डाँडाटोलका सुस्केरा !
सिरहा : लहान नगरपालिका–२४ डाँडाटोलकी सीता विश्वकर्मा एकाविहानै भाँडाकुडा बोकेर धारा नजिक उभिएकी छन्। उनीसँगै छन्, रामकली विक, ललिमाया विक लगायत गाउँका अन्ये महिला पनि।
विद्यालयको धारा नजिक २ घण्टा उभिदा पनि पानी आएन। कारण थियो, विजुली। भोल्टेज नपुगेपछि मोटर चलेका थिएन। यो टोलका ४५ घरपरिवारले दलित भानुभक्त आधारभुत विद्यालयमा रहेको एउटै मोटरबाट पानी लिन्छन्। भोल्टेज नभएर मोटर नचलेको दिन उनीहरु रितै घर फर्किन्छन्।
न मोटर, न इनार कतैबाट पानी नआएपछि उनीहरु छिमेकी गाउँ रन्हा, खेस्राहा र झुटकी पुग्ने गर्छन्। जीवन चलाउनका लागि खर्चिने समय पानी ओसार्नमै बित्ने गरेको दुःखेसो स्थानीयको छ। ‘हामीले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ,’ पानी भर्न उभिएकी सिताले भनिन्,‘विजुलीमा भोल्टेज छैन्, बत्ती राम्रोसँग बल्दैन्। विजुलीको समस्या लिएर वडा, विद्युत कार्यालय, सांसद, नेता सबैकहाँ धाइयो। कुनै सुनुवाई भएन्।’
पल्लो गाउँमा पानी लिन जाँदा थरिथरिका कुरा सुन्नु परेको उनले सुनाइन्। विद्यालयदेखि अगाडीको वस्तीमा दुई वटा इनार छन्। दुवैमा अलिअलि लेदो मिसिएकै भएपनि पानी आउँछन्। त्यही पानी छानेर उनीहरुले खाने गरेका छन्। ‘एकदिन अगाबै इनारबाट पानी तानेर छानेर राख्नुपर्छ,’ किमाया बसेलले भनिन,‘कुनै उपाय नलागेर फोहोर पानी भएपनि खाएर बस्नु परेको छ।’
फोहोर पानी खादाँ बालबालिकाहरु विरामी परेको उनले सुनाइन्। जेष्ठ महिनामा गएर इनारको पानी सुकेपछि छिमेकी गाउँबाट पानी ल्याएर खानुपरेको उनीहरुको वाध्यता छ।
‘पहिले त खोला, पोखरीकै पानी खाएर बस्नु परेको थियो,’ विशे सदायले भने,‘केही वर्ष पहिले इनार भयो, अब इनारमा पनि लेदो मिसिएको पानी आउँछ ।’ गाउँमा विजुलीको सुविधा भए मोटर लगाएर खानेपानीको समस्या हट्ने उनले सुनाए। डाँडाटोल जस्तै, सिरहाको चुरेक्षेत्रका गाउँहरुमा सुख्खा मौसम सुरु भएसँगै खानेपानीको हाहाकार हुन थाल्छन्। यस्तो मौसममा खानेपानीको श्रोत इनार,ट्यूबेल,कुँवा र तलाउहरु प्रायजसो सुक्ने गर्छन्।