इतिहासको अन्त्यलाई पछि धकेल्दै फुकुयामा

इतिहासको अन्त्यलाई पछि धकेल्दै फुकुयामा

फेब्रुअरी १, सन् १९८९ मा ३६ वर्षे फ्रान्सिस फुकुयामाले युनिभर्सिटी अफ सिकागोमा अन्तर्राष्ट्रिय सम्बन्धमाथि वक्तव्य दिए। त्यस बखत स्यान्टा मोनिकास्थित र्‍यान्ड कर्पोरेसनका सोभियत वैदेशिक नीति विशेषज्ञका रूपमा कार्यरत उनी उक्त कामबाट विश्राम लिई वासिङ्टनको स्टेट डिपार्टमेन्टमा नीतियोजना उपनिर्देशकका रूपमा काम गर्ने योजनामा थिए। 

 त्यसको दुई महिनाअघि मात्र मिखाइल गोर्वाचोभले राष्ट्रसंघमा दिएको मन्तव्यमा सोभियत संघले पूर्वी युरोपेली राज्यका आन्तरिक मामिलामा हस्तक्षप नगर्ने बताएका थिए। उक्त मन्तव्यले शीतयुद्ध अन्त्यको संकेत दिएको थियो। त्यसैले अन्तर्राष्ट्रिय मामिलाका विज्ञ, मूलतः सोभियत विशेषज्ञका लागि अन्तर्राष्ट्रिय सम्बन्धबारे कुरा गर्न त्यो निकै उपयुक्त समय थियो। 
 सोभियत विघटनपछि उदार लोकतन्त्र विश्वव्यापी हुने अभिव्यक्ति दिएका फुकुयामाको मन्तव्यले धेरैको ध्यानाकर्षण गर्‍यो। तीमध्ये एक थिए वासिङटनबाट प्रकाशित हुने जर्नल ‘द नेसनल इन्ट्रेस्ट’का सम्पादक ओवेन ह्यारिस। फुकुयामाको उक्त वक्तव्य छाप्न उनी इच्छुक देखिए। ‘द इन्ड अफ हिस्ट्री ?’ अर्थात् ‘इतिहासको अन्त्य ?’ शीर्षकमा प्रकाशित लेखले यस विषयमा रूचि राख्ने सबैमाझ एक किसिमको तरंग पैदा गरिदियो। 

 सोभियत संघको विघटनले उदार लोकतन्त्रको सैद्धान्तिक विकल्प बाँकी नराखेको उनको तर्क थियो। दोस्रो विश्वयुद्धमा फासीवादको अन्त्य भएजसरी नै सोभियत संघ विघटनपछि साम्यवादको पनि अन्त्य भएको थियो। आफू साम्यवादी भन्ने चीन राजनीतिक तथा आर्थिक सुधारको बाटोतर्फ उन्मुख थियो।
 
इतिहासको सबलता उदारवादी संस्थामा निहित छ। तर पनि नकार्नै नसकिने केही तत्व भने छन्। ससाना राज्यमा जातीय तथा धार्मिक तनावको सम्भावना प्रबल देखिनु र तिनले अनुदारवादको पक्षपोषण गरेको पनि देखिएको छ। ‘अल्बानिया र बर्किना फासोजस्ता देशका मानिसमा यसले के असर पार्छ भन्ने कुराले खासै महत्व राख्दैन,’ फुकुयामा स्पष्ट पार्छन्, ‘सामान्य हिसाबले सिंगो मानवजातिकै विचारधाराको प्रतिनिधित्व कसरी हुन सक्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’

 समाज तथा राज्य निर्माणसम्बन्धी फुकुयामाका विचारधारा जर्मन दार्शनिक हेगलबाट प्रभावित देखिन्छ। ठूला शक्तिको एक राजनीतिक तथा आर्थिक मोडलमा अभिशरण हुन्छ भन्ने हेगलको पूर्वानुमान कालान्तरमा मिल्दै गयो। अन्तर्राष्ट्रिय सम्बन्धको ‘आम बजारीकरण’ हुनाका साथै वैश्विक समस्थिति कायम हुन्छ भन्ने हेगलको सिद्धान्तले फुकुयामा प्रभावित देखिन्छन्। 
 
