म्यानेजमेन्ट : फ्याक्ट औ फिक्सन

म्यानेजमेन्ट : फ्याक्ट औ फिक्सन

कुम छुम् कि नछुम् गर्दै हुर्केका खैरा कपाललाई जेलमा चप्लक्कै डुबाएर दाहिनेतिर ए वान प्रोफेसनल जुरो बनाएकी थिएँ। यतिखेर मेरो टाउकोको भूमरी वरिपरि रङरोगनले टुक्रिएका कपालहरूलाई हावासँगै हल्लिने मौका थिएन। 

त्यो दिन मलाई दाहिनेतिरबाट सिउँदो काट्न मन थियो। तर मेरा कपालहरू अटेरी छन्। सधैं देब्रेतिर बाटो बनाउँछन्। त्यति एउटा चिज फरक गर्न मन थियो, तर सकिनँ। त्यसैले सिउँदो सट्टा आँखीभौंमा बढी मेहनत गरे। हाम्रो चितवनतिर पाइन्छ के, मसिनो लरक्क परेको टिलिक्क टल्किने सर्प, घाम ताप्दै टक्क आँगनमा ज्यान बंग्याएर लम्पसार परेको। मेरो आँखीभौं ठ्याक्कै त्यस्तै देखिन्थ्यो त्यो दिन। 

अनुहारमा कतै दाग नदेखिने गरी महँगो फाउन्डेसनले एक तह बढाएकी थिएँ। आँखामा हो कि होइन जस्तो गरी गाजल टल्काएँ। आँखीभौंले सबै आकर्षण लिने भएकाले मैले आँखामा धेरै मेहनत गरिनँ। त्यसमाथि सबैले मलाई आँखामा केही मेकअप नगरेकै राम्रो देखिन्छ भन्छन्। 

मैले ओठमा पनि कहिल्यै केही मेहनत गर्नुपरेन। मेरो ओठ यसै मुस्काइरहन्छ, अनि जब मुस्काउँछ ओठ मात्र होइन पूरै अनुहार गुलाफी गुलाफी बनाउँछ। यत्ति कुराले पनि म कहिलेकाहीँ कस्तो भाग्यमानी महसुस गर्छु। मैले महँगो लिपिस्टिक र गालामा लगाउने गुलाफी रङ कहिलै किन्नुपरेन।
चट्ट सेतो ब्लेजर र त्यसैको सेट नीलो स्कर्ट लगाएर मैले ऐनामा आफूलाई हेर्दा केही बेर झन्डै आफूलाई नै नचिनेझैं गर्दिए। मुसुक्क हाँसो आफैंसँग हाँस्दै गुलाफी भएर तल झर्दा तिलकले पनि मलाई उस्तै गरी जिस्क्याए।

‘ओहो मायालु झन्डै नचिनेको,’ त्यसपछि गुलाफी रङ झन् गाढा भयो। 
‘साँच्ची भन त कति चोटि कपडा फेरेपछि यो रूपको उत्पत्ति भयो ?’ 
‘चार चोटि’ मेरो छोटो हाँसो।
‘ए खासै धेरै त होइन रैछ। चार घण्टामा चार चोटि त कपडा फेरिछौ नि।’ 
मेरो लामो हाँसो।
‘तिमीलाई चाहिँ हिसाब गरी हाल्नुपर्छ ?’ 
‘हिसाब गरेको होइन। म ‘फ्याक्टमा’ विश्वास गर्छु। आजको दिनले धेरै परिवर्तन ल्याउन सक्छ लाइफमा। केही फ्याक्ट बटुलेर राख्न पर्‍यो नि।’ 


अगस्ट १, २०१८ मा मेरो जागिरका लागि अन्तर्वार्ता थियो त्यो पनि फाइभ हन्ड्रेड फर्चुन कम्पनीमा। एमबीए ग्र्याजुएट भएपछि मैले जागिर खोजिरहेकी थिएँ। यस्तो मीठो अवसरले ढोका ढकढक्ययो कि, म गुलाफी गुलाफी भएँ।मलाई त यस्तो लाग्छ के, जागिर कसैका लागि पनि जागिर मात्र हुँदैन। कसैका लागि बाध्यता र रहर। कसैका लागि जीवन र तपस्या। मेरो लागि यी चार ओटै थिएनन्। 
किनकि बाध्यता र रहरमा मैले कहिल्यै केही काम गरिनँ। रह्यो कुरा जीवनको त्यो त मेरो लागि अभिनय मात्र हो र तपस्या मेरो लेखाइ। यो जागिर त केवल अवसर थियो। मेरा कत्ति मरिसकेका सपनालाई ब्यूँझाउने र हुर्किंदै गरेका आकांक्षाहरूलाई तंग्राउने अवसर। 

