चन्दलाई पारिजात अभिनव साहित्य पुरस्कार
काठमाडौं : अभिनव साहित्य समाजले २०७औं मासिक श्रृंखला र पारिजात स्मृति दिवस तथा ८३औं जन्मजयन्तीको अवसरमा बैतडीकी विमला चन्द सानुलाई पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार प्रदान गरिएको छ।
साहित्यकार डिल्लीराज अर्यालले नगद पाँच हजारसहित पहिलोपटक उक्त पुरस्कार शनिबार सानुलाई प्रदान गरेका हुन्। वसन्त रिजाल र अभिनवको अगुवाइमा गत वर्ष पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार नामको कोष स्थापना गरेको छ । सोही कोषको ब्याजबाट हरेक वर्ष एकजनालाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो।
पुरस्कार प्राप्त व्यक्ति र पारिजातको विषषयमा मित्रलाल पंज्ञेनी र प्रमुख अतिथि अर्यालले प्रकाश पारेका थिए। कार्यक्रममा वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राई, डा. शेषराज आचार्य, शीतल गिरीले समेत मन्तव्य राखेको थिए।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बद्रीप्रसाद सुवेदी, धनप्रसाद लामिछाने, कर्मशाही घर्तीमगर र नोर्बु घेलेलाई उत्कृष्ट रचना वाचन गरेवापत विभिन्न पुस्तक पुरस्कार दिएर सम्मान गरिएको थियो । कार्यक्रममा ४१ जना कविले सिर्जना वाचन गरेका थिए।