देश चियाउने झ्याल

देश चियाउने झ्याल

तपाईंले पढिरहनुभएको यो सामग्री किताब समीक्षा होइन। म किताब समीक्षा खोजीखोजी पढ्छु तर छाप्ने रहरचाहिँ अहिलेसम्म  गरेको थिइनँ।  मेरा प्रिय लेखक डा. तीर्थबहादुर श्रेष्ठको नयाँ किताब पढेपछि म चुप बस्न सकिनँ। र, यो लेखेँ। यसलाई समीक्षा वा समालोचना, टिप्पणी वा विश्लेषण जस्ता गह्रौं भारी नबोकाइयोस्। यो केवल एउटा सामान्य पाठकको सामान्य पठन अनुभव मात्र हो। 

म शब्दको शक्तिमा विश्वास गर्छु। शब्दसँग ध्वंसात्मक र रचनात्मक दुवै खाले शक्ति हुन्छ। ध्वंसात्मक शक्तिमा मेरो आस्था र विश्वास छैन, रचनात्मक शक्तिमा विश्वास गर्छु। आख्यान विधाको लेखाइ गैरआख्यानको तुलनामा रूखो र शुष्क लाग्न सक्छ। गैरआख्यान हृदयले भन्दा मस्तिष्कले लेखिने भएकाले, तथ्य-तर्क र तथ्यांकले घेरिएर लेखिने भएकाले अलिकति रूखोरूखो बन्दो हो। 

म यी दुवै विधा उत्तिकै रुचिसाथ पढ्छु। गैरआख्यान लेखक भएकाले गैरआख्यान अलि बढी खोजीखोजी पढ्छु। मलाई समाज, भूगोल, प्रकृति, संस्कृति, मान्छेले रचना गर्ने घरबस्ती र तिनका विविध आयामले छुन्छ। भूगोल र समाजको सेरोफेरोमा लेखिने कृति असाध्यै कम भेटिन्छन्। 

हर्क गुरुङले देश देख्ने धेरै झ्यालढोका बनाएर हामीलाई सुम्पिएका छन्। डोरबहादुर विष्टले नेपाली समाजका केस्रा मिहिन तरिकाले केलाइदिएका छन्, आख्यान र गैरआख्यान दुवै विधामार्फत। मोहन मैनालीका पदचाप पछ्याएर देशको नदेखिएको पाटो देख्न पाइएको छ। शब्दमा ज्ञान, विज्ञान र विवेक घोलेर मस्तिष्क र हृदय दुवैको आवाज मिलाएर लेख्ने डा. तीर्थबहादुर श्रेष्ठले चाहिँ नेपालका नखुलेका पाटा खोलिरहेका छन्। 

उनको अघिल्लो किताबको नाम नै ‘नेपाल ः नखुलेका पाटाहरू’ थियो। यसपालि उस्तै गहकिलो किताब मेरो हातमा परेको छ। ‘नेपाल अध्ययन (भाग-१) ः भू-स्वरूप र हावापानी’ शीर्षकको किताब। देश देखाउने, देश बुझाउने, देश चिनाउने, देश घुमाउने किताब। शिक्षक मासिकमा ‘नेपाल अध्ययन’ स्तम्भमा छापिएका २१ लेखको माला हो, यो पुस्तक। 

भूपरिवेष्टित देश हुनु भनेको के हो ? यसो हुँदा कत्तिको मर्का पर्छ ? देश समुद्रसँग जोडिँदैन। समुद्रसँग नजोडिएको ‘हीनताबोध’ धेरै नेपालीको मनमा नराम्ररी गढेको छ। भूपरिवेष्टित भए के हुन्छ ? देश गरिब हुन्छ ? थला पर्छ ?

अग्लो भ्यु टावर, बडेमानको अपार्टमेन्ट, ठूलो प्रवेश द्वार र गजुर, फराकिलो सडक, रामरमिता र झिलिमिलीलाई हाम्रो देशमा ‘विकास’ भनिँदै छ, आफ्नोपन र आफ्नो मनलाई विकासका बाधक मानिँदै छ। 

भूपरिवेष्टित हुनु भनेको भौगोलिक नाकाबन्दी हो ? चारैतिरबाट च्यापिनु, थुनिनु, घेरिनु हो ? मुलुक बन्दी हुनु हो ? देशको गरिबी र पछौटेपनको जननी हो ? यी प्रश्न धेरैको मनमा पक्कै उब्जन्छ। 