एउटा अर्को फ्याक्टको कुरा गरौं ? सबैको जीवनमा एउटा न एउटा यस्तो फ्याक्ट हुन्छ जसले गर्दा कति सपना वा इच्छाहरूलाई टाउको फर्काउन कर लाग्छ। यो जागिरले ती सबै फ्याक्टहरूलाई बदल्न सक्ने सामथ्र्य राख्थ्यो। त्यसैले तिल्कु र म दुवै एकदमै होपफुल थियौं।

हामी हाँस्दै गाडीमा बस्यौं। त्यति सेतो कपडा लगाएकी म सुकुमारी कालो गाडीमा बस्दा कतै फोहोर लाग्ने हो कि भन्ने डर जस्तो लागेको थियो । तर मैले तिलकसँग त्यो डरबारे चुइँक्क बोलिनँ। ऊ मलाई पूरै अब्जर्ब गर्दै थियो। उसको हेराइबाट बच्न मैले साइडको गाडीको पकेटबाट पानी तान्दै भने।
‘स्टे हाइड्रेटेड !’ ऊ टाउको हल्लाउँदै फिस्स हाँस्यो। उसको हाँसो म चिन्दिनँ र ? ऊ मनमनै भन्दै थियो। 
कसरी राम्री हुनेभन्दा पनि यस्तो प्रश्न सोध्यो भने कसरी उत्तर दिने होला भन्नेतिर ध्यान दिए हुन्थ्यो।
‘एज एक्सपेक्टेड !’ गाडीमा आधा जीउ मात्र हो कि होइन जस्तो गरेर अलक्क बसेको देखेर उसले भनिभ्यायो । तर अल्लि फरक तरिकाले।
‘प्रोजेक्ट म्यानेजरको ड्युटीबारे सोध्यो भने चाहिँ तीन बुलेट पोइन्ट भनिहाल्नू।’ ऊ मैले झैं आधा जीउ उठाएर मेरो मिमिक्री गर्दै थियो।
 - स्टे हाइड्रेटेड !
- स्टे क्लिन !
- एन्ड किप स्माइलिङ !
उसको कुरा सुनेर म केहीबेर मज्जैले हाँसें। खासमा उसले मलाई जिस्क्याउन भनिएका यी प्रोजेक्ट म्यानेजमेन्टका तीन प्रिन्सिपलमाथि म साँच्चिकै विश्वास गर्छु। ‘प्रोजेक्ट म्यानेजमेन्टमा गर्ने नै त्यही हो। अरू के गर्छन् भन्ठानेको छौ ? एस्ट्रोनटको जस्तो युनिफर्म लगाएर ‘थिन फिल्म’ बनाउँछन् भन्ठानेको छौ ?’ मेरो सटाएर उसको फिजिक्स साइन्ससँग जोडिएको थियो। 
‘त्यसो भए के गर्छन् त प्रोजेक्ट म्यानेजमेन्टमा म्याडम ?’ ‘तिमीले ड्युटीको कुरा गर्‍यौ। खासमा ती तीन बुलेटलाई त प्रोजेक्ट म्यानेजमेन्टको प्रिन्सिपल बनाउनुपर्ने हो।’

म खिस्स हाँसें ! खासमा दुई महिना घरमा बसेर प्रोजेक्ट म्यानेजमेन्टका सयौं बेस्ट प्राक्टिस पढेर होला। मेरो आत्मविश्वास ह्वात्तै बढेको बेला थियो त्यो। जताबाट जुन टपिकमा कुरा गरे पनि मैले प्रोजेक्ट म्यानेजमेन्टसँग लगेर जोडिदिन्थँे। फेरि त्यो लजिकल पनि सुनिन्थ्यो। त्यो दिन तिल्कु पूरै मेरो प्रोजेक्ट म्यानेजमेन्ट लजिकको सिकार हँुदै थियो।
बुलेट नम्बर १ 

