जर्नल लेख छाप्‍ने जोस

जर्नल लेख छाप्‍ने जोस

हामीकहाँ ज्ञानको साधना गर्ने पीएचडी सकिसकेका मान्छेले आफ्नो विचारप्रति असहमत हुने प्रश्नकर्तालाई प्रज्ञा-प्रतिष्ठानको मञ्चबाटै जुत्ताा हानेको उदाहरण ताजै छ। इतर विचारहरूमाथि पनि सभ्य, स्वस्थ र निर्भय बहस गर्न पाइयोस्। 


तीन झिल्का

मलाई जर्नल लेख छपाउन उत्साह भरेका तीन झिल्का थिए। पहिलो, शेखर दाइका किताब। सत्र वर्षजति थिएँ होला। कामविशेषले काठमाडौं गएको थिएँ। मिडिया अध्येता दाइ शेखर पराजुलीको बानेश्वर डेरामा सात दिन एक्लै बस्नुपर्ने भयो। साथी थिए, उहाँका कोठा र भान्साभरि छरिएका विचित्रका किताब। ती मैले पढ्ने गरेका उपन्यास र अखबारे लेखभन्दा भिन्न थिए। बीचबीचमा कोष्ठ राख्दै ककसको हो थर र प्रकाशन वर्ष मिसाइएका। अन्तिममा सबै लेख र पुस्तकका नाम लहरै राखिएका। पोखरा फर्केपछि दाइलाई ती के थिए भनी सोधेँ। प्राज्ञिक लेख (अकाडेमिक आर्टिकल) भन्दा रहेछन्। निर्धारित विषयमा नियमित प्रकाशन हुने शृंखलाको भाग भए, जर्नल आर्टिकल। त्यतिन्जेल स्थानीय पत्रिकामा फुटकर लेख मात्रै छपाएको थिएँ। मान्छेले किन यस्ता अनौठा लेखमा समय फाल्छन् भन्ने लाग्यो।

दोस्रो झिल्का, काठमाडौं विश्वविद्यालयमा छत्रमणि सर। फी तिर्न नसक्ने बबुरोले काठमाडौं विश्वविद्यालयमा पढ्न पाउनु मेरो पहिलो सौभाग्य थियो। दोस्रो सौभाग्य, पानीशास्त्रका प्राध्यापक छत्रमणि शर्माको छत्रछायामा सिक्न पाउनु। अन्तर्राष्ट्रिय प्राज्ञिक जगत्मा ज्ञानको सिर्जना कसरी गरिन्छ र सभ्य वादविवादले नवीन चेतनाको ढोका कसरी खुल्छ भनी छत्र सर उजिल्याउनुहुन्थ्यो। सार एउटै हुन्थ्यो, त्यस्तो परिष्कृत ज्ञानको एउटै बाटो हो जर्नल लेख। 

बिस्तारै बुझ्न थालेँ। जर्नल लेख अभिव्यक्तिलाई कलात्मक पाराले पोख्ने कथा/कविता होइन रहेछ। न नै रहेछ यो निजी विचार पोख्ने अखबारे लेख। यसका प्रत्येक वाक्य बह वा आक्रोश होइन, तथ्य वा तर्कमा आधारित हुनुपर्छ। स्तरीय जर्नलले लेख छाप्नुअघि विषयविज्ञबाट मिहीन समीक्षा गराउँछन्। लेखक र समीक्षक दुवैको परिचय गोप्य राखिन्छ। ‘ब्लाइन्ड रिभ्यु’ भनिने यो गोपनीयताले लेखक वर्षौं अनुभवी प्राध्यापक हो वा सिकारु अनुसन्धाता भन्ने समीक्षकलाई थाहा हुँदैन। बहस केवल विषयवस्तुमा केन्द्रित रहन्छ। समीक्षक एकभन्दा धेरै हुन्छन्। नतिजा जे पनि हुन सक्छ— स्वीकृत, अस्वीकृत वा पुनर्लेखनसहित स्वीकृत।

अनुसन्धानलाई सम्मान गर्ने समाज, विश्वविद्यालय वा जागिर बजारमा जर्नल लेख प्रकाशित गर्नुलाई प्रतिष्ठा र बौद्धिक स्वनिर्भरताको मापक मानिँदो रहेछ। राम्रो विश्वविद्यालयमा विद्यावारिधिमा भर्ना पाउन, तथ्यमा आधारित नीति तर्जुमा गर्न वा पूर्वस्थापित ज्ञानलाई चुनौती दिन पनि जर्नल लेख वजनदार हुँदा रहेछन्। अनि चढ्यो ममा जर्नलको आगो। यति तटस्थ बहसको प्रक्रियाबाट विचारको विराट् महायज्ञमा होमिनुजस्तो सुखानुभूति अरू केमा हुन्थ्यो होला र ? 