तिनताका ‘द नेसनल इन्ट्रेस्ट’ मूलधारको भए पनि ठूलो पत्रिकाका रूपमा लिइँदैनथ्यो। सन् १९८५ मा अर्भिङ क्रिस्टोलले सुरु गरेको यस पत्रिकाका ग्राहक ६ हजार हाराहारी मात्र थिए। फुकुयामा पनि सोभियतविद्को संसारबाहिर प्रचलित नाम थिएन। यति हुँदाहुँदै पनि उनको ‘द इन्ड अफ हिस्ट्री ?’ लाई मूलधारको एक पत्रिकाले स्थान दिएको थियो। त्यसपश्चात् ‘द न्युयोर्क टाइम्स’को आइतबारे परिशिष्टांकमा जेम्स एट्लासले गरेको उनको व्यक्तिचित्रले अमेरिका मात्र होइन, फ्रान्स र बेलायतको समेत ध्यानाकर्षण गर्न पुग्यो। उक्त आलेख जापानी, आइसल्यान्डिकलगायत थुप्रै भाषामा अनुवाद पनि गरियो। एकथरीले रुचाउँदै रुचाएनन्, अर्काथरी भने ती विचार कत्तिका तर्कसंगत छन् भन्ने सोचमा अल्झिरहे। तर पनि ती विचार शीतयुद्धलाई लिएर भएका विश्लेषणमा एक प्रकारको मानक स्थापना गर्न भने सफल भए। 
 
फुकुयामाको आकलनअनुसार अन्तर्राष्ट्रिय राजनीति अघि बढिरहेको थियो। यस अर्थमा उनी भाग्यमानी थिए। करिब आधा दशक चेकोस्लोभाकियाको सत्ता आप्mना हातमा लिएर बसेको कम्युनिस्ट सत्ताको अन्त्यका लागि सूत्रपात गरिएको शान्तिपूर्ण भेल्भेट क्रान्ति तथा पूर्वी र पश्चिमी जर्मनीलाई छुट्याएको बर्लिनको पर्खाल ढालिनुअघि नै फुकुयामाको लेख प्रकाशित भयो। एक हिसाबले हेर्ने हो भने उनी अँध्यारामा तीर हानिरहेका थिए। अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारका क्षेत्रमा त्यस्तो तीर निशानामा नलाग्ने जोखिम उच्च रहन्छ। 

२९ वर्षपछि हेर्दा उदार लोकतन्त्र ठोस उपलब्धिजस्तो लाग्दैन। यसको प्रभाव उदारवाद र यससँग निकट अन्य सिद्घान्तमा निर्भर संस्थामाथि परिरहेको देखिन्छ। 

 मुख्यगरी युरोपमा देखिन थालेका राजनीतिक घटनाक्रम फुकुयामाकै आँकलनसँग मेल खाइरहेका थिए। डिसेम्बर २६, १९९१ मा सोभियत संघ विघटन हुने औपचारिक घोषणा भयो। शीतयुद्ध साँच्चिकै अन्त्य भयो। एसियामा, अझ मुख्यतः चीनका मामिलामा भने फुकुयामाका तर्कले काम गरेनन्। तियानमेन स्क्वायरमा हजारौँ मारिए। ‘द इन्ड अफ हिस्ट्री ?’ मा त्यो प्रसंग कहीँकतै उल्लेख छैन। तियानमेनमा नरसंहार भएका समयमा लेख तयार भई प्रकाशित हुने क्रममा रहेकाले उक्त घटना ओझेलेमा परेको अनुमान धेरैले लगाए। लेखको प्रभावकारितामा भने त्यसले खासै फरक पारेन। 
 