सबैभन्दा महत्वपूर्ण ‘स्टे हाइड्रेटेड’। प्रोजेक्ट म्यानेजमेन्ट भनेको सबैभन्दा टाउको दुख्ने काम हो। जिम्मेवारी यति धेरै हुन्छ तर देखिने काम एकदमै थोरै। आफ्नो टास्क कम हुनु भनेको डिपेन्डेन्सिज बढ्नु हो। अब अरूले यो काम यो समयमा गर्देलान् र जागिर बचाउँला भनेर बस्न कति गाह्रो हुन्छ, ल भन त ? त्यो डिपेन्डेन्सिजको दौडधुपमा हामीलाई आरामले खाने समय हुँदैन। अब नखाए त जीउ बरु अलि अलि घट्छ । तर पानी पनि पिउन बिर्सन्छौ, समस्या त्यहाँ छ। 

शरीरमा पानीको कमी भएपछि डिहाइड्रेटेड भइन्छ। डिहाइड्रेसनले टाउको दुख्छ, एसिडिटी बढेर वाकवाकी आए जस्तो हुन्छ, रिंगाटा लाग्छ। हामी जस्तो केटी मान्छेहरू त झन् गुलाफी रङबाट निस्केर बिस्तारैबिस्तारै पहेलो रङमा परिणत हुन्छौं। पहेँलो भएर बाँच्न सकिन्न। 

अनि फेरि धेरै जस्तो कर्पोरेट अफिसका कन्फरेन्सहरूमा झ्याल हँुदैनन्। झ्याल भए पनि सबै ड्यामडुम गरेर बस्ने त हुन्। त्यस्तोमा फ्रेस हावा पाइन्न। अक्सिजनको कमीले हाईहाई आउँछ। अब हाई कति कन्टेइजस हुन्छ भन त ? घण्टौंघण्टाको मिटिङमा एकअर्कालाई हाई सारेर मात्र बस्ने हो। यस्तो अवस्थामा प्रोजेक्ट म्यानेजर मात्र होइन, सबै टिमको प्रोडक्टटिभिटी जिरो हुन्छ। 

सबैभन्दा डरलाग्दो कुरा त तिम्रो प्रोजेक्ट ड्राइभिङ क्षमतामा 
ह्रास आउँछ। प्रोजेक्ट म्यानेजरको सबैभन्दा ठूलो अग्निपरीक्षा तब हुन्छ जब तिमीले डिसिजन लिन पर्छ। यो राइट समय र राइट डिसिजन भएन भने कम्पनीलाई एक लाख-दुई लाख होइन मिलियन डलरको घाटा हुन्छ, त्यसमाथि आफ्नै करिअर सत्यनाश।’ मैले यति भन्दै आफ्नो दुई हात झट्कार्दै सत्यानाश गर्दा तिलकले तीनचोटि पानीको बोतल मुखमा पुर्‍याएको मैले नदेखेझैं 
गरिरहेकी थिएँ। 
बुलेट नं. २ 

स्टे क्लिन- ‘टिमको फिजिकल र मेन्टल हाइजिन ‘पोजेटिभ पर्सनालिटी इम्प्याक्ट’ यो केबाट आउँछ ? चट्ट परेर कपडा लगाइबोरी सफा भएर मिटिङमा बस्दा तिम्रो अन्डरमा काम गर्नेहरूले तिमीले दिएको टास्कलाई नाइँ भन्न सक्दैन। खुरुखुरु गर्छन्। सँगसँगै तिम्रो त्यो बुलेट नम्बर तीन ‘किप स्माइलिङ’ जोडिदियौ भने त टिम मेम्बरहरू यसै मक्ख हुन्छन्। हाकिमले दिएको एक स्माइलले उसको अन्डरमा काम गर्नेहरूलाई दुई गुना मोटिभेसन प्रदान गर्छ। अझ राम्रो, त्यो मुस्कानभरि ओठबाटै दुई शब्द उसले गरेको काम को तारिफ गरिदेऊ त। ओहो ! उसको दिन बन्यो अनि तिम्रो प्रोजेक्ट म्यानेजमेन्टमा करिअर। अब रिसाएर थर्काएर गमक्क परेर, हाकिम पाराले कसैसँग काम लिउला भनेर त नसोचे पनि हुन्छ। वल्र्ड इज चेन्जिङ हनिबनी।
‘इम्प्रेसिभ,’ यस्तो भन्दै तिल्कु टाउको हल्लाउँदै थिए।