तेस्रो झिल्का थियो, द्वन्द्वविद् विष्णुराज उप्रेतीसँगको संगत। उप्रेती सर पढ्नका कडा मान्छे। पानी निलेझैं घटघट पुस्तक निल्न सक्ने क्षमता थियो। विद्यार्थीलाई उहाँका तीन सुझाव हुन्थे— थोरै सुत, धेरै पढ, लेखेका कुरालाई विश्व-स्थापित सिद्धान्तसँग जँचाएर हेर। उहाँ विद्यार्थीलाई लेखिरहन प्रेरित गर्ने, मलाई चाहिएको लेख्ने वातावरण। 

उप्रेती सरको सहयोगले म एउटा विश्वव्यापी अनुसन्धान सञ्जालसँग जोडिन पुगेँ। त्यहाँ संसारभरका ४० मुलुकका तीन सय ५० भन्दा बढी अनुसन्धाता विविध विषयमा अनुसन्धान र विमर्श गर्थे। त्यो चार वर्षको काम थियो, दक्षिण एसियामा भएका द्वन्द्वका जरा र तिनको निराकरणका उपायबारे अनुसन्धान गर्नु। अनुसन्धान पद्धतिमा अलि पकड बनाइसकेपछि एक दिन उप्रेती सरले सोध्नुभयो, ‘हामीले गरिरहेको अनुसन्धानबाट दुईवटा छलफल पत्र र एउटा जर्नल लेख छाप्नुपर्ने छ। तपाईं कुन लिड गर्ने ?’ मैले एकै सासमा भनेँ, ‘जर्नल लेख लिड गर्छु।’

अल्पस्लान ओजरडम बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा द्वन्द्वशास्त्रका कहलिएका प्राध्यापक थिए। उनको सम्पादनमा ‘जर्नल अफ कन्फ्लिक्ट ट्रान्सफर्मेसन एन्ड सिक्युरिटी’ निस्कन्थ्यो। चिनजान थिएन तर सीधै उनैलाई इमेल गरेँ। अनुसन्धानको सारांश पठाएपछि सम्पादकीय टोलीले अवधारणा मन परेको र पूरा लेख थाल्न भन्यो। बीचमा अड्चन धेरै आए। नेपालमै बसी अनुसन्धान गर्दा अरू जर्नल लेख पढ्न मिल्ने पहुँच थिएन। यद्यपि ओजरडमको टोलीले लेखहरू नै पठाएर सहयोग गरे। सबै जर्नलझैं यसमा पनि टिप्पणी, खण्डन, सुधार र प्रतिरक्षाको क्रम छ महिनाजति चल्यो। अनि एक दिन लेख स्वीकृत भयो भनी इमेल आयो। हावामा विजयीभाव मुक्का हानेँ। किनकि प्रमुख लेखक (फस्ट अथर) भएर मेरो पहिलो जर्नल लेख कोभेन्ट्रीबाट छापिएको थियो। जर्नल लेखमा प्रमुख लेखक हुनुको विशेष अर्थ हुन्छ। अनुसन्धान पद्धति, तथ्य विश्लेषण र मस्यौदा तयारीमा अरूको भन्दा उसको धेरै भूमिका हुन्छ।

यसबीचमा मार्टिन चौतारीको मिडिया फेलोसिपका लागि छानिएँ। म्याग्दीको नांगी गाउँ पुगेर गरेको अनुसन्धान पत्रहरू नेपालबाट ‘मिडिया अध्ययन’ जर्नलमा र पाकिस्तानबाट ‘सस्टेनेबल डिभेलपमेन्ट’मा छापियो। लेख्दै जाँदा थाहा भयो, जर्नल लेखलाई अन्तर्राष्ट्रिय प्राज्ञिक समुदायले पनि पत्याउनुपर्ने रहेछ।
उत्कृष्ट संस्था वा अनुसन्धाताले उद्धृत (साइट) गरे वा सरकारी निकायले नीति परिवर्तन गर्न प्रयोग गरे बल्ल अनुसन्धानको अर्थ हुने रहेछ। लेखको प्रभाव बलियो पार्न जान्नुपर्ने अर्को कुरा थियो, राम्रो जर्नल कसरी छान्ने ? 

