंलाई भने यहाँले ढाँट्न सक्नुहुन्न।
म दाङमा बुटिक तालिम गरिरहेकी छु, आमा, भाइ र ३ कक्षामा पढ्ने छोरासित परिवारमा छु। यहाँले लेखेजस्तो, अरूले सोचेजस्तो यौनपेसामा कोही छैन। सारा बादी समुदायलाई हेर्ने जुन नजर छ, त्यो आपराधिक हमला हो । अरूलाई हेपेर, कमजोरको आँसुमा रमाएर किताब लेखेर नाम–दाम कमाउनुभन्दा मैले जस्तै बुटिक पेसा गरेर खानुस् भन्न चाहन्छु।
(दाङबाट गोपाल नेपालीसँगको कुराकानी)