बेल्ट एन्ड रोड रेस्लिङ शनिबार
काठमाडौं : नेपाल रिङ रेस्लिङ संघ र एकेडब्लू चीनको समन्वयमा एमकेडब्लू बेल्ट एन्ड रोड रेस्लिङ च्याम्पियनसिप शनिबार हुने भएको छ। नेपाल र चीनबीचको मित्रतालाई उत्सवका रूपमा मनाउन चीनद्वारा प्रवर्तित वान बेल्ट वान रोडको नाममा प्रतियोगिता आयोजना गर्न लागेको नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिइन्। उनले यही प्रतियोगितामार्फत नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको बताइन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने च्याम्पियनसिपमा आठ देशका उत्कृष्ट रेस्लरबीच प्रतिस्पर्धा हुने छ। च्याम्पियनसिपमा नेपालका नुवाकोटे टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान र दिलसाले प्रतिस्पर्धा गर्ने छन्। यसैगरी अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिई ड्रायगन, अंकल मनी, बेलायतका बिग साम, चीनका बेम्बो क्रुसर, दा बाई, ब्ल्याक माक्बा, हङकङका केसी, चियरम्यान, एएल, मिचेल सु र न्युजिल्यान्डका टोमी कम्ब्याटले प्रतिस्पर्धा गर्ने छन्।
च्याम्पियनसिपमा दुईवटा बेल्टका लागि भिडन्त हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार च्याम्पियनसिप सञ्चालनका लागि ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उनले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन्। च्याम्पियनसिपको डिस मिडिया नेटवर्कको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ।
नेपाल रिङ रेस्लिङ संघले यसअघि पनि विभिन्न प्रतियोगिता आयोजना गरिसकेको छ। २०७३ सालमा पहिलो रिङ रेस्लिङ च्याम्पियनसिप आयोजना गरेको संघले नेपाल र भारतका रेस्लरबीच मैत्रीपूर्ण प्रतिस्पर्धा र गत कात्तिकमा काठमाडौं र इटहरीमा दोस्रो अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना गरेको थियो।