चम्किला सबै सुन हुँदैनन्

प्रायः सम्पादकले समीक्षा अघि बढ्ने वा लेख अस्वीकृत हुने जानकारी केही हप्तामा दिन्थे। समीक्षा अघि बढेमा तीन महिनामा घटीमा दुईजनाको टिप्पणी आउँथ्यो। त्यसपछि थप काम सक्न तीनदेखि छ महिना। सबैसँग सहमत हुनैपर्छ भन्ने हुँदैनथ्यो। तर नभए किन सहमत नभएको भनी विश्वस्त पार्ने तर्क पेस गर्न सक्नुपथ्र्यो। यी कुराको निगरानी सम्पादकले राख्थे। यस्तो प्रकाशन प्रक्रियाप्रति तब झनै सम्मान बढ्थ्यो, जब अर्धविराम र पूर्णविराम हटाउन/थप्न पनि सम्पादकले मेरो अनुमति माग्थे। किनकि छापिएपछि लेखको अपनत्व लेखकले लिनुपर्छ। ख्याति कमाएका प्रकाशकले छाप्ने प्राज्ञिक पुस्तक पनि यस्तै मिहीन प्रक्रियाले अघि बढ्छन्। जे लेख्यो त्यही छापिने भन्ने हुँदैन।

समाजविज्ञानका जर्नलहरूले औसतमा तीन महिनामा लेख स्वीकृत भए/नभएको निर्णय पठाउँछन्। तर १५० वर्षदेखि छापिआएको ‘नेचर’ जर्नलबारे प्राज्ञिक जगत्मा एउटा ठट्टा छ। भनिन्छ, आफ्नो प्रस्तावित लेख ‘नेचर’मा दुई घण्टाभन्दा बढी टिक्यो भने भाग्यमानी सम्झे हुन्छ। किनकि त्यहाँ अधिकांश मस्यौदा पन्ध्र मिनेटमै अस्वीकृत हुन्छन्।

विश्वसनीयता र गुणस्तरका दृष्टिले ‘नेचर’ संसारकै उत्कृष्ट जर्नलमा गनिन्छ। यसको इम्प्याक्ट फ्याक्टर ४१.६ छ। यसको अर्थ छापिएको दुई वर्षभित्र ‘नेचर’का लेख औसतमा ४१ पटक अरूले उद्धृत गर्ने गर्छन् भन्ने हो। ‘नेचर’मा एउटै लेख छपाउने अनुसन्धाताले करिअरमा एकैपटक दस फड्को मार्छ भनिन्छ। त्यसैले विज्ञान विधामा लागेका कतिपयको धोको जीवनमा एकपटक ‘नेचर’मा लेख छाप्ने भन्ने हुन्छ। 
समाजविज्ञान अन्य विज्ञानको यो अंकगणितबाट अलि पर छ। यहाँ विषयहरू फराकिलो हुन्छन्। अरूले छिटै उद्धृत गर्ने सम्भावना पनि कम। त्यसैले इम्प्याक्ट फ्याक्टरबाट समाजवैज्ञानिक जर्नलको स्तर निर्धारण गर्न गाह्रो हुन्छ। त्यसको सट्टा जर्नलको समीक्षाको गुणस्तर, छाप्ने संस्था, सम्पादक र सम्पादकीय मण्डलको प्राज्ञिक साखलाई गुणस्तर जाँच्ने अतिरिक्त आधार मानिन्छ। धेरैजसो मुलुकमा सर्वमान्य प्राज्ञिक संस्थाले यस्तै मापदण्ड बनाई समाजवैज्ञानिक जर्नललाई क, ख, ग, घ गरी वर्गीकरण गर्छन्।

जर्नलजस्तै लेखकका प्रभाव नाप्ने आधार पनि बनाइएका छन्। कुल उद्धृत संख्या (साइटेसन इन्डेक्स), दसभन्दा बढी पटक उद्धृत भएका लेखहरूको संख्या (आई-टेन इन्डेक्स) जस्ता धेरै मापदण्ड प्रचलनमा छन्। गुगल स्कलर एउटा उदाहरण हो। तिनको विश्वसनीयताबारे प्रश्न उठिरहन्छन्। तर पनि कम्तीमा यहाँ एउटा पद्धति छ र तिनलाई अझै स्तरीय बनाउने प्रक्रिया जारी छ। यिनै ओजले तानिएर म पनि होमिएँ जर्नल लेखको संसारमा।

