योग र ध्यान : प्रतिभा प्रस्फुटन गराउने मुख्य औजार

योग र ध्यान : प्रतिभा प्रस्फुटन गराउने मुख्य औजार

सुगर र निद्रा नलाग्ने समस्या भएपछि विगत दस वर्षयता योग शिविर नियमित गइरहेकी छु भन्छिन् हलेसी योग साधना केन्द्रकी ५५ वर्षीया सुभद्रा श्रेष्ठ। विगत दस वर्षदेखि यस केन्द्रको सत्संगमा रहँदा आफूलाई नयाँ संसार पाएँ भन्छिन् ओमशान्तिकी ब्रह्माकुमारी कृति। औषधोचार गर्दागर्दा आर्थिक तथा शारीरिक रूपमा झन्डै रित्तिएकी थिएँ, तर नियमित योग र ध्यान साधनाले म उठें भन्छिन् जीवन योग प्रयोगशालाकी शान्ता कटेल।

अस्पताल, धामीझाँक्री र मन्दिर धाउँदाधाउँदा शारीरिक तथा मानसिक रूपमा थलिएका, रित्तिएका र हारेका हजारौं सुभद्रा, शान्ता र कृतिहरू हिजोआज योग तथा ध्यान केन्द्रहरूमा भेटिन्छन्। तर हामी देख्छौं– आफ्नै घरपरिवार, छिमेकी र वरपरका घरका मानिसको चिन्तापूर्ण जीवन। अस्पतालहरूमा छन् रोगले पिरोलिएका हजारौं मानिस। यी सबैलाई देख्दा लाग्छ– आम मानिस चिन्ता, तनाव, अशान्त र भयले ग्रस्त छन्। के यसबाट मुक्त हुने उपाय छैनन् त ?

उपाय छन्। सरल तरिकाले यी सबै समस्याबाट मुक्त भई सधैंभरि शान्त र आनन्दले जिउन सकिन्छ भन्छन् जीवन विज्ञान प्रयोगशाला, ओशो ध्यान केन्द्र, विपश्यना साधना केन्द्र, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग शिविर र मनोक्रान्ति केन्द्रका अभियन्ताहरू। यी केन्द्रले प्रशिक्षकहरूमार्फत मुलुकका विभिन्न भागमा स्वतस्फूर्त रूपमा सर्वसाधारणका लागि योग र ध्यान साधना सञ्चालन गराइरहेका छन्।

कति छन् ध्यान केन्द्र ?

आठ वर्षयता सञ्चालन हुँदै आएको जीवन विज्ञानले अहिले ७८ स्थानमा प्रयोगशाला सञ्चालन गर्दै आएको छ। नेपालसहित दसवटा मुलुकमा योग तथा ध्यान प्रयोगशाला सञ्चालन भइरहेका छन् भन्छन् जीवन विज्ञान प्रतिष्ठानका म्यानेजर किरण रूपाखेती। उनका अनुसार जीवन विज्ञानले हरेक महिना जीवन व्यवस्थापन र ध्यान एवं साधनामुखी तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जीवन विज्ञान चाबहिलले प्रत्यक्ष रूपमा तालिम लिनेहरू एक लाखभन्दा बढी छन्। बोध र लयको तालिम लिनेहरू पाँच हजार चार सयजना छन्। २०७५ सालमा ८७५ जना बोध र लयको तालिम लिएका थिए भने आठ सय जना चक्र विज्ञानमा तालिम लिएका थिए। देशभरका जीवन योग प्रयोगशालामा आएर योग र ध्यान गर्नेको संख्या ६० हजारको हाराहारीमा छन् भन्छन् जीवन विज्ञानका विशेषज्ञ एलपी भानु शर्मा।

त्यस्तै विगत २८ वर्षदेखि ओशो ध्यान तपोवनले पनि योग र ध्यान शिविर सञ्चालन गर्दै आएको छ। तपोवनमा मासिक रूपमा तीनवटा शिविर सञ्चालन हुन्छन्। प्रति शिविरमा १५० जना सहभागी हुन्छन्। वार्षिक रूपमा नेपाली र विदेशी गरी तीन हजार साधकसाधिका दीक्षित हुन्छन्। अहिलेसम्म विदेशी ५० हजार र नेपाली एक लाख गरी डेढ लाख व्यक्ति दीक्षित भइसकेका छन् भन्छन् स्वामी आत्मो निरभ।

