पानी नपरेपछि उठिबास

पानी नपरेपछि उठिबास

उदयपुर : तीन वर्षसम्म आकाशको पानी खेतबारीमा देख्न नपाएपछि उदयपुरको रौतामाई गाउँपालिका–३ आदमाराका युवराज बस्नेत गाउँ छाड्न बाध्य भए। पानी अभावकै कारण उनी त्रियुगा नगरपालिका क्षेत्रमा बसाइँ हिँडेका हुन्।

बसाइँ हिँड्नेमा उनी एक्लो पात्र भने होइनन्, त्यही गाउँका गणेश बस्नेत, केदार भुजेललगायत १२ घरपरिवार आफ्नो पुरानो थातथलो छाडिसकेका छन्। पानी अभावले एकातर्फ बसाइँ हिँड्ने क्रम छ भने अर्कोतर्फ पिउने पानी घरमा ल्याउने जिम्मेवारी पुरुषमा छ। तीन घण्टा लगाएर सुनकोसी नदीको पानी बोकी उकालो चढ्नुपर्ने भएपछि पानी ल्याउने जिम्मेवारी पुरुषको रहेको स्थानीय पदम कार्की बताउँछन्।

उनी भन्छन्, ‘एउटा गाग्री डोकोभित्र, अर्को दुई हातले बोकेर एकैपटक दुई गाग्री पानी बोकेर बिसाउँदै घर पुग्नुपर्छ।’ दुःखले ल्याएको पानीले दिनरात कट्ने गरेको उनी सुनाउँछन्। पानी अभावकै कारण शौचालय प्रयोग गर्न नपाएको उनको गुनासो छ। ‘पिउने पानी त छैन, शौचालय जाने पानी कहाँ पाउनु ? ’ स्थानीय कर्णबहादु बुढाथोकीले भने। बोकेको पानीले धान्नै गाह्रो भएको उनले बताए।’ आकाशे पानीमा निर्भर वडा नम्बर ३ लाफागाउँको आदमारा, बेलबोटे, विमिरे, चनौटे, लामीबगर, सालघारी, भर्लेनी, दायुमलगायत आसपासका बस्ती तीन वर्षदेखि पानी नपरेपछि धमाधम रित्तिँदै छन्।

बुढाथोकी भन्छन्, ‘पर्याप्त नभए पनि, खेतमा जम्मा गरेर धान रोप्नेसम्म दुःखले गर्दै आएका थियौं, अहिले त त्यो पनि हरायो।’ अघिल्लो वर्ष रोपेको मकैबाट एक दानासमेत फल लिन नसकिएको उनले बताए। पानी नभएकै कारण दशकयता अन्न बाली उब्जाउमा कमी आएकामा गत वर्ष शून्य भएको उनको गुनासो छ। देशभर पानी परिरहेका बेला यस क्षेत्रमा पानी नपर्नुको कारण कसैले देउता रिसाए त कसैले जलवायु परिवर्तन हो भन्ने गरेका छन्। देउता खुसी पार्न स्थानीयले शनिश्चरे पूजासमेत गरेका छन् ने कसैले पानी पर्नासाथ बोलेको कुरा पुर्‍याउने भन्दै देवीदेवताको नाममा भाकल गरेका छन्।

बस्तीमा पानी नपर्नुको कारण खोजी गरे पनि चित्तबुझ्दो जवाफ नपाएको वडाध्यक्ष दुर्गाराज खड्का बताउँछन्। ‘पानी विकल्प नखोज्ने हो भने बस्ती नै विस्थापित हुन सक्छन्,’ स्थानीय कुन्ता कार्कीले भनिन्, ‘पानीको समस्या भयावह छ, त्यसैले पालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत र दिगोपना हुने कामको व्यवस्थापन गरिनुपर्छ।’ पानी नभएकै कारण दशकयता अन्नबाली उब्जाउमा कमी आएकामा गत वर्ष शून्य भएको भुजेलले बताए।

पानी नपरेका कारण खेतबारीमा उब्जनी हुन छाडेपछि अधिकांश युवा बिदेसिनेसमेत गरेको वडाध्यक्ष खड्काले बताए। उब्जाउमा कमी आएपछि सहर बजारबाट बेसाहा बोकेर गुजारा चलाउँदै आएको स्थानीय दलबहादुर भुजेलले बताए। ‘बसाइँ हिँड्न पनि खेतबारी बिक्री हुनुपर्छ,’ भुजेलले भने, ‘जानी–जानी यस्तो उराठलाग्दो जग्गा कसले किन्ने र अर्को ठाउँमा जग्गा जोड्नु ? ’ त्यसै छाडेर हिँडेको उनले सुनाए।

लाफागाउँको धेरै भूभाग छोएर सुनकोसी नदी बगे पनि जग्गा–जमिन र बस्ती निकै उच्च भागमा रहेका कारण सुनकोसीको पानी उनीहरूका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ जस्तै भएको छ। केही खानेपानी योजनाका धारा गाउँमा भए पनि मुहान सुकेकाले बन्द भएका छन्। सरकार र विभिन्न संघसंस्थाको सहयोगमा खानेपानी योजनाको पाइप र धारा गाउँमा बिछ्याइए पनि गाउँले कुवा, खोला नै धाउन बाध्य छन्। ०७२ सालको भूकम्पपछि खानेपानीको मुहान सुक्न थालेको स्थानीय बताउँछन्।

रौतामाई गाउँपालिका–३ लाफागाउँका स्थानीय सुनकोसीमा निर्भर हुनुपरेको छ भने वडा नम्बर २ को भुतिया, कमेरे, डुम्रे, रामेडाँडालगायत गाउँले रसुवा खोलामा निर्भर हुनुपरेको छ। त्यहाँका अधिकांश बासिन्दाको बिहानीको समय पानी बोकेरै जान्छ। गाईभैंसीलाई पानी खुवाउन खोला, कोसी नै पुर्‍याउनुपर्ने बाध्यता छ।

खडेरीले गर्दा जंगलसमेत मर्न थालेको छ। बाह्रैमास बग्ने खोला आसपासका खेतमा चैते धान रोपिन्थ्यो। तर, खडेरीले खोलाको पानी सुकेपछि मकैसम्म छर्न नपाएको स्थानीय नारद राईले बताए।

पानीको भयावह अवस्थाबारे आफू जानकार रहेको गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। उनले भने, ‘यस वर्ष बेलैमा विशेष प्याकेज लैजाने तयारी छ।’ गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले कृषकलाई राहत पुग्ने गरी आगामी वर्षदेखि कार्यक्रम लगिने बताइन्। उनले बस्तीका खेतबारीमा विकल्प खेती गर्ने गरी कार्यक्रम तय गरिएको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.