मन रुने होइन, मन छुने जवाफ डा. श्रेष्ठसँग छ। उनी पहिलो लेखमै लेख्छन्, ‘नेपाल भूपरिवेष्टित भएका कारण हामी पखेटा नै फिँजाउन सक्तैनौं भन्ने होइन। ‘भूपरिवेष्टित’लाई चारैतिर अरू देशको भूभागसँग जोडिएको भन्ने सामान्य अर्थमा मात्र बुझिनुपर्छ। यसले हामी तालाबन्दीमा छौं भन्ने भाव बुझाउँदैन। हाम्रा नदीहरूलाई हिमालले छेक्दैन, पहाडले थुन्दैन र चुरेले रोक्दैन।’ भूपरिवेष्टित मानसिकता हाम्रो मनमा पीठोझैं जमेर बसेको छ। त्यही साह्रो पीठोलाई मीठोसँग बेल्न, नेपाल भू-कडी वा भू-सेतु कसरी बनेको छ भनेर बुझ्न ‘नेपाल ‘ल्यान्डलक्ड’ होइन, ‘सानो’ पनि छैन’ लेखले सिकाउँछ। हिमाल, पहाड र तराई टाउको, छाती र पेट हुन्, नेपालको अस्तित्व यिनै विविधतायुक्त भौगोलिक अखण्डतासँग मिहीन ढंगले गाँस्सिएको भन्ने बोध पनि सो लेखले गराउँछ। 

नेपालको क्षेत्रफल पढेर नेपाललाई सानो देश... भन्ने बुझाइ बनेको छ। तर नेपाल चारपाटे चौर होइन। सानो देशको भ्रमलाई तोड्दै उनी लेख्छन्, ‘लम्बाइ र चौडाइमा फैलिएको धरतीमा उचाइ थपिएपछि तेस्रो आयाम पैदा हुन्छ। यसै भएर मलाई नेपालको भूगोल वर्ग मिटरमा होइन, घन मिटरमा व्यक्त भएको देख्ने र हेर्ने इच्छा जागृत हुन्छ।’ 

पहाड पर्वतको पावन आकर्षणमा परेर कोही हिमाल चढ्न, कोही आध्यात्मिक शक्तिको खोजी गर्न, कोही देवात्मा भेट्न, कोही नाम कमाउन, कोही दाम कमाउन उकालो उक्लन्छन् भन्छन् उनी। लेख्न र देश देख्न मैले पनि धेरथोर पहाड डुलेको छु। उकालोले थकाउँछ तर फकाउँछ पनि। 

उजाड उकालोको मुलुक हैन नेपाल। अलिकति उक्लेपछि थकाइ मार्ने चौतारो भेटिन्छ। शीतल हावाले मन भरिन्छ। अलि पर पानीको छाँगो भेटिन्छ। पानीले आँत भरिन्छ। टिपेर खान मिल्ने जंगली फल भेटिन्छन्, पेट भरिन्छ। चराचुरुंगी र जनावर भेटिन्छन्। बातैपिच्छे हाँस्ने आत्मीय मान्छे भेटिन्छन्। 

डोजरले डाँडा डामिरहेको देश हिमाल र पर्वतलाई विकासको बाधक देखिरहेको छ, खुला चौरमा घरैघर थुपारेर एकीकृत बस्तीको सपना देखिरहेको छ। तर नेपाल बन्ने बाटो त्यो होइन। त्यो त नेपालको समृद्धि खन्ने बाटो हो। प्रकृति र संस्कृति भुलेर डोजरले जोतेर सिमेन्ट रोपेर नेपाल बन्दैन। किताबले यस्ता ज्ञान पानैपिच्छे पढाउँछ। 

जल र जमिनको अति दोहन गरेर अलि वर्षअघि अर्मला क्षेत्रमा भकारीजत्रा भ्वाङ बेहोरेको पोखराको दीर्घ जीवनबारे श्रेष्ठ चिन्तित छन्। नेपालको उद्यान नगरीका रूपमा विकास गर्दै उद्यानभित्रको पनि ससाना उद्यानमा परिणत गर्दै हरित गन्तव्यस्थल बनाउन सकिने उनको मत छ। पानीको धारले भित्रभित्रै काटिने र भासिने पोखराको भूक्षयबारे प्राप्त जानकारीका आधारमा मात्र विकासको काम अघि बढाउन सुझाव दिँदै उनले यक्ष प्रश्न सोधेको छन्— आफ्नै पाइतामुनिको जमिनलाई सुरक्षा गर्न सकेनौं भने हाम्रो सुरक्षा कसले गर्ला ? 
 