निरभका अनुसार एउटा शिविर सात दिनको हुन्छ। साधकसाधिकालाई नियमसंगत र वैज्ञानिक तरिकाले हरेक दिन योग र ध्यान गराइन्छ। गुरुको सान्निध्यमा रहेर एक हप्तासम्म योग र ध्यान गर्दा साधकसाधिकाले पूर्णरूपमा नयाँ जीवन प्राप्त भएको महसुस गर्छन्। उनी भन्छन्, ‘तपोवनमा ओशोप्रेमीहरू भ्रमण गर्न आउँछन्। ओशोका पाठकहरू आउँछन्। पाँच लाखजति ओशोका पाठक छन्। नेपालका मात्र होइन, रूस, अमेरिका, भारतबाट बढी आउँछन्।’ पछिल्लो पाँच वर्षमा ध्यान र योगका लागि तपोवनमा आउनेको संख्या बढिरहेको उनी बताउँछन्।

यसैगरी सन् १९८१ देखि नेपालमा विपश्यना ध्यान सञ्चालन हुँदै आएको छ। काठमाडौंको बूढानीलकण्ठस्थित आनन्दकुटी विहारमा प्रत्येक अंग्रेजी महिनाको १ र १४ तारिखमा मासिक रूपमा दुईपटक दस दिवसीय शिविर सञ्चालन हुन्छ। प्रत्येक शिविरमा सरदर सय पुरुष र सय महिला सहभागी हुन्छन्। सत्यनारायण गोयन्काले सन् १९८१ मा काठमाडौं आएर शिविर सञ्चालन गरेका थिए। त्यसयता केही वर्षसम्म वार्षिक रूपमा सञ्चालन हुँदै आएको विपश्यना शिविरबाट लाभान्वित साधकको प्रेरणाले गोयन्काले नेपालमा पनि औपचारिक रूपमा विपश्यना केन्द्र स्थापना गरेका थिए।

त्यस्तै विगत ५२ वर्षयता नेपालमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले ध्यान शिविर सञ्चालन गर्दै आएको छ। २०२३ सालतिर स्थापना भएको यस केन्द्रले एकाधबाहेक सबै जिल्लामा सेवा केन्द्र, उपसेवा केन्द्र, पाठशाला र एकाइ कक्षा सञ्चालन गर्दै आएको छ। यसका शिविरमा आबद्ध भएर निरन्तर रूपमा सेवा लिइरहेका साधकहरूको संख्या एक लाखभन्दा बढी छ। ओमशान्तिका शिविर एक सय ४२ मुलुकमा सञ्चालन भइरहेको छ भन्छन् ब्रह्माकुमार तिलक।

यसैगरी सन् २००५ देखि सुरु भएको पतञ्जली योग समिति नेपालले सबै जिल्लामा शिविर सञ्चालन गर्दै आएको छ। भक्तपुरभरि ५३ वटा ठाउँमा योग शिविर सञ्चालन भइरहेको छ भन्छन् मध्यपुर ठिमी नगर योग समितिका अध्यक्ष लेखनाथ पन्त। ४३ हजारभन्दा बढी योग प्रशिक्षकमार्फत तीन हजारभन्दा बढी ठाउँमा योग शिविर सञ्चालन भइरहेका छन् भन्छन् पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रमुख लवदेव मि श्र।

त्यस्तै विगत ३१ वर्षयता सञ्चालन हुँदै आएको मनोक्रान्ति केन्द्रले योग तथा ध्यान शिविर सञ्चालन गर्दै आएको छ। यसका प्रवर्तक स्वामी विकासानन्दले २०४३ सालतिर ताम्सिपाखा काठमाडौंमा आनन्द योग केन्द्र स्थापना गरेका थिए। केन्द्रले साधकसाधिकालाई रेकी, ज्ञान, ध्यान योग, मनोक्रान्ति योग आदि प्रदान गर्दै आएको छ भन्छन् योगी नवराज ठम। दस वर्षअगाडि सर्वसाधारणमा योग र ध्यानलाई जनसमक्ष पुर्‍याउन मनोक्रान्ति केन्द्रले जागरण नै ल्याइदिएको ठम दाबी गर्छन्।

योग तथा ध्यान केन्द्रका उद्देश्य

मानिसलाई शारीरिक, मानसिक र वैचारिकरूपले पूर्ण स्वस्थ बनाउनु ओशो तपोवनको उद्देश्य हो भन्छन् स्वामी निरभ। उनी भन्छन्, ‘ओशो तपोवनले दुव्र्यसनी, मदिरापान गर्ने, तनाव, पीडा, अहंकार आदिबाट विक्षिप्त अवस्थामा यहाँ आइपुगेका मानिसलाई नयाँ जीवन प्रदान गर्दै आएको छ।’ उनका अनुसार तपोवनले बाह्र वर्षसम्म निद्रा लाग्ने औषधी खाँदै आएका व्यक्तिलाई नयाँ जीवन दिएको छ।