‘प्रोजेक्ट म्यानेजरको उत्तरदायित्व के हो त ? अब त्यतातिर प्रकाश पारिदिनुस्,’ उसको प्रश्न पछि फेरि हामी १५ सेकेन्ड मज्जैले हास्यौं। 
‘मेरो एसएलसी परीक्षाका प्रश्न तिमीले लेख्या हो ?’ उसको खित्का, असर गाडीमा पर्‍यो, झन्डै लेनबाट बाहिर गएन। केहीबेर बोलिनँ।
‘बेबी सिटिङ !’ 
‘बेबी सिटिङ ?’

‘एस बेबी सिटिङ, सजिलोका लागि म त सधैं प्रोजेक्टलाई बच्चाका रूपमा लिन्छु। हाई लेभल प्रकाश पार्छु है त ?’ 
मेरो विचारमा प्रोजेक्ट दुई तरिकाका हुन्छन्, एक्जिस्टिङ र न्यु।

अब एक्जिस्टिङ प्रोजेक्ट काम गर्नुपर्‍यो भने त्यही त हो। कुनै साह्रै बिग्रेका प्रोजेक्ट हुन्छन् कुनै साह्रै सुस्त भएका। कुनैमा काम गर्ने मान्छे नभएका, कुनैमा काम गर्ने मान्छे धेरै भएर काम नै नभएका। वा कुनै प्रोजेक्ट म्यानेजरले अर्को प्रोजेक्ट पाएर त्यो ह्वात्तै छोडेर अलपत्र र टुहुरा बनाइदिएका। 

अब त्यस्तोमा जिम्मा लिने एउटा परिपक्व मान्छे चाहियो। हुर्काउन पर्‍यो, बढाउन पर्‍यो। प्रोजेक्टको उद्देश्य के थियो, त्यो पत्ता लगाएर त्यो पूरा गर्न पर्‍यो। सबैलाई काम लगाउनुपर्‍यो। 
अब नयाँ हो भने चाहिँ सुरुदेखि नै प्लानिङ गर्नुपर्‍यो। 
किन बच्चा चाहिएको ? — प्रोजेक्ट निड।
बच्चाको आगमनले ककसलाई असर पार्छ ? — स्टेक होल्डर आइडेन्टिफिकेसन।
कस्तो बच्चा जन्माउने ? — स्कोप।
कुन समयमा जन्माउने ? — टाइम।
कति पैसा खर्च हुन्छ ? — बजेट।
कसको खर्चले हुर्काउने-बढाउने ? — प्रोजेक्ट स्पोन्सर।
यति कुरा पत्ता लगेपछि बल्ल अरू प्लानिङ गर्ने। जस्तै ः बच्चा कसरी जन्माउने र कसरी हुर्काउने र कस्ता कस्ता काम गर्नुपर्छ ? — टास्क ब्रेक डाउन स्ट्रक्चर।
को को मिलेर हुर्काउने ? — रिसोर्स प्लानिङ। 
कुन समयमा हेर्ने ? — स्केजुअल।
कसले के गर्‍यो भनेर कसरी थाहा पाउने ? — कम्युनिकेसन प्लानिङ।
कति समयमा सक्काउने ? — डिटरमाइनिङ प्रोजेक्ट ड्युरेसन।
बच्चा हुर्केर आफैं हिँड्ने भएपछि कसलाई दिने ? — प्रोजेक्ट टर्नओभर र ह्यान्डओभर।
सी इट्स अल अबाउट बेबी सिटिङ। 

‘अनि तिम्रो बच्चा माको बदमास निस्कियो भने ?’ तिल्कुले हाँस्दै सोध्यो । मैले पनि जिस्क्याएँ।
‘त्यो त स्योर हो नि, बाउ नै यस्तो मंकी भए पछि मेरो बच्चा त माको बदमास निस्किहाल्छ नि।’ उसलाई मंकीले सटाएर हानेकाले केहीबेर बोलेनन्। कस्तो खित खिताउन मज्जा आइराथ्यो। 

