आए रुझाउन मच्छिन्द्रनाथ
यो वसन्त ऋतु हो। जात्रैजात्राको ऋतु। नेवार समुदायमा यतिबेला खुब चहलपहल बढेको छ। मठमन्दिरमा बाजे र अजीहरूको घुइँचो छ। तन्नेरीहरूको रमाइलो छ। पुल्चोकमा बनेको अग्लो मच्छिन्द्रनाथको रथ हेर्न सर्वसाधारणको भीड लागेको छ। साँच्चै अब वर्षात्को मौसम आउनेछ। त्योभन्दा पहिले आउनेछन् उपत्यकालाई रुझाउने मच्छिन्द्रनाथ।
जुन लच्किएर कहिलेकाहीँ बांगिन पुग्छ। तर जब भित्र करुणामयलाई बीचमा राखेर जव (दायाँ) पानेजु, खव (बायाँ) पानेजु र बाहिर चारजना भायोहरू बसेर रथ हाँक्ने आदेश दिन्छन्, जनसागर त्यसैत्यसै उर्लिदिन्छ।
उमेरले ६० कटिसकेका दशलाल र भीमलालले यो आठतले रथ बनाउँदाको समय भनेका थिए, ‘रथको टुप्पो जमिनबाट ६५ फिट टाढा छ।’ मोटामोटा काठले बनेको धरहरा शैलीको रथले कयौं भक्तजनहरूलाई आफैंमा समाहित गर्ने आँट राख्छ। धमा, पाँ, स्वराठ, लःसिं, कुःसिं, चुःसिं, नःसिं जस्ता स्वरूपमा काठलाई ढालेर यसले रथमा मच्छिन्द्रनाथदेखि गुरुजुहरूसमेत बस्न सहज बनाइदिन्छ। त्यसमाथि सानदानबाट बनेका
बडेमानका चारपाङ्ग्रेले सम्पूर्ण रथको भार बोकेर गुडिदिन्छ।
भीमकाय रथमा प्रयोग हुने काठ १२ वर्षमा एक चोटी पूर्ण रूपमा
बदल्ने परम्परा छ। यो वर्ष भने पुराना तथा नयाँ काठलाई मिलाएर वाराहीहरूले रथको तल्ला जोडेका थिए। मच्छिन्द्रनाथको रथ बनाउन बारा र पर्साबाट ल्याइएको काठहरू कयौं दिनसम्म पुल्चोकको सडक छेउमा लम्पसार थिए। तिनलाई रथको आकारमा ढाल्दै गर्दा कयौं मिडियाले आफ्नो क्यामेरामा ‘बन्दै मच्छिन्द्रनाथको मन्दिर’ शीर्षकमा फोटो क्याप्चर गर्न भ्याए।
त्यतिबेला रथ बनाउनेहरू गाइँगुइँ गर्दै थिए, ‘रथमा प्रयोग हुने बेत आज भोलि भारतबाट मगाउनुपर्ने भएको छ।’ कस्तो विडम्बना। हामी सबै चिजमा परनिर्भर छौं। अहिले लेले र कटुवाल दहमा बेत रोप्न थालेको खबर बाहिर आएको छ। तर त्यो कति संरक्षणमा छ कसैलाई थाहा छैन।
जेहोस् यो वर्षका लागि रथको जोहो भइसक्यो। जेनतेन रथ मच्छिन्द्रनाथलाई बोक्न तयार छ। उही मच्छिन्द्रनाथ जसको दिव्य अवतारमा शालिन भाव देखिन्छ। सिन्दुरे वर्ण र कल्की आँखाले सबैको ध्यान तान्छ। उनी रातो माछाका देवता र उपत्यकावासीका लागि ‘गड अफ रेन’ हुन् रे।
मच्छिन्द्रनाथ पाटनको तःबहाल (मच्छिन्द्र बहाल)मा रहेको मन्दिरमा बस्छन्। वैशाख १२ को भूकम्पले मन्दिर खण्डहर बन्दा उनको मूर्ति बेवारिस बनेको छ। मन्दिरको आँगनमै रहेको तेत्तीसकोटी देवताहरू पनि खाल्डोमा अटसमटस अटाएका छन्।
वर्षा र सहकालका देव करुणामयलाई खटमा राखी पानेजुहरूले बोकेर बुङमती पुर्याउने गर्छन्। त्यहाँ पनि एक किसिमको मेला लाग्छ।
चिबा, पिखालुखी क्षेत्रपाल, साना मन्दिरहरू, चैते, भैरवहरू सबै लथालिंग छन्। काष्ठकला, मूर्तिकलामा रमाइरहेको बुङमती भत्किएका पुराना घरहरूको टेको हेर्दै बसिरहेछ।
सरकारले बुङमतीलाई सम्पदा बस्ती घोषणा गरिदिएपछि अवस्था झन् नाजुक बनेको छ। मठमन्दिर, पाटी सतल बनाउन ३५ प्रतिशत सकियो। भत्किएका स्थानीयका घरहरू भने अझै बन्न सकेका छैनन्। के करुणामय विराजमान गर्ने यो क्षेत्र अब कहिले उकासिने छैन ?
