पर्यटन लगानी सम्मेलनको तयारी

पर्यटन लगानी सम्मेलनको तयारी

काठमाडौं : नेपालमा पर्यटन लगानी सम्मेलन गर्ने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताएका छन्। बिहीबार राजधानीमा आयोजित होटल संघ नेपाल (हान) को ४६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आचार्यले नेपालमा पूर्वाधार सम्मेलन भइसकेकाले अब पर्यटन प्रवर्द्धन र विकासका लागि पर्यटन लगानी सम्मेलन गर्न खोजिएको बताए। यसका लागि सरकारले आवश्यक तयारी गर्न थालेकाले व्यवसायीबाट आवश्यक सुझावको अपेक्षा गरेको आचार्यले बताए।

सरकारले पर्यटकीय सेवाको दायरा फराकिलो बनाउँदै लगेको, पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएको र पर्यटकीय गतिविधि बढाउने कार्यक्रम अगाडि सारिरहेकाले अब पर्यटन लगानी सम्मेलन गर्नुपर्ने आश्वयकता रहेको आचार्यले औंल्याए। उनले सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि होटलको क्षमता अभिवृद्धिलाई सहजीकरण गराइरहेको, स्याटलाइट टुरिजम अकाउन्ट निर्माण गरिरहेको, वायुसेवा निगमको क्षमता र गन्तव्य बढाउन विभिन्न गतिविधि अगाडि सारिरहेको बताए।

पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको र व्यावसायिक वातावरण खोजिएकाले अहिले पर्यटक भिसामा कुनै शुल्क बढाउने तयारी छैन। शुल्क वृद्धि भए पनि सरकारले आव २०७६÷७७ को बजेटको तयारी थालिरहेको छ। सोही आर्थिक ऐनमा समेटेर ल्याउन सक्ने भएकाले तत्काल कुनै परिमार्जन आवश्यक नभएको बुझाइ आचार्यको छ।

कार्यक्रममा हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यले पर्यटन क्षेत्र प्रवर्द्धन गर्न एक प्रतिशत करको व्यवस्था हुनुपर्ने बताए। उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न ट्याक्स होलिडे चाहिने बताए।

आर्थिक ऐनबाट माग सम्बोधन

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पर्यटन व्यवसायीका नीतिगत मागलाई आर्थिक ऐनले सम्बोधन गर्ने आश्वासन दिए। सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने तयारी गरिरहेको छ। यसमा व्यवसायीले आफ्ना मागलाई संरचनागत रूपमा पर्यटन मन्त्रालयमार्फत पेस गर्न उनले आग्रह गरे। व्यवसायीको उचित मागलाई सरकारले बजेटमार्फत सम्बोधन गर्ने उनको भनाइ छ।

राणाको अध्यक्षमा नयाँ कार्यसमिति

होटल संघ नेपाल (हान)ले अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक सिर्जना राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। हानले राणाको अध्यक्षतामा दुई वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

साधारणसभाले प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा सांग्रिला होटलका प्रविनबहादुर पाण्डे, महासचिवमा काठमाडौं प्रिन्स होटलका सजन शाक्य र कोषाध्यक्षमा बैशाली होटलका विशालकुमार निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष राणाले नेपालको होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा मान्यता दिने निर्णय कार्यान्वयन हुनुपर्ने बताइन्। उनका अनुसार सरकारले यसअघि गरेको निर्णय अझै कार्यान्वयन भएको छैन। नेपालको होटल क्षेत्रले १० खर्बको लगानी गरी १० लाखभन्दा बढीलाई रोजगारी दिएको हुँदा हुँदै पनि सरकारबाट उपेक्षित हुनुपरेको उनले गुनासो गरिन्।

पर्यटन प्रवर्द्धन विकास तथा सन् २०२० को पर्यटन वर्ष सफल बनाउन महत्त्वपूर्ण भूमिका निजी क्षेत्रको छ। यसमा हानको पनि उल्लेखनीय भूमिका हुने दाबी नवनिर्वाचित अध्यक्ष राणाको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.