श्रेष्ठको यक्ष प्रश्न पढिरहँदा केही महिनाअघि विश्व शान्ति स्तूपबाट देखिएको पोखराको सेरोफेरो सम्झिएँ, अनि सम्झिएँ— हिमाल खबरपत्रिकामा छापिएको आफ्नै आलेख ‘फैलिँदो पोखरा÷खुम्चिँदो पोखरा’। आकाश छुने रहर गरिरहेको, १८ तले अपार्टमेन्ट बनाउन खोजिरहेको, तालको किनारतिर भट्टी पसल थापिरहेको र बरपीपल चौतारी मासिरहेको पोखरा। तर अझै सफा र अरू सहरभन्दा कम अस्तव्यस्त पोखरा। 

वरपीपल चौतारीको जरो उखेल्यो भने नदी थुन्यो भने पोखराको कमजोर माटोको आँत हल्लिन्छ भन्ने कुरा पोखराले बुझेकै छ। बारम्बार अर्मला मात्र होइन, सहर सेरोफेरोभित्र पनि विभिन्न रूपमा भोगेकै छ। घरघरै भरिने क्रम पोखरामा दिन दुई गुणा र रात चौगुणा बढिरहेको छ। प्रदेशको राजधानी र अन्तर्राष्ट्रिय विमानस्थल बन्ने तरखरसँगै यो सहर बिस्तारै धानिनसक्नु हुँदै छ। अहिलेसम्म पोखरेलीको स्वअनुशासनमा सफासुग्घर भएर बाँचेको छ पोखरा। बस्ती घना बन्ने क्रमसँगै त्यो अनुशासन खुकुलिँदै जाने र अन्ततः अर्को एक थान भद्रगोल काठमाडौं बन्ने सम्भावनालाई चिनेर पोखराको सभ्यता, भव्यतालाई जोगाउँदै यहाँको प्रकृति र संस्कृति बचाउनैपर्छ। 

किताबमा भूकम्पीय सुरक्षासँग सम्बन्धित चारवटा लेख छन्। तीमध्ये ‘हेक्का राखौं— देशको भूगोल बदलिएको छ’ शीर्षकको आलेखले हाम्रो भूगर्भ र भूगोललाई बुझ्ने शिक्षामा जोड दिन सुझाएको छ। ‘हामी भूकम्पमाथि बसेका छौं र बसिरहन्छौं, जस्तै जापानलगायत सयौं अरू देश पनि बसिरहेका छन्।

तसर्थ भूकम्पलाई आत्मसात् गरेर कसरी विकास निर्माण गर्ने भन्ने ज्ञान, विज्ञान र प्रविधिसँग सम्बन्धित शिक्षा, दीक्षा, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने कुरा खुल्न आएको छ।’ हुने हार दैव नटार भनेझैं असुरक्षित संरचनामा ढुक्कले बस्ने हाम्रो मानसिकता परिवर्तन हुनुपर्ने सन्देश उक्त आलेखले दिएको छ। किताबले जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको अपार सम्भावनालाई चिनाइदिएको छ। आफूलाई र आफ्नोपनलाई माया गर्न सिकाएको छ। 

सिर्जनात्मक बन्न सिकाएको छ। अग्लो भ्यु टावर, बडेमानको अपार्टमेन्ट, ठूलो प्रवेश द्वार र गजुर, फराकिलो सडक, रामरमिता र झिलिमिलीलाई हाम्रो देशमा ‘विकास’ भनिँदै छ, आफ्नोपन र आफ्नोमनलाई विकासका बाधक मानिँदै छ। सायद आफ्नोपन र आफ्नोमन चिनाइदिने, आफ्नोपनलाई चियाएर हेरिदिने सर्जकको अभाव भोगिरहेछ देश। यो किताबले त्यस्ता भ्रम चिर्न मद्दत गर्छ। किताब गुनिलो छ। मेसो मिले होइन, मेसो मिलाएरै पढ्ने सबै पाठकको जय होस्। 

@Sabdachittra आर्किटेक्ट तथा  ग्रामीण विकासविज्ञ हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.