सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा
जाजरकोट : जाजरकोटलगायत कर्णाली प्रदेशका डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले लोपोन्मुख जंगली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन थालेको छ।
टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम सुरु गरेको हो। अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ। कर्णालीमा अपार प्राकृतिक सम्पदा, जंगल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको छ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए। जाजरकोटमा हाब्रे लगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई से फोक्सुन्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्न सके कर्णालीको परिचय फेरिने उनले बताए।
बस्नेतले भने, ‘हामी अब विकट, गरिबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वसामू कर्णाली भन्नेबित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौं, त्यसकै आधारमा लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ।’