‘काकाकुल’ मेलौली
बैतडी : मेलौली नगरपालिका–१ की सुना दमाईं प्रत्येक वर्ष फागुनदेखि वर्षा सुरु नहुँदासम्म अनिँदो बस्छिन्। खानेपानी जोहो गर्न उनी कुवा कहाँ छ भन्दै खोज्दै हिँड्छिन्। गाउँमा आउने धारामा २० लिटर मात्रै पानी पाइने भएकाले पानीको जोहो गर्न उनले बिहान नहुँदै उठेर पानीको खोजीमा जानुपर्छ। ‘धारामा आउने पानी २० लिटर मात्रै भागमा पर्छ। यसले खाना पकाउनसमेत पुग्दैन। गाईवस्तु, शौचालय प्रयोगलगायत प्रयोजनका लागि टाढाका कुवाबाट पानी ल्याउनुको विकल्प छैन’, उनले अन्नपूर्णसँग भनिन्।
मेलौली नगरपालिका–७ कुन्थलाकी मीना भट्टले पनि खानेपानीको जोहो गर्न निकै समस्या भोग्नुपरेको छ। सुक्खायाम सुरु भएसँगै धारामा पानी कम आउन थालेपछि उनले पनि टाढाका कुवाबाट पानी बोक्नुपर्ने बाध्यता भएको सुनाइन्। उनले भनिन्, ‘कहीँ–कतै खाल्डोमा फोहोर पानी भए पनि शौचालय र भाँडाकुँडा सफा गर्न ल्याउने गर्छाैं। खानेपानीका लागि प्रत्येक वर्ष सुक्खायाममा समस्या झेल्दै आएका छौें।’
पानीको अभावमा मेलौली नगरपालिकास्थित काँडाबजारमा रहेका होटेल पानीको अभावमा होटल व्यवसाय सञ्चालन गर्न निकै समस्या भएको व्यवसायी सीता चन्दले गुनासो गरिन्। उनले भनिन्, ‘सेवाग्राहीलाई खानेपानी नै दिन सकिने अवस्था छैन। कसरी व्यवसाय सञ्चालन गर्नु ? साह्रै समस्यामा छौं। व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेकी छु।’
२० लिटर पानीका लागि लाइनमा राखेका भाँडा।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि खानेपानी समस्या समाधान हुने आसमा रहेका निरास भएका छन्। ‘हामीले स्थानीय सरकार आएपछि मेलौलीको काँडा बजार र आसपास क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान हुने आशा गरेका थियौं। तर, त्यतातिर पहल नै हुन सकेको छैन’, स्थानीय केशवसिंह भाटले भने, ‘सहरी विकासमार्फत योजना छनोट गर्दा पनि हामीले खानेपानी नै पहिलो प्राथमिकतामा राखेका थियौं तर खानेपानीको समस्या समाधान हुने हिसाबले काम अघि बढेको छैन। यसले हामीलाई निरास तुल्याएको छ।’
मेलौलीमा ग्वाल्लेक जंगलमा रहेको मुहानबाट पानी आउने गरेको छ। करिब ०४० सालमा ग्वाल्लेक मणिलेक खानेपानी योजना निर्माण गरिएपछि मेलौलीमा पानी आउने गरेको थियो। तर, पछिल्लो समय खानेपानी योजना जीर्ण हुँदै गएको र मुहानमा समेत पानी कम भएकाले सुक्खायाममा पानीको अभाव हुने गरेको छ। सात किलोमिटर दूरीमा रहेको मुहानबाट पानी आउने गरेको र यसले पानीको आपूर्ति हुन नसकेको मणिलेक माविका प्रधानाध्यापक देवदत्त कलौनीले बताए। उनले भने, ‘सुक्खायाममा प्रत्येक वर्ष हामीले खानेपानीको समस्या झेलिरहेका छौं। खानेपानी नहुँदा विद्यालयमा समेत असर पर्ने गरेको छ।’
मेलौलीको काँडाबजार र आसपासका गाउँमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए। उनले भने, ‘हामीले सुर्नया नदीबाट लिफ्टिङ प्रणालीबाट पानीको व्यवस्था गर्ने सोचेका छौं। यो ठूलो प्रोजेक्ट भएकाले अहिले नै समस्या समाधान त गर्न सकिँदैन तैपनि हामी यसको पहलमा लागिरहेका छौं। यसका साथै पुरानो खानेपानी योजनालाई पनि व्यवस्थित बनाउन केही पहल गरिरहेका छौं।’