त्यसपछि भएका चर्चामा पनि तियानमेनको प्रसंग उठेन। एउटा ठूलो जनसमुदायले चीनलाई उदार लोकतन्त्रसम्बन्धी अनेक आयामका नेतृत्व लिने शक्तिका रूपमा हेर्न थालिसकेको थियो। सम्भावना पनि त्यस्तै देखिइरहेको थियो। यसै कारण भन्न सकिन्छ- ‘द इन्ड अफ हिस्ट्री ?’ युरोपकेन्द्री थियो। 
 
फुकुयामाका तर्कमा एक रोचक पक्ष पनि छ। लेखको अन्त्यतर्फ उनी इतिहासको दुखान्तबारे चर्चा गर्छन्। प्राविधिक समस्याका अनन्त समाधान, पर्यावरणलाई लिएर चिन्ता तथा उपभोक्ताका परिष्कृत मागको परिपूर्तिमाथि सम्पूर्ण राजनीतिक प्रयास केन्द्रित रहँदा साहस, कल्पना तथा आदर्शवादको नोस्टाल्जियाले हामीलाई नछोड्ने उपसंहार उनले दिएका छन्। जोन स्टुअर्ट मिलले आफैंलाई गरेको प्रश्न यसले स्मरण गरायो—
 ‘तिमीले कल्पना गरेका सम्पूर्ण राजनीतिक तथा सामाजिक सुधारका अवधारणाले मूर्त रूप लिँदा तिमी खुसी हुन्छौ ?’ यो प्रश्न नै रोचक छ। 
 
सन् १९४७ मा स्थापित अमेरिकी नीतियोजनाको कार्यालयका पहिला प्रमुख जर्ज केननले सोही वर्ष जुलाईमा ‘फरेन अफेयर्स’ पत्रिकामा छद्म नाम ‘मिस्टर एक्स’ प्रयोग गरी प्रकाशित गरे। ‘द सोर्सेज अफ सोभियत कन्डक्ट’ अर्थात् ‘सोभियत आचारसंहिताका स्रोत’ शीर्षकको उक्त लेख प्रकाशित भएको केही समयमै धेरैलाई त्यसका सर्जक केनन नै हुन् भन्ने भान भयो। पछि गएर उक्त लेख अमेरिकी शीतयुद्ध नीतिको आधिकारिक बयानका रूपमा प्रतिस्थापित भयो। 
 
साम्यवाद अधोगतितर्फ उन्मुख भइरहेका अवस्थामा अमेरिकी नीतिको मुख्य उद्देश्य सोभियत संघसम्बन्धी मामिलामा अमेरिकी हस्तक्षप आवश्यक नभएको ‘द सोर्सेज अफ सोभियत कन्डक्ट’को सार थियो। त्यसको करिब चार दशकपछि ‘द इन्ड अफ हिस्ट्री ?’ प्रकाशित भयो र यी सब पूर्वानुमान वास्तविकतामा परिणत भइरहेको देखिन थाल्यो। त्यति बेला ८५ वर्ष पुगेका केननले शीतयुद्ध अन्त्य भएको घोषणा गर्दा उक्त कदमको उत्साहपूर्ण स्वागत भयो। त्यसैले फुकुयामाको लेखलाई केननको लेखको अवशिष्ट अंश पनि मान्न सकिन्छ। केनन स्वयंले लेखेका भए पूरकांश अन्य केही हुन्थ्यो। 

 कुनै मुलुकको परराष्ट्र नीति नैतिक मान्यताले निर्देशित गर्ने नभई त्यस मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखी तय गरिनुपर्छ। केननअनुसार सोभियत संघका आन्तरिक क्रियाकलाप अमेरिकाका चासोका विषय थिएनन्। साम्यवाद विस्तार नहोओस् भन्नेमा अमेरिका बढी 
केन्द्रित देखिन्थ्यो। 