मन्दिर पुनर्निर्माण भएको चार वर्षसम्म पनि ठेकेदारले ३५ प्रतिशतभन्दा बढी काम सकाएका छैनन् भन्दै स्थानीयले गुनासो गरिरहेछन्। तर सुन्ने कोही छैन। अहिले त झन् काम नै ठप्प छ। मच्छिन्द्रनाथ पनि अस्थायी टहरामा छन्। त्यहाँको माहोल हेर्दा यस्तो लाग्छ देवता र मान्छेका दुःखमा केही फरक छैन।
पानेजु (पुजारी) मदन शाक्य आजभोलि मच्छिन्द्रनाथको त्यही
टहरामा कुरी बस्छन्। वरिपरि भैरव, मनकामना र बीचमा
मच्छिन्द्रनाथको आधी अपूरो मन्दिर बीच उनको पूजाआराधना चल्छ। वरिपरि छरपष्ट इँट्टा काठ हेर्दा उनको मन पिरोलिन्छ। जे होस् जात्रा मनाउनै पर्यो। उपत्यकामा वर्षात् गराउनै पर्यो। यसका लागि मच्छिन्द्रनाथले रथयात्रा नगरी साध्य छैन।
काठमाडौं उपत्यकामा पानी नपरेको १२ वर्ष भइसकेको थियो। किसान बाली उब्जाउन नपाएर आत्तिएका थिए। चारैतिर अनिकाल लाग्यो। भोकमरी र हाहाकार मच्चियो। तर आकाशबाट एक थोपा पानी बर्सिएन। अहँ, बर्सनै सकेन।
१४ सय वर्ष अगाडि तत्कालीन राजा नरेन्द्रदेवले उपत्यकामा पानी बर्साउन काठमाडौंका प्रसिद्ध तान्त्रिक बन्धुदत्त आचाजु, पाटनका भरिया किसान र टौदहका नागराजा कर्कोटक लिएर आसामका कामरूप कामाक्षका रातो मच्छिन्द्रनाथ कहाँ गुहार माग्न पुगे। तर उनी उपत्यका
पस्न मानेनन्।
मच्छिन्द्रनाथलाई पाटन देश ल्याउने हरेक प्रयास असफल भयो। अन्त्यमा तान्त्रिक विद्याको प्रयोग गरी उनको शरीरलाई भमराको रूप दिइयो र कलशको भाँडोमा बन्द गरी उपत्यका भित्र्याइएको कथन छ।
मच्छिन्द्रनाथको रथयात्रा उपत्यकाको सबैभन्दा लामो जात्रा हो। वैशाख शुक्ल प्रतिपदाको दिनबाट शुभारम्भ भई रथलाई जाउलाखेल पुर्याएर भोटो देखाएपछि जात्रा सम्पन्न हुने गर्दछ।
मच्छिन्द्रनाथको रथयात्राको सुरुआत पाटन तःबहालमा रहेको मछिन्द्रनाथको मन्दिरबाट नै हुन्छ। वैशाख शुक्ल प्रतिपदा (पार) का दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित पुल्चोकमा रहेको नवनिर्मित रथमा राखिएको थियो। यसको चौथो दिन वैशाख शुक्ल चौथीको साँझ गुरुजुको पल्टन र बाजागाजासहित सुरु भएको थियो, रथ तान्ने होस्टे हैसे। रथलाई तानेर गाहाबहाल पुर्याएपछि त्यहाँ मीननाथको रथसँग भेट भयो। र भोलिपल्ट साँझ फेरि रथहरूलाई तानेर मंगलबजार पुर्याइयो।
लगनखेलमा करुणामयकी आमा छिन्। उनी रूखको रूपमा सडकबीचमा उभिएकी छिन्। बालकुमारी हुँदै लगनखेल पुगेपछि उक्त रथले मां सिमा (आमा रूख) लाई परिक्रममा गर्नुपर्ने हुन्छ। भोलिपल्ट फेरि थट्टीटोलको नरिबल खसाल्ने प्रचलन छ। त्यसपछि अर्को दिन सबेरै महिलाहरूले मात्र रथ तान्छन्। रथ जाउलाखेलमा पुगेको चार दिन पछिमात्र भोटो जात्रा गरिने हो। त्यसैले विविध प्रचलन जोडिएको यो रथयात्रा उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ।
भोटो जात्राको दिन राष्ट्राध्यक्ष, कुमारी, गुरुजु पल्टनलगायत विशाल भक्तजनहरूको उपस्थितिमा भोटो देखाइन्छ। उक्त भोटो नागलोकका राजा कर्कोटकको हो । उक्त भोटो उनले एक किसानलाई बक्सिस दिएका थिए । पछि किसानले भोटो हराएपछि मच्छिन्द्रनाथको रथ तान्दा उक्त भोटो कस्को हो भनी देखाउने चलन छ ।
भोटो देखाउन सकिएपछि पनि यो जात्रा सकिँदैन। वर्षा र सहकालका देव करुणामयलाई खटमा राखी पानेजुहरूले बोकेर बुङमती पुर्याउने गर्छन्। त्यहाँ पनि एक किसिमको मेला लाग्छ। मच्छिन्द्रनाथ मन्दिरका पानेजु मदन शाक्यका अनुसार अझै पनि बुङमतीमा भक्तजनहरू छालीको चिराख बनाउँछन् र त्यसलाई बोकी करुणामयलाई लिन जान्छन्।
बिजुली बत्ती नहुँदा पहिले पहिले रातको समय छाली
बालेर बाटो देखाउने काम गरिन्थ्यो। अहिले यो प्रचलन
भएको छ। यो समय मौखिक रूपमा पेभौ (बिगुलको आवाज) निकालिन्छ र छालीको उज्यालोमा मच्छिन्द्रनाथको स्वागत गरिन्छ। मच्छेदेवलाई मन्दिरमा विराजमान गराएपछि पनि प्येनु बिचा (चौथो दिन सम्म हेरविचार) गर्ने भन्दै पाटनलगायत विभिन्न स्थानबाट भक्तजनहरू बुङमती जाने गर्छन्। मच्छिन्द्रनाथको यस्तो भव्य स्वागत पछि कसो नबर्सेला आकाशबाट पानी। कसो नआउला प्रि—मनसुन र वर्षा ऋतु। र कसो नरुझौंला हामी।