परराष्ट्रमा बेथिति
विश्व राजनीति अनुदारवादउन्मुख छ। यस्तो अवस्थामा लय मिलाउँदा नेपालजस्तो सानो र भूराजनीतिक महत्त्वमा परेका मुलुकका लागि घातक सावित हुन्छ। नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहले अघि बढाएको सन्तुलित कूटनीति यतिबेला पनि उत्तिकै सान्दर्भिक छ। उनको निधनपछि बिथोलिएको कूटनीतिलाई जंगबहादुरले अंगीकार गरे। उनको चतुर्याईं अहिले सान्दर्भिक नभए पनि त्यतिबेलाका लागि उपयोगी थियो। दुई भीमकाय छिमेकीबाट बचाएर यहाँसम्म ल्याएको पुरानो मुलुक नेपालले कूटनीतिक सम्बन्ध सन्तुलित राख्ने सम्बन्धमा चुक्न हुँदैन।
पछिल्लो समय सत्तामा रहनेहरू चुक्दै गएका छन्। एकअर्का छिमेकीलाई विकल्पको रूपमा प्रयोग गर्न थालेका छन्। राणाशासन अन्त्यपछि महेन्द्रकालीन समयमा विश्व राजनीतिमा नेपाल अग्रसर रह्यो, चिनिन थाल्यो। अन्य आन्तरिक विषय फरक रहे पनि विश्व राजनीतिमा नेपाल त्यतिबेला देखियो। ०४६ को परिवर्तनपछिका केही वर्षसम्म पनि नेपाल विश्व राजनीतिमा दृश्यमा थियो। कूटनीतिमा एक प्रकारको उत्साह नै थियो। त्यसपछिका राजनीतिक खिचातानीले कूटनीति एउटा साँघुरो घेरामा सीमित हुँदै गयो।
दुई छिमेकीलाई एकअर्काविरुद्ध प्रयोग गर्ने तहमा हामी झर्दै गयौं। मुलुकको लागिभन्दा आफ्ना लागि कूटनीतिक च्यालन उपयोग गर्न थाल्यौं, जसले गर्दा मुलुक कमजोर हुँदै गयो। अनि, आन्तरिक राजनीतिमा छिमेक हावी हुन थाल्यो। ०६२/६३ को लोकतान्त्रिक आन्दोलन विदेशीहरूको उपस्थिति स्पष्ट देखियो। कूटनीति सञ्चालन गर्ने थलो सरकारको आँखामा आएन। जसले गर्दा झन् व्यथिति बढ्दै गयो। विदेशीका आँखा ख्याल गर्ने उक्त निकाय चुक्दै गयो। विदेश भ्रमण मोहले कूटनीतिलाई थिच्यो। आफन्त मोह बढ्दै गयो। योग्य होइन आफ्ना मानिस हावी भए। अनुभव र अध्ययनमा नखारिएकाको नेतृत्वमा परराष्ट्र मन्त्रालय पुग्यो।
कर्मचारीले राजनीतिज्ञलाई विभिन्न मोहमा पारेर डोर्याउन थाले। गुमराहमा राख्दै आए। केही नयाँ गर्न खोजेका कूटनीतिमा मिल्दैन भन्ने शब्द उच्चारण गरे। तर त्यो के हो कहिल्यै भन्न सकेनन्। मन्त्रालय पुनः संरचना गर्ने अध्ययन दराजमा थन्काउने र पटकपटक आफूअनुकूलको अध्ययनका लागि टोली गठन गर्ने काम मात्र भए। महाशाखाको जिम्मेवारी व्यवस्थापन गर्न नसक्नु, वैदेशिक टिकट जथाभावी गर्नु, विदेशस्थित घरभाडा स्पष्ट नखुलाउनु, राजनीतिक आस्थाका आधारमा राजदूत नियुक्त हुनु, परराष्ट्रमा एकपटक परीक्षा दिएर गएकाहरूले बाहिर बसेर खारिएकाहरू कूटनीतिक अनभिज्ञ ठान्नु आदि रोगले मन्त्रालय ग्रस्त छ। सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै पुगेका राजदूतहरू आराम गरेर बस्दासमेत त्यसमा खोजी नहुनु, उनीहरूले गरेका अनियमितता महालेखापरीक्षक र सञ्चारमाध्यममा आउँदा पनि ढाकछोप गर्नु, भवन खरिदभन्दा भाडामा जोड दिनुलगायतका विकृति र विसंगति २०४६ सालपछि सुरु भए। अझै छ।
कूटनीतिको मुख्य आधार अर्थात् मियो नै परराष्ट्र मन्त्रालय हो। यो मन्त्रालयमा रहनेले यस्ता विषयमा ध्यान दिन आवश्यक छ। मुलुकको भविष्य हेर्नुपर्छ। बहस गर्नुपर्छ, थिंकट्यांकको उपयोग गर्न सक्नुपर्छ। सबै कर्मचारीले देखेको मात्र सत्य हुँदैन। परराष्ट्रमा काम गर्नेहरू कूटनीतिज्ञ हुनुपर्छ। मन्त्रालयमा चीनविज्ञ, भारतविज्ञ, अमेरिकाविज्ञ, गैरआवासीय नेपालीको अध्ययन गरेका व्यक्ति, खाडीको राजनीतिकविज्ञ खोज्दा भेटिँदैन। अन्तर्राष्ट्रिय भाषामा समेत कमजोर त छन नै, अन्य भाषा छैन। यस्तै कारणले हामी बारम्बार कूटनीतिमा चुक्ने गरेका छौं।