 ‘द नेसनल इन्ट्रेस्ट’ परराष्ट्र नीतिकेन्द्री यथार्थवादी जर्नल हो। तर, फुकुयामाले अघि सारेका कति कुरा आदर्शवादी थिए। शीतयुद्धका विभिन्न आयामका यथार्थवादी विश्लेषकलाई उनको मत एक प्रकारको चुनौती नै भएको थियो। यही कारणले ह्यारिसलाई फुकुयामाको लेख प्रकाशन गर्न उत्प्रेरित गरेको हुन सक्छ।  २९ वर्षपछि हेर्दा उदार लोकतन्त्र ठोस उपलब्धिजस्तो लाग्दैन। यसको प्रभाव उदारवाद र यससँग निकट अन्य सिद्धान्तमा निर्भर संस्थामाथि परिरहेको देखिन्छ। 
 
आफ्ना मान्यतामा फुकुयामा अडिग छन्। यसैको प्रतिफल हो उनको अर्को पुस्तक- ‘आइडेन्टिटी : द डिमान्ड फर डिग्निटी एन्ड द पोलिटिक्स अफ रिजेन्टमेन्ट’। पहिचानका अवधारणा उदार लोकतन्त्रका लागि चुनौती साबित हुन सक्ने उनको अनुमान थियो। यसअन्तर्गत पुटिन, बिन लादेन, सी जिनपिङ, ब्ल्याक लाइभ्स म्याटर, मीटू, समलिंगी विवाह, आर्ईएसआई, ब्रेक्जिट, युरोपेली राष्ट्रवाद, आप्रवासनविरोधी राजनीतिक आन्दोलन, डोनाल्ड ट्रम्पको विजयलगायत पर्छन्। 
 
धार्मिक पुनर्जागरण, फ्रान्सेली क्रान्ति, रुसी क्रान्ति, साम्यवाद, नागरिक अधिकार आन्दोलन, महिला आन्दोलनदेखि लुथर, रुसो, नित्से, फ्रायड आदिका विचारमाथि विश्लेषण पनि यसमा समाविष्ट छन्। यी सबको सुरुआतको श्रेय प्लेटोको ‘रिपब्लिक’लाई जान्छ। यिनै विषयमाथि दुई सयभन्दा कम पानाको उक्त पुस्तकमा चर्चा गरिएको छ।
 तर, तर्क बलिया छैनन्। 
 
केही समस्या बुभोर, फ्रायड जस्तालाई अर्कै तरिकाले बुझिदिँदा देखा परेका छन् भने केही रुसो, नित्सेजस्ताका सिद्धान्तलाई एकैखाले दृष्टिकोणले हेरिदिनाले। अधिकांश उनका अपत्यारिला कल्पनाका उपज हुन्। जस्तै, उनी पश्चिमी सोच सार्वभौम भएको कल्पना गर्छन्। 
 
उदाहरणका लागि भ्लादिमिर पुटिन र ब्ल्याक लाइभ्स म्याटरलाई एउटै टोकरीमा राखी तुलना गर्नु र ती दुवैको सम्बन्ध मार्टिन लुथरसम्म लगेर जोडिदिनु क्लिष्ट अवधारणा हो। फुकुयामा बाठा छन्। यस्ता तर्क स्थापित गर्न अरूले सक्दैनथे। 
 
अर्थ र अवसरका मामिलामा अरूको बराबरीमा आउनु सम्मानको विकल्प होइन। कार्यक्षेत्रमा अरूले आप्mना प्रतिष्ठामा आँच आउने काम गरिदिनु वा आपूmलाई अरूले मान्छेका दृष्टिले पनि नहेरिदिनु यौनदुव्र्यवहार हो। त्यसैले कानुनी वा आर्थिक आन्दोलनजस्ता लाग्ने समलिंगी विवाह, मीटू आदिका आन्दोलन खासमा पहिचान र सम्मानका लागि थालनी गरिएका हुन्।
 सम्मानको यस्तो लालसालाई फुकुयामाले ‘थाइमोस’ नामकरण 

