डढेलोबाट घर बचाउन रातभर जाग्राम
सन्धिखर्क : अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० सिद्धारा बहखोरका ५१ वर्षीय ओमबहादुर सारु तीन दिनदेखि रातभर जाग्राम बसेका छन्। घर नजिकै जंगलमा लागेको आगो घरमा सल्कने डरले उनको घरपरिवार रातभर जाग्राम बसेको हो। ‘घर नजिकैको जंगल डढेलोले सखाप पारिसक्यो, कुन बेला घरमा आगो सल्किने हो, न दिनमा भोक छ न त रातमा निद्रा,’ सारुले गुनासो गरे।
आगलागीकै कारण शीतगंगा–१० सिद्धाराका अधिकांश सर्वसाधारण आगलागीको जोखिमले रातभर जाग्राम बस्नुपरेको छ। नगरपालिकाका हजारभन्दा बढी घरपरिवार आगोको जोखिममा छन्। जंगलमा आगो लागेपछि त्रासमा बस्नुपरेको शीतगंगा–१० का अध्यक्ष हिम्मत पोखरेलले बताए।
ठाडा, सिमलपानी, सिद्धारा, जलुकेका अधिकांश वनमा एक सातादेखि डढेलो लागिरहेको छ। अहिलेसम्म अर्घाखाँची भर ५ हजार हेक्टर वन क्षेत्र डढेलोले सखाप पारेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत शिला पोखरेलले बताइन्। शीतगंगाका ५ सामुदायिक वन र अन्य स्थानबाट गरी १० स्थानबाट आगो सल्किएको छ। जताततै लागेको डढेलो नियन्त्रणको प्रयास भइरहे पनि जंगल क्षेत्र धेरै भएकाले समस्या भएको उनले बताइन्।
वडा नम्बर ८ को फुर्के सल्लीमा दुई दिनअघि वनमा लागेको डढेलो बस्तीमा पस्दा तीन घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। यसै साता जिल्लाभर पाँच घर जलेर नष्ट भएको र दर्जनौं चौपाया मरेको मल्लले जानकारी दिए।
८० प्रतिशत भूभाग वनले ढाकेको यस क्षेत्रमा धेरैजसो घर खरको छाना भएको हुनाले पनि यस क्षेत्रमा आगलागीको उच्च जोखिम भएको हो। यस क्षेत्रमा बर्सेनि आगलागी हुने गर्छ। डढेलो नियन्त्रणमा लिन अग्निरेखा कोर्ने, सचेतना जगाउने काम निरन्तर भइरहेको जिल्ला वन कार्यालय अर्घाखाँचीले जनाएको छ।