रौसिएँ र पछारिएँ

केही वर्षको अनुसन्धान अनुभव थियो। दुईचार जर्नल लेख पनि छापिएपछि विद्यावारिधिका लागि पूर्ण छात्रवृत्तिसहितको अफर पाएँ। त्यसपछि अलि रौसिएछु। अब त सुरक्षाशास्त्रमा संसारकै प्रतिष्ठित जर्नलमा छपाउँछु भन्ने लाग्यो। पीएचडी सुरु गरेको तीन महिना पनि भएको थिएन, बडो रहरले एउटा लेख तयार पारेँ। अनि र्‍यान्डल स्वेलरजस्ता नामी प्रोफेसरले सम्पादन गर्ने ‘सिक्युरिटी स्टडिज’मा पठाएँ। के खाएर छापिनु ? समीक्षामै पनि गएन। शान्ति प्रक्रिया बिगार्ने विदेशी नै हुन् भन्ने खालको थियो। सम्पादकले झाँको झारेर गाली गरी पठाए। त्यस्तै भयो, ‘इन्टरन्यासनल स्टडिज’मा पनि। चाहेँ भने जहाँ पनि छाप्न सक्छु भन्ने मेरो अभिमान त्यसपछि चाहिँ लत्याकलुत्रुक्कै भुइँमा सुत्यो। त्यसपछि त्यतिबेलासम्मका आफ्ना सबै कामको पुनःसमीक्षा गरेँ। सिद्धान्तहरूको अध्ययन गर्न थालेँ।


>>> यो पनि पढ्नुस्ः पर्दाभित्रको प्राज्ञिक कसरत


व्यक्तिगत पूर्वाग्रहलाई साँचो थुनेर कसरी मिल्काउने भन्ने सिक्नेतर्फ लागेँ। जस्तै मधेसबारे अनुसन्धान गर्दा हामी आफ्नो पहाडी पहिचानलाई मस्तिष्कबाटै झिकेर त्यो पीडा अनुभव गर्न सक्छौं कि सक्दैनौं ? एकचोटि नेपाली नभईकन भारतबारे तटस्थ विचार मन्थन गर्न सक्छौं कि सक्दैनौं ? हाम्रा विचारहरू हाम्रो पहिचानसापेक्ष भइदिए भने कसरी हुन्छ निरपेक्ष ज्ञानको सिर्जना ? समाजविज्ञानको एउटा धर्म भनेको ‘डिट्याच्ड वन्डर’ (असंलग्न चिन्तन) हो। मैले सिकेको कुरा— समाजसँग संलग्न होऊ, विभिन्न कोणबाट परिघटनालाई बुझ। तर विश्लेषण गर्दा आफूलाई सबैबाट अलग्याऊ। 

फेरि उठेँ

गुरुले समेत घटनाक्रमको विश्लेषण गर्दा सिद्धान्तहरूलाई नबिर्सनू भनेका थिए। धेरै वर्ष बहस र प्रतिबहसले खारिएर मात्रै स्थापित हुन्छन् सिद्धान्त। ती समाजलाई बुझ्ने आधारशिला हुन्। अन्यत्रका अनुभव र सिद्धान्तसँग जुधाएर तथ्यको विश्लेषण गर्न थालेपछि बिस्तारै मेरा लेख खारिँदै गए। त्यसपछि उत्कृष्ट मानिएका जर्नलमा लेख क्रमशः स्वीकृत हुन थाले। सुरक्षा क्षेत्र सुधारका परियोजना द्वन्द्वग्रस्त मुलुकमा किन प्रभावकारी छैनन् भन्नेबारेको लेख द्वन्द्वशास्त्रका हस्ती अलिभर रिच्मन्ड र रजर म्याक्गिन्टीद्वारा सम्पादित जर्नल ‘पिसबिल्डिङ’मा छापियो। हुन त यो पनि विदेशी शैलीप्रति आलोचना गरिएको लेख थियो। तर अस्वीकृत भएन किनकि यसमा तथ्य, तर्क र सिद्धान्तका कमजोरीलाई दस द्वन्द्वग्रस्त मुलुकका अनुभवले छर्लंग पारिएको थियो। यस्तै, अस्ट्रेलियन पलिटिकल स्टडिज एसोसिएसनले ‘क’ वर्गमा राखेको ‘थर्ड वल्र्ड क्वाटर्ली’मा अर्को लेख स्वीकृत भयो। त्यो नेपालमा सुरक्षा क्षेत्र सुधारका लागि गरिएको बेलायती प्रयासबारे थियो। 

