हराउँदै भजन संस्कृति
बेँसीसहर : पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएको छ। यससँगै मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको छ।
पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुट्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको छ। तर पछिल्लो समय लमजुङका गाउँघरमा यो संस्कृति ओझेलमा मात्र परेको छैन, बिस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ।
शिवरात्रि, बालाचतुर्दशी, हरिबोधनी एकादशी, सत्यनारायण पूजालगायत धार्मिक उत्सवमा आयोजना गरिने भजनकीर्तनबाट पुण्य मिल्ने लमजुङवासी चन्द्रकान्त पौडेलको विश्वास छ। भजनकीर्तनमा पौराणिक कथाका पात्रहरूको महिमा तथा चरित्र वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ।
देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकीर्तनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउनसमेत सजिलो हुने गरेको बूढापाकाको अनुभव छ। तर पछिल्लो पुस्ता यसप्रति उदासीन हुँदा भजन संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता अर्का स्थानीयवसाी कुलप्रसाद पौडेलको छ।
वरपर छरछिमेकका मानिसहरू जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुःखसमेत साटासाट गर्दा बैग्लै आनन्द महसुस हुने गरेको स्थानीयवासी बताउँछन्। लोकसाहित्यको महत्त्वपूर्ण पक्ष मानिने भजन संस्कृतिलाई संरक्षण गर्न युवा पुस्ताले पनि तदारुकता देखाउनुपर्ने सरोकारवाला बताउँछन्। पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा पनि भजन संस्कृतिका झलकहरू देखाउने गरिएको छ।
भजनकीर्तनमा शिव महिमा, बालन, महाभारतजस्ता धार्मिक कथालाई गीतका रूपमा गाइन्छ। सृष्टिदेखिका भगवान्का लीला र अवतारहरूको वर्णन भजनमा प्रस्तुत गरिन्छन्। देवीदेवताको गुणगानमा केन्द्रित भजनकीर्तनको रौनकले थकाइबिना रात र दिन सजिलै कटाउने गरेको बूढापाकाहरूको अनुभव छ। यद्यपि पछिल्लो पुस्तामा यसप्रतिको आकर्षण घट्दै जाँदा भजन संस्कृति लोप नै हुने हो कि भन्ने अग्रजहरूको चिन्ता छ।
भजन संस्कृतिलाई लोकसाहित्यको एउटा महत्त्वपूर्ण पक्ष मान्ने गरिएको छ। बाबुबाजेको पालादेखि चल्दै आएको भजन संस्कृति धर्मशास्त्रमा आधारित भएको र धार्मिक महत्त्व रहेकाले यसको संरक्षणका लागि विशेष चासो दिनुपर्ने सरोकारवाला बताउँछन्।