उसको साइलेन्सले तुरुन्तै बन्द गर्नुपर्‍यो। मैले नै कुरा फेरि प्रोजेक्टतिरै लगें। ‘त्यो त प्रोजेक्टको नेचरअनुसार भैपरी आउन सक्ने घटनाका रोकथाम र मिटिगेसनका बेस्ट प्राक्टिस (चलनचल्तीका भरपर्दो अभ्यास) हरू अपनाउनुपर्छ। 
हरेक खालका प्रोजेक्टमा भैपरी आउने समस्या र वैकल्पिक उपाय (डिजास्टर रिकभरी र कन्टेइजस प्लान) चाहिन्छ। 
‘तिम्रो कुरा सुन्दा त हाम्रो घरका आमाहरू पर्फेक्ट प्रोजेक्ट म्यानेजर हुन् जस्तो लायो।’
‘राइट ! आमाहरू कस्तो मल्टिटास्किङ हुन्छन् हेर न। एउटा मात्र काम हेर्ने हुन् र ? कति हुन्छन् बच्चाहरू र घरका काम हेर न। त्यो हिसाबमा कुरा गर्दा त घरका आमाहरूले प्रोग्राम वा पोर्टफोलियो म्यानेजमेन्ट लेभलका काम गर्छन्।’ 

ठ्याक्कै यतिबेला हामी दुवै टाउको हल्लाउँदै आफ्नै तर्कमा होमा हो गर्दै थियौं।
‘अनि यी सबै कुरा प्रोजेक्ट म्यानेजरले एउटा प्रोजेक्ट प्लानमा टक्क लेखेपछि उसको काम सकियो। त्यसपछि उसले गर्ने भनेको टन्न पानी पिउने, सफाचट भएर अफिस आउने, र हाँसिरहने।’ केही बेर मेरो गुलाफी गुलाफी मुस्कान।
‘अर्को महत्वपूर्ण टास्क,’ मेरो सकिएकै थिएन।

‘प्रोजेक्ट म्यानेजरले आफ्नो स्पोन्सरलाई सबै कुरा भनिरहन पर्छ। यसरी सोचौं न, प्रोजेक्ट म्यानेजर आमाले स्पोन्सर बालाई बच्चाको स्वास्थ्य (प्रोजेक्ट हेल्थ), बच्चा हेर्नेहरूको स्वास्थ्य र खुसी (इम्प्लोयिज हेल्थ एन्ड मोटिभेसन), सबैको स्थिति (स्टाटस रिपोर्ट) कचकच गरेर बालाई भनिरहे जस्तै। 

प्रोजेक्ट म्यानेजमेन्टमा फ्यान्सी कम्प्युटरमा पावरपोइन्ट बनाएर इमेलमा वा अरू कुनै रिपोर्टिङ टुलमा स्टाटस रिपोर्ट पठाइन्छ। मैले यति भनेर सकेपछि तिल्कुले मुसुमुसु हाँस्दै भने। 
‘वाओ ! मेक सेन्स ! तैले जागिर पाइस् अब।’ उसको मुखबाट यस्तो धेरै सुन्न पाइन्न, तर पाएको बेला नाक फुलाउँदै गमक्क परेर बस्छु। 

मलाई अनसाइट अन्तर्वार्ताका लागि दिउँसोको १ बजे बोलाइएको थियो। ह्युमन रिसोर्स म्यानेजरसँगको दुई वटा फोन अन्तर्वार्तापछि यो तेस्रो अन्तर्वार्ता थियो। यो चाहिँ मान्छे भेटेर दिनुपर्ने अन्तर्वार्ता। यस्तो अन्तर्वार्ता चाहिँ लगभग आफूले रिपोर्ट गर्नुपर्ने हाकिमले लिन्छन्। अनि योसँग काम गर्न कत्तिको सजिलो हुन्छ भनेर नानाथरी तरिका अपनाएर प्रश्न सोध्छन्। यस्तो अन्तर्वार्तामा आफूलाई केही काम आउँदैन भने पूरा 

