चिन्तित भएँ, तर चूप लागिरहें
त्यही बेला स्कूलमा साथीहरूले भर्खरै प्रकाशित भएको पुस्तक ‘सूक्ति सिन्धु’ ल्याएर उपहार दिए— मलाई त्यो लाग्यो— संसारमा दुःखै दुःख छ, तर त्यसबाट बच्ने उपाय अनेक छन्— ‘सूक्ति सिन्धु’मा शृंगाररसरंग थियो। त्यहाँ साथी रुद्रराज पाण्डेयको कविता पनि थियो, स्वर्गीय मोतीराम भट्टको पनि, बृद्धपितामह साहित्य महारथी राजवलोचन जोशीको पनि, अनि महान् तीनतारा सोमनाथ सिग्द्याल, लेखनाथ पौड्याल र चक्रपाणि चालिसेका पनि।
कविहरूको कस्तो कल्पनामय दिव्य संसार— उनीहरूसँगै एउटा सानू कुनामा बस्न स्थान पाए पनि कस्तो हुन्थ्यो, म पनि त कविताको आरधक हुँ भन्ने मलाई लाग्दथ्यो। मेरा सहपाठी मीनबहादुर भट्ट पनि पद्यरचना गर्दथे, म पनि गर्दथें। माथिल्ला श्रेणीमा रुद्रराजले त ‘सुक्ति-सिन्धु’मा नै स्थान प्राप्त गरिसकेका थिए।
एक दिन हाम्रो घरको बगैँचामा मीनबहादुर भट्टको र मेरो कविता रचनामा जाँच हुने भयो — परीक्षक थिए ः रुद्रराज पाण्डे, तारापद मुकर्जी, मेरा दाज्यू मदनदेव पन्त, भेटनारायण र चन्द्रबहादुर श्रेष्ठ; विषय थियो दाजुको प्रशंसा वा वर्णन। सबले मलाई नै विजयमाला लाइदिए। तर त्यसदिन देखिन् मीनबहादुरले कविता रच्न छोडिदिए। मलाई जितेकोमा
फेरि मेरो विवाहको निंति अर्की डोला आइपुगिन्। आएको केहीपछि उनीले मलाई प्रेमपत्र लेखिन्; मेरी बहिनी पद्मकुमारीले त्यो गोप्यसित मलाई ल्याएर दिइन्। भर्खर अर्काको घरमा ल्याइएकी डोलाको त्यस्तो निर्लज्ज व्यवहार देखेर म चिन्तित भएँ, तर चूप लागिरहेँ।
बालकृष्ण समको पुस्तक ‘मेरो कविताको आराधन’बाट