हाम्रो समाजमा कसरी धेरैभन्दा धेरै कमाउने, जित्ने र अरूलाई लडाउनेजस्ता अराजक व्यवहार, शैली र प्रवृत्ति बढ्यो तर जिन्दगीलाई शान्त र आनन्दपूर्ण बनाउने योग र ध्यानका क्रियाकलापतिर कत्ति पनि मन नदिइएकाले यस्तो अवस्था निम्तिएको बताउँछन् स्वामी निरभ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको उद्देश्य साधकमा असल चरित्र निर्माण गर्नु र मानव जीवनलाई सद्गुणी र मूल्यवान् बनाउनु हो। ध्यान साधनाले साधकका मनमा रहेका अशुद्ध विकार, अशुद्ध विचार, दुर्वलता, डर, अशान्ति, हीनता हट्दै जान्छन् र आध्यात्मिक ज्ञान, तेज, सत्संग भरिँदै जान्छ भन्छन् यस केन्द्रका उपाध्यक्ष ब्रह्माकुमार तिलक। उनी भन्छन्, ‘मानिसहरू विकारको भारी बोकेर यहाँ आउँछन्, बिसाउँछन् र मनमा आध्यात्मिक ज्ञान, खुसी र शान्ति भरेर चंगाजस्तै हलुका भएर जान्छन्।’

मध्यपुर ठिमी नगर योग समितिका अध्यक्ष पन्त दैनिक बिहान एकडेढ घन्टा गराइने योग र ध्यानले आलस्य, तनाव, दिक्दारी, मेटाई जोसजाँगर ल्याइदिने हुँदा व्यापारी व्यवसायी तथा कर्मचारीका लागि जरुरी रहेको बताउँछन्। योगबारे विगत सम्झँदै उनी भन्छन्, ‘म घरमै ध्यान गरिरहन्थें। त्यसले योग र ध्यान गर्नुपर्छ भन्ने भावना मेरो मनमा जगायो। यसपछि अरूलाई पनि समेटें। यसलाई देशैभर पुर्‍याउने इच्छा पनि जाग्यो। योगका सहयात्रीहरूको सल्लाहमा यसलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरियो र भारतका रामदेव बाबाको पतञ्जली योगसँग जोडेपछि यसलाई नेपालभर विस्तार गरिएको हो।’

योग र ध्यान प्रारम्भ गर्नुपर्ने उमेर सात–आठ वर्ष नै हो। ६०–७० वर्ष भएपछि योग र ध्यान गर्न नसकिएला। बरु युवावस्थामै योग र ध्यान गर्दा सबैभन्दा प्रभावकारी हुन्छ।

‘जीवनका प्रत्येक क्षेत्रमा उच्च उपलब्धि प्राप्त गर्ने तथा दुःख र विकारबाट मानिसलाई मुक्त बनाउने यो ध्यानविधिको उद्देश्य रहेको छ। विपश्यनाले आफूभित्र शान्ति र सामन्जस्य अनुभव गर्न सक्ने योग्यता प्रदान गर्छ। यसले चित्तको व्याकुलता हटाउँदै निर्मल बनाउँछ। सिद्धार्थ गौतमबुद्धले यही ध्यानबाट बुद्धत्व प्राप्त गरेका थिए’, नेपाल विपश्यना केन्द्रको भनाइ छ।विज्ञान, अध्यात्म र कलालाई एक ठाउँमा ल्याएर मानिसलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त, बौद्धिक रूपमा जागरुक र आध्यात्मिक रूपमा मुक्त बनाउनु मनोक्रान्तिको केन्द्रको उद्देश्य हो भन्छन् स्वामी विकासानन्द। उनी भन्छन्, ‘मनोक्रान्ति आफूलाई चिनाउने जीवन दर्शन हो।’

योग तथा ध्यानका विभिन्न साधनाबाट मानिसका दैनिक जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनु जीवन विज्ञानको उद्देश्य हो। जीवन विज्ञान एउटा आध्यात्मिक प्रयोगशाला हो, जहाँ अध्यात्मका गहिरा सत्य एवं सूत्रहरूलाई विभिन्न साधना एवं जीवन व्यवस्थापन कार्यक्रमद्वारा सरल एवं सहज ढंगबाट जीवनमा उतार्नु हो भन्छन् जीवन विज्ञानका विशेषज्ञ शर्मा। उनी भन्छन्, ‘अधिकांशतः शारीरिक रोग निको पार्न भनेर आउँछन्, तर हाम्रो मूल ध्येय शरीरको रोग निको मात्र बनाउनु होइन, व्यक्तिलाई ध्यानमा लैजानु हो। आफूभित्रको सम्भावनासँग परिचित गराउनु हो। व्यक्तिलाई बडो प्रेमल, आनन्दित र खुसी बनाउनु हो। जीवनमा आउने विभिन्न समस्याबाट मुक्त हुने विधि सिकाइदिनु हो।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले योग, ध्यान र आयुर्वेदसम्बन्धी शिक्षा विद्यालय तहमै पढाउने उद्देश्यले पाठ्यक्रमको तयारी गरिरहेको छ। शिक्षा मन्त्रालयका अनुसार यी विषयको पाठ्यक्रम निर्माणका लागि विषयविज्ञसँग छलफल गरेर कार्यदल गठन भइसकेको छ।