गर्वसाथ आउँदैन भन्दा बरु फरक पर्दैन । तर कुनै पनि हालतमा नर्भस हुनुहुँदैन।हामी आधा घण्टाअघि पुगेका थियौं। कम्पनी ओहाइयोको माउमी भन्ने सिटीमा हाइवेबाटै छर्लंगै देखिने ठूलो बिल्डिङ थियो। आँखाले भ्याए जति परसम्म कम्पनीका लोगोसहितको ठुल्ठूलो बिल्डिङ र गाडी टल्किरहेका थिए। हजारौं गाडी पार्केका। कम्पनीको मेन बिल्डिङको अगाडि बडेमानको फाउन्टेनबाट हाम्रो गाउँतिरका झरनाझैं अनवरत पानी निस्किरहन्थ्यो र ठ्याक्कै त्यसको अगाडि
लेखिएको थियो— पिपल फाइनडिङ अ बेटर वे !
‘होइन कत्रो रैछ त नि अफिस त ?’ म दंग खाएँ। 
‘मैले त यत्रो छ यो कम्पनी भनेर सोचेकै थिइनँ।’ 
‘तिम्रो कन्फिडेन्स अलिकता हरायो कि क्या हो कम्पनी देखेर ?’

तिल्कुले जिस्काए। खासमा उसले ठ्याक्कै थाहा पाएको थियो। सानो कम्पनी होला मज्जालै गफ दिउँला भनेर त्यत्रो आत्मविश्वासले उसलाई पूरा गफ दिएँ। यत्रो रैछ। मेरो मुटुको ढुकढुकी अलिकता बढ्यो। तर मैले तिल्कुलाई कत्ति पनि देखाइनँ। 

‘त्यस्तो पनि हुन्छ ?’ मेरो आवाज अघिको जस्तो थिएन, सानो थियो। ठ्याक्कै यतिखेर अघि मैले तौलेको प्रोजेक्ट म्यानेजमेन्ट र बेबी सिटिङ हल्का जोकझैं लाग्न थाल्यो। 
मेरो अन्तरआत्माले मेरो कान फुट्ने गरी चर्को आवाजमा मलाई पूरै चेतवानी दिँदै थियो 
‘गैस् बिनिता ! गैस् ! यत्रो कर्पोरेटमा आएर प्रोजेक्ट म्यानेजमेन्टलाई बेबी सिटिङ भन्दिस् भने त सिद्दै गैस्,’ पार्किङ लटमा गाडी रोकिएपछि अन्तरध्वनिले मेरा राताराता भइसकेका कानलाई मुसार्दै भने।
‘अमेजिङ प्लेस !’

तिल्कुले ‘गुड लक’ भन्दै एक मीठो चुप्पी मेरो निधारमा खाए। म फिक्का गुलाफी रङ मिसिएको मुस्कान उसको अनुहारमा छर्दै, गाडीबाट ओर्लिए। 
आफ्नो ढुकढुकीलाई अलिकता बढ्ने मञ्जुरी दिँदै म पार्किङ लटमा हलुका भएर हिँड्दै थिएँ। ६ फिटभन्दा बढी अग्ला अमेरिकनहरू मेरो छेउबाटै पास हुँदै अघि बढ्न थाले। म पाँच फिट तीन इन्चकी केटी झन्झन् घटेर चार फिटतिर झर्छु कि झैं लागिरहेको थियो। ठ्याक्कै फेरि मेरो दाहिनेतिरबाट मभन्दा एक बित्ता अग्लो मान्छे पास भयो। 
मैले उसको अनुहारमा हेर्न टाउको उठाएँ। उसले मेरो अनुहारमा हेर्न आफ्नो जीउ झुकायो। कति मीठो दृश्य थियो त्यो। एउटा बढेमानको अमेरिकन अर्की सानी कीरी जस्तो नेपालीको अगाडि पूरै झुक्दै थियो। उसको अप्ठ्यारो गरी झुकिएको शरीर देखेर म मुसुक्क हाँसें । अमेरिकनहरू यसरी झुकेको कहिले हेर्न पाइन्छ र ? ऊ पनि मुसुक्क हाँस्यो। म हाँस्नुको रहस्य खोले के गर्दो हो।

१० सेकेन्डको झुकाइ र हँसाइपछि ऊ लमकलमक हात्तीका पाइला अगाडि बढायो। उसका एक पाइला मेरो लागि तीन पाइला थियो। मेरा खुट्टाको साइज जस्तै मेरा पाइलाहरू पनि छोटा छन्। साँच्चिकै, साना कीरीहरूको जस्तो।
तथ्य कुरा, अमेरिकनहरूको राम्रो बानी, जति शरीरले वा पोजिसनले अग्ला भए पनि मुसुक्क हाँस्न र अरूलाई ढोका समाइदिन छोड्दैनन्। जहाँ पनि मुसुक्क मुस्काउँदै ढोका खोलेर स्वागत गर्छन्। 