उत्कृष्ट जर्नलमा छापिनेबित्तिकै राम्रा अन्य जर्नलले समीक्षक बन्न आग्रह पठाउन थाले। यो क्षेत्रमा समीक्षक बन्नलाई पनि केही विधागत उपलब्धि देखाएको हुनुपर्छ। अमेरिकाको नोभा स्टेट विश्वविद्यालयबाट छापिने ‘पिस एन्ड कन्फ्लिक्ट स्टडिज’ र केनेसअ विश्वविद्यालयको ‘पिसबिल्डिङ एन्ड डिभेलप्मन्ट’ र नेदरल्यान्डको इरास्मस विश्वविद्यालयबाट छापिने ‘डिभेलप्मन्ट एन्ड चेन्ज’जस्ता जर्नलका लागि समीक्षक भएँ। यसरी समाजविज्ञानका स्थापित जर्नलसँग काम गर्ने नेपाली धेरै छन्। जस्तै, नटर्ड्याम विश्वविद्यालय अमेरिकामा माधव जोशी, नर्थ जर्जिया विश्वविद्यालयका विवेक चन्द, न्यु इंग्ल्यान्ड विश्वविद्यालय अस्ट्रेलियामा डीबी सुवेदी इत्यादि। त्योभन्दा प्रतिकूल प्राज्ञिक परिवेशमा नेपालबाटै प्रत्यूष वन्त, देवराज हुमागाईं र लोकरञ्जन पराजुलीजस्ता लेखक/सम्पादकले यस्तो प्राज्ञिक रथ हाँकिरहेका छन्।

अदृश्य तक्मा

न्यु इङ्ल्यान्ड विश्वविद्यालय छँदा राजनीतिशास्त्र तथा अन्तर्राष्ट्रिय अध्ययन विभागभित्र लामो करिडर थियो। दायाँबायाँ लस्करै अध्यापक, प्राध्यापक र पीएचडी शोधार्थीका कार्यालय। राम्रा अनुसन्धाताको ढोकामा तिनका जीवनका सर्वोत्कृष्ट र पछिल्लो जर्नल लेखका पहिलो पृष्ठ टाँसिएका हुन्थे। तिनले यसरी टाँस्थे कि त्यो तिनको जीवनको भिक्टोरिया क्रस नै हो। हुन पनि हो। 

प्राज्ञिक लेख छपाइरहन कामको समयले मात्रै पुग्दैन। व्यक्तिगत समय र अन्य चाहनालाई पनि तिलाञ्जलि दिनुपर्छ। त्यसैले कुनै लाभ वा आशबिनै ज्ञानको सिर्जनामा लागेका जर्नलका सम्पादक र लेखकहरूप्रति अगाध सम्मान लाग्छ। आफैंलाई पनि जर्नलमा लेख छापिएपछि घनीभूत आनन्द आउँछ। दसैं, तिहार, नयाँ वर्ष, छठ एकैपटक आएजस्तो लाग्छ। किनकि आफूले गरेको अनुसन्धान, सैद्धान्तिक विश्लेषण र अघि सारेको तथ्य र तर्कलाई फराकिलो प्राज्ञिक समुदायले प्रश्न/प्रतिप्रश्न गरी अनुमोदन गरेको उपलब्धि हो जर्नल लेख। यसले विचारले खारिन र अरूको विचारप्रति सहिष्णु हुन पनि सिकाउँछ।