गरेका छन्। प्लेटोको रिपब्लिकबाट लिइएको यो ग्रिक शब्दले ‘सधैँ रहिआएको मानव प्रवृत्तिको सार्वभौमिक आयाम’ अर्थ दिन्छ। सुकरातअनुसार आत्माका अन्य दुई अंग छन्- रिजन र आपिटाइट अर्थात् विवेक र भोक। पशु र हामीबीच भोक एकैखाले छ। विवेकले हामीलाई पशुभन्दा माथि उठाएको छ। प्लेटोको थाइमोस सुकरातका विवेक र भोकको मध्य मान हो। 
 
थाइमोसका अन्य अर्थ पनि छन्। जस्तै, अभिलाषा तथा उत्साह। फुकुयामा भने यसलाई न्यायसंगत हिसाबले केही कुराको महत्व निर्धारण गर्ने कडीका रूपमा अथ्र्याउँछन्। कुनै पनि प्रकारको अपमान भोग्दा हामीमा उत्पन्न हुने रिस र त्यसपश्चात् हामीले दिने स्वाभाविक प्रतिक्रियालाई थाइमोसको अर्को अर्थका रूपमा लिन सकिन्छ। 
 
प्लेटोको रिपब्लिक दर्शन हो, संज्ञानात्मक विज्ञान होइन। प्लेटोका यिनै दर्शनलाई फुकुयामाले जीवन्त रूप दिन अथक प्रयास गरेका छन्। ‘आत्मसम्मान र आत्मबलका भावना शरीरमा रहेको सेरोटोनिनको मात्राले निर्धारण गर्ने तथ्य हामीलाई थाहा छ,’ फुकुयामा भन्छन्। यसै विषयमा सुकरातले चिम्पान्जीमाथि गरेका अध्ययनतर्पm उनी इशारा गर्छन्। 
 
वासना, क्रोध, अवसाद, अतिशक्तिका भाव तथा यिनका स्वाभाविक परिणाम सेरोटोनिनको मात्रामा निर्भर रहन्छ। चेतनाले काम गर्ने यसैगरी हो। यसैले पहिचान तथा प्रतिष्ठाको अभिलाषा मान्छेका जन्मसिद्ध आकांक्षा हुन् भन्ने प्राज्ञिक तर्कलाई उनी हस्तरेखा विज्ञानले अघि सारेका तर्कसँग पनि तुलना गरी हेर्छन्। 
 फुकुयामा स्वयंको पहिचानको अभिलाषाका कारण उनी यस्ता रणनीति अपनाउँछन्। आप्mना तर्क सार्वभौम होऊन् भन्ने इच्छा राख्छन्। यसैलाई सिद्ध गर्न भ्लादिमिर पुटिनका लालसा र लैंगिक विभेदको सिकार बन्नुपर्दा प्रतिकार गर्ने क्षमतावान् महिलामा उत्पन्न हुने भाव एकै हुन् भनी फुकुयामा तर्क पेस गर्छन्। सायद ती महिलालाई रुसीका शरीरमा हुने सेरोटोनिनको मात्राको आवश्यकता छ। 

 कुनै व्यक्तिले आफूमा आत्मज्ञान र आत्मप्रभुत्वका भाव प्रचुर रहेको अनुभूति गरे इतिहासको अन्त्यको सुरुआत हुने हेगलको धारणा थियो। शास्त्रीय उदारवादका मूल्य विवेकशीलता र पारदर्शितामा निर्भर छन्। खुला बजार तथा लोकतान्त्रिक निर्वाचनमा प्राण भर्ने पनि यिनै दुई तत्व हुन्। कुनै प्रणाली कसरी चलेको छ, मान्छेले बुझेका छन्। त्यसैले उचित चयन गर्न सक्षम छन्। 


मेनन्ड न्युयोर्करका स्तम्भकार तथा एक समयका सम्पादक हुन्। उनको पुस्तक ‘द मेटाफिजिकल क्लब’ले सन् २००२ मा इतिहासतर्फको पुलित्जर पुरस्कार जितेको थियो। न्युयोर्कर डट कमबाट विभु लुइटेलको उल्था।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.