म मेन बिल्डिङ पुग्दा अघि १० सेकेन्ड मसँग झुकेको गोरे त्यही मुस्कान कत्ति पनि नघटाई मेरो लागि ढोका समाएर उभिएको थियो। करिबकरिब ४० वर्षको, टक्क सुट पाइन्ट लगाएको, दारी क्लिन सेभ, कपाल चट्ट मिलाएर लेयरमा काटिएको। खैरा जुत्ता टलक्क टल्किएका। उसको पर्सनालिटीले प्रोजेक्ट म्यानेजमेन्टको प्रिन्सिपललाई च्याप्पै समातेको थियो। मलाई दुई पाइला दौडिन कर लाग्यो। मुसुक्क हाँस्दै भने, ‘थ्यांक यू सर !’ 

उसको मुस्कान उत्तिकै रहरलाग्दो थियो। ऊ टाउको हल्लाउँदै आफ्नो पाइन्टमा झुन्ड्याइएको ब्याजले ढोका खोल्यो र बिल्डिङभित्रको ठूलो भर्‍याङ चढ्दै विलीन भयो। म रिसेप्सनमा आफूलाई अन्तर्वार्तामा डाकेको जानकारी गराएर रिसेप्सनिस्टको आग्रहमा सोफामा बसे।
ठ्याक्कै १० मिनेटपछि सोही मान्छे। त्यही मुस्कान लिएर सेतो दात देखाउँदै मेरो अगाडि आएर उभियो र भन्यो, ‘वेलकम 
बि नि टा !’ म त एकछिन दंग खाएँ। पहिलो गल्ती, सोफाबाट उठ्नै बिर्सिएँ।
उसको दाहिने हात मेरो अगाडि बढेको थियो। तर म सोफामा बसीबसी दंग नै खाएर सोच्दै थिएँ।

 वाओ ! कस्तो इम्प्रेसिभ पेर्सोना। कत्तिबेर लाउँदो हुन् यिनीहरू रेडी हुन ? मलाई चार घण्टा लगाएर पनि अझै चित्त बुझेको छैन।
म त कत्ति बेर बोल्नै सकिनँ। एक त कम्पनीको साइजले मलाई अगाडि नै चार फिटको बनाइसकेको थियो अर्को यिनको पर्सनालिटीले झन् थिच्यो। केके सोच्दासोच्दै बल्लबल्ल अन्तर्वार्तामा छु भन्ने चेतना आयो। झसंग भएझैं भएपछि सोफाबाट जुरुक्क उठें। 

थुइक्क ! सम्झिँदा पनि काउकुती लाग्छ, कस्तो अप्ठ्यारो उठाइ थियो त्यो। तर मेरो गल्ती थिएन। त्यो सोफा नै त्यस्तो, मलाई गहिरो गरी तलसम्म तानेको थियो। कम्प्युटर ब्याग काखमा राखेर थचक्क बसेको तलै पुगें। जुरुक्क उठ्न खोज्दा त पूरै शरीरको बल लगाउनुपर्ने। अनुहार त यसै कुच्चिइहाल्छ नि। त्यसपछि फेरि आफ्नै पारा देखेर खिस्स हाँस्न पुगेछु। दोस्रो गल्ती, त्यस्तो मरन्च्यासे हाँसो हाँस्न नहुने थियो। ऊ ठिक्क मुस्कान लिएर मेरो रेस्पोन्स कुरिरहेकै थियो। कत्ति नर्भस आवाज निकालेर मैले बल्ल बल्ल भनें। 
‘हाई जोन ! नाइस टु मिट यु।’ 
तेस्रो गल्ती, गर्ने नहुने गल्ती ! 

उसले धेरैबेरपछि मसँग हात मिलाउन पर्खिरहेका उसका हात हटाएसी मात्र पो थाहा पाए। मैले नाइस टु मिट यु भने तर सँगसँगै हात मिलाउन बिर्सेछु। 
हाउ इम्ब्यारेसिङ ! 
@BinitaBaral1 ‘जुइनो’ उपन्यासकी लेखक तथा कलाकार हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.