सहिष्णु र निष्पक्षता

क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयले ९१ वर्षदेखि ‘प्यासिफिक अफेयर्स’ भन्ने जर्नल छाप्दै आएको छ। सन् २०१६ मा यसका सम्पादकको इमेल आयो। इन्द्र अधिकारी लिखित ‘मिलिटरी एन्ड डेमोक्रेसी इन नेपाल’ पुस्तकको समीक्षा गरिदिन भनिएको रहेछ। केही जर्नलले समीक्षाको उदाहरणीय अभ्यास गरेका छन्। हाम्रो अखबारे शैलीजस्तो चिनेको लेखकको समीक्षा पठाउने र प्रचार गरिदिने भन्ने हुन्न। सम्पादक मण्डलले पुस्तकको विषय हेरी योग्य समीक्षक छान्छ। लेखकसँग कुनै स्वार्थ बाझिएको छ भने पहिल्यै खुलाउनुपर्छ। मलाई पठाइएको निर्देशिकामा इन्द्र अधिकारीको पुस्तकका सबल र सुधारयोग्य पक्ष दुवै बराबरी केलाउनुपर्ने भनिएको थियो। करिब आधा लेखमा त दुर्बल पक्ष केलाउनुपर्ने भयो। अब यसले इन्द्र दिदीसँगको सम्बन्धमा के असर पार्ला भन्ने चिन्ता थियो। तर समीक्षा छापिएपछि उहाँले कमजोरीलाई पनि सहजै स्विकार्नुभयो। स्वस्थ बौद्धिक विमर्शले सिकाउने यो अर्को उल्लेख्य गुण हो। 

हामीकहाँ समीक्षक र लेखकबीच समीक्षाले नै गर्दा पानी बराबर भएको मैले देखेको छु। जर्नलमा लेख छाप्नका लागि गैंडाको जस्तो छाला हुनु जरुरी हुन्छ भनिन्छ। जस्तोसुकै वैचारिक आक्रमणलाई पनि खप्न सक्ने। तर हामीकहाँ ज्ञानको साधना गर्ने पीएचडी सकिसकेका मान्छेले आफ्नो विचारप्रति असहमत हुने प्रश्नकर्तालाई प्रज्ञा-प्रतिष्ठानको मञ्चबाटै जुत्ता हानेको उदाहरण ताजै छ। जर्नल संस्कृतिले फरक विचारको सम्मान गर्ने पद्धति बसाल्छ।

अबको बाटो

समाजविज्ञानमा अनुसन्धानको मूल उद्देश्य समाज बुझ्नु वा सामाजिक विकाससम्बन्धी सरकारी नीतिलाई परिष्कृत पार्नु हो। तर हामीकहाँ अनुसन्धाता र नीतिनिर्माताबीच उति तादात्म्य देखिँदैन। जर्नल लेखलाई लक्षित वर्गसम्म पुगेको सुनिश्चित गर्न अनुसन्धाता पनि चुकेका छन्। पहिलो कुरा, राम्रो जर्नलको ग्राहक बन्न हाम्रा विश्वविद्यालय र अनुसन्धान संस्थालाई बजेट पुग्दैन। दोस्रो, विश्वभरका लक्षित पाठकमा पुग्न अंग्रेजीमा लेख्नुपर्छ। तर, सबै नीतिनिर्मातालाई अंग्रेजीमा लेखिएको लेख पढ्न सहज लाग्छ भन्ने हुँदैन। यसको उत्तम विकल्प नेपालबाट छापिने जर्नललाई प्रोत्साहन दिनु र नीति परिवर्तन गर्दा तिनको भर पर्नु नै हो। 

प्राज्ञिक जगत्मा एउटा कथन छ, ‘पब्लिस अर पेरिस’ (कि छपाऊ, कि बिलाऊ)। असल साधक बन्न ज्ञान उत्पादनको बहसमा निरन्तर होमिरहनुपर्छ। ज्ञानलाई पुज्ने संस्कारमा यसरी ज्ञान प्राप्तिको साधना गर्नेको सम्मान हुन्छ। समाजले हिँडिरहेको बाटोमा आइपर्न सक्ने खाल्डाखुल्डी, चट्टान र अप्ठ्याराहरूबारे समाजलाई सजग गराउनु अनुसन्धाताको धर्म हो। जिन्दगीमा यो यात्रा कहिल्यै नसक्कियोस् भन्ने लाग्छ। इतर विचारहरूमाथि पनि सभ्य, स्वस्थ र निर्भय बहस गर्न पाइयोस्। व्यक्ति होइन, विचारमाथि बहस गर्न सकौं र आलोचनालाई खप्ने सामथ्र्य राख्न सकौं। नेपाल र संसारका कुना-कुनामा बसेर अहोरात्र यो प्राज्ञिक कर्ममा लागेका सबैलाई नमन।


अस्ट्रेलियाको क्विन्सल्यान्ड सरकारमा वरिष्ठ नीति सल्लाहकार @TextSafal ले द्वन्द्व, शान्ति तथा अन्तर्राष्ट्रिय अध्ययनमा विद्यावारिधि गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.