त्रिवि एसियाको तीन सय नम्बरमा
काठमाडौं : मुलुकको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) एसियाको उत्कृष्ट तीन सय विश्वविद्यालय भित्र परेको छ।
बेलायतको द टाइम्स हाएर एजुकेसनले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा त्रिवि २५१-३०० औं स्तरमा सूचीकृत भएको त्रिविले जनाएको छ।
उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी संख्या, छात्राको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेखमा गरिएका साइटेशनलगायतलाई आधार मानेर विश्वविद्यालयको मूल्यांकन गरेको थियो।
विश्वविद्यालयभित्र अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्यालगायत मुख्य सूचकलाई पनि अध्ययनको आधार मानिएको थियो।
त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा भाग लिएको थियो। यसअघि गतवर्ष यही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१-१००० औं विश्वविद्यालयको सूचीभित्र त्रिभुवन विश्वविद्यालय परेको थियो।
‘यो उपलब्धिबाट हामी थप उत्साही भएका छौं र विश्वविद्यालयलाई यो उत्कृष्टताको यात्रामा थप उचाईं उपलब्ध गराउन हामी क्रियाशिल रहनेछौं’, विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले भने, ‘हामीलाई विश्वास छ, हामी सबैको प्रतिबद्धताबाट भविष्यमा त्रिविले विश्वमा अझ उच्च स्थान हासिल गर्नेछ।’ एसिया विश्वका सबै भन्दा धेरै विश्वविद्यालय रहेको महादेशमा पर्छ।