योग र ध्यानको अपरिहार्यता

चार वर्षको उमेरदेखि नै विशेष एवं कठिन योग र ध्यान साधना गर्दै आएका बालगुरु आदित्यले योग र ध्यानबारे स्पष्ट पारेका छन्। उनी भन्छन्, ‘सुन्दरता बाहिरी आकर्षण मात्र हो, ध्यानद्वारा प्राप्त चमकद्वारा जीवन सिँगार।’ उनी भन्छन्, ‘योग र ध्यान साधनाविनाको सुखद जीवन नियाल्दै छौ भने आँखा भए पनि तिमी अन्धो हौ। सबै अंगमा चेतना भए पनि तिमी लुलो हौ।’

नेपाली जनजनमा सुख, शान्ति र निरोग प्राप्त गर्न, नैतिकता र जिम्मेवारी बोध गराउन र राष्ट्र र राष्ट्रियता जगाउनका लागि योग अनिवार्य रहेको पतञ्जली योगका अध्यक्ष मि श्र बताउँछन्। उनी भन्छन्, ‘योगको आवश्यकता महसुस गरेर हामीले ‘घरघरमा योग’, ‘गरौं योग रहौं निरोग’, ‘रोगअनुसारको योग’, ‘उमेरअनुसारको योग’, ‘जनजनमा योग’ भन्ने अभियान सञ्चालन गर्दै आएका छौं।’

विज्ञानले नै योग र ध्यानको अनिवार्यता पुष्टि गरिसकेको छ भन्छन् जीवन विज्ञानका विशेषज्ञ शर्मा। उनी भन्छन्, ‘विज्ञानले मनका यस्ता कुनै पनि रोग छैनन्, जसले निको नहोस् भनिसकेको छ। हार्वड विश्वविद्यालयको एउटा अनुसन्धानले के भन्छ भने यो प्रमाणिक भइसक्यो कि कुनै पनि औषधिभन्दा शक्तिशाली ध्यान र योग छन् मन र शरीरका आम समस्या निराकरणका लागि।’

ध्यानले व्यक्ति जस्तो बन्नुपर्ने हो, त्यस्तै बनाउन सक्छ भन्छन् विशेषज्ञ शर्मा। उनी भन्छन्, ‘कृष्ण भगवान् भन्नुस्, गौतम बुद्ध भन्नुस्, राजर्षि जनक भन्नुस्, गुरु गोरखनाथ भन्नुस्, उहाँहरूको प्रतिभा प्रस्फुटन गराउने मुख्य औजार नै ध्यान हो।’ उनको आग्रह छ, ‘योग र ध्यान प्रारम्भ गर्नुपर्ने उमेर त सात–आठ वर्ष नै हो। ६०–७० वर्ष भएपछि योग र ध्यान गर्न नसकिएला। बरु युवावस्थामै योग र ध्यान गर्नुभयो भने अति प्रभावकारी हुन्छ।’

योग र ध्यान साधनालाई हरेक व्यक्ति, परिवार, समाजसम्म पुर्‍याउनुपर्नेमा जोड दिन्छन् ध्यानका विशेषज्ञ हरिप्रसाद पोखरेल। उनी भन्छन्, ‘मान्छे उठ्यो भने भगवान् बन्छ, गिर्‍यो भने राक्षस र मध्यमस्तरमा रह्यो भने मान्छे मात्रै बन्छ, त्यसैले योग र ध्यानको विकल्प छैन।’

बुद्धले आफ्नो जीवनको सम्पूर्ण ऊर्जा ध्यान साधनामै खर्च गरेर भगवान् बने, तर हामी मान्छे भएर बाँच्नका लागि मात्रै भए पनि दैनिक एकडेढ घन्टा योग र ध्यान साधना गरौं भन्छन् जीवन विज्ञानका विशेषज्ञ रमेश नेपाल। उनी भन्छन्, ‘धेरै चिन्ताले बेलैमा चितामा पुर्‍याउँछ। बरु आजैदेखि नियमित योग र ध्यान साधना सुरु गरेर बाँकी जीवन आनन्दले जिऊँ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.