खोइ नेताजस्ता नेता ?
जसको पछाडि नागरिकको ठूलो समूह हुन्छ, त्यो व्यक्ति नेता हो। तपाईंका पछाडि कति समर्थक छन् भन्ने मापन पनि त्यही समूहले गर्छ। चरित्र र संस्कारलाई चिन्न नसक्दा नेतामाथि ‘फलोअर’ हरूको विश्वास घट्दै गएको छ। कुनै नेताले मनपरी बोल्छ भने उसका समर्थक घट्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसका उदाहरण हुन्। केपी ओलीमा पनि त्यसको छाया देखिन थालेको छ।
संसद्मा उनको ‘निम्छरो’ प्रस्तुतिले त्यही संकेत गर्छ। दुईतिहाइ मनपरीका लागि होइन, थिएन। यही परिस्थिति विद्यमान रहे के होला? नागरिक चाहन्छ, ‘मेरो नेता समाजमा रोलमोडल होस्।’ समाजमा रोलमोडल हुन नसक्ने व्यक्तिलाई नेता मान्न सकिन्न।
प्रसिद्ध अमेरिकन नोबेल प्राइज विजेता पिटर ड्रुकर भन्छन्, ‘फलोअरसिपबारे सोच। नेता राम्रो भएन भने समर्थक पनि हुँदैनन्। खाँचो त ‘अनुसरणकर्ता’ को हो, जो तपाईंको मार्ग पछ्याउन चाहन्छ।’ हो, समर्थक जो पनि हुन सक्छ तर अनुसरण गर्नेको संख्या बढ्यो भने त्यो व्यक्ति प्रसिद्ध हुने हो। महात्मा गान्धीका समर्थक थिएनन्, अनुसरणकर्ता धेरै भए। आज गान्धीलाई सिंगो भारतले रोलमोडल मान्छ। नेपाली समाजले बीपी कोइरालाको अवशानपछि रोलमोडल पाउन सकेन।
अहिलेका राजनीतिज्ञमा क्षणिक समर्थकको भीड छ। खराबमध्येको कम खराब रोज्नुपर्ने नागरिक बाध्यताकै उपज हो उक्त परिस्थिति। भोलिको पुस्ताले अनुसरण गर्नलायक पत्र आजको मितिसम्म देखिएको छैन। आज आफूलाई सर्वमान्य नेता ठान्नेका समर्थक घट्ने क्रम बढ्दो छ। प्रेसको घाँटी निमोठ्ने कानुन निर्माणको प्रयाससँगै भएका क्षणिक समर्थक पनि घटेर विरुद्धमा सडकमा उभिनुपर्ने अवस्थामा पुगेका छन्। प्रेसविरोध कानुन बन्यो भने त्यो सरकारकै लागि आत्मघाती कदम हुनेछ। पालनकर्ताका लागि केही दिनको अप्ठेरो मात्रै हो।
निष्ठाको अवशान
निष्ठा, इमान, नैतिकता र संस्कारले राजनीतिमा महत्त्वपूर्ण स्थान ओगट्छ। यी चार चीजविनाको राजनीति अन्धो र अपांग हुन्छ। सुकिला दौरा–सुरुवाल लगाएर उभिएकै भरमा राजनीति हुँदैन। उभिने व्यक्तिमा इमान, निष्ठा, नैतिकता र संस्कार चाहिन्छ। राजनीतिमा यी सबैको अभाव खटकिएको छ। सिद्धान्तको राजनीतिले पनि आफ्नो ट्र्याक छोडिसकेको छ। त्यसो त अघिल्लो पुस्ता (गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी) को अवशानसँगै सिद्धान्तको राजनीतिले ट्र्याक छोडेको हो।
यतिबेला राजनीति असाधारण स्थितिको सम्भाव्य यात्रातर्फ उन्मुख छ। राजनीतिलाई ‘सर्भाइभ’ गराउन कठिन हुँदै छ। हो, परिवर्तनकारी शक्तिले आमनागरिकको पहिचान र सामथ्र्य बढाउने आकांक्षा राखेको थियो। त्यसका लागि स्थिर सरकार सर्त थिए। त्यो सर्त पूरा भएकै हो। तर कथित राजनीतिज्ञका क्रियाकलाप, दुईतिहाइ सरकारको कार्यशैली र गतिले सकारात्मक सन्देश छोड्न सकेन।
नेदरल्यान्डका प्रधानमन्त्री साइकल चढेर कार्यालय जान्छन्। तर हाम्रो देश जहाँ प्रधानमन्त्री बाटो हिँड्दा सडक खाली राख्नुपर्छ। यो कायर मानसिकताको उपज नभए के हो?
सरकार र दलीय क्रियाकलापले राजनीतिलाई चुनौती दिइरहेको छ। आम नागरिकले धैर्य गरिरहेको छ। धैर्य कतिञ्जेल गर्ने भन्ने चुनौती नागरिकसामु तेर्सिएको छ। हो, देख्दा सरकार चलिरहेको छ। प्रधानमन्त्री र मन्त्री देश विकासको गति अब कसैले रोक्न सक्दैन भनिरहेका छन्। परिस्थिति भने विपरीत दिशातिर गइरहेको छ। सहिष्णु नागरिकको धैर्यको बाँध टुट्यो भने नवराजाहरूको दिनगन्ती सुरु हुनेछ। त्यो परिस्थिति ननिम्तियोस्।
संस्कारहीन राजनीति
राजनीतिमा स्थापित हुन संस्कारले विशेष महत्त्व राख्छ। संस्कार लेखेर वा घोकेर कण्ठस्थ पारी लागू गर्ने वस्तु होइन। न त्यो पैसाले किन्न सकिन्छ। सिकेर पनि थोरबहुत जान्न सकिन्छ तर संस्कार भन्ने वस्तु आफूभित्रैबाट आउनुपर्छ। अर्को व्यक्तिले उसको व्यवहारबाट त्यसको अनुभूत गर्नुपर्छ। राजनीतिक संस्कार पैसाले किनेर चलाउन खोज्नेहरूकै कारण हामी नेपाली पीडित छौं। कसैको फेरो समाएर स्थापित हुन खोज्नेहरूमा देखिएको राजनीतिक संस्कारकै कारण हामी पीडित भएका हौं। त्यस्तो राजनीतिको प्रभाव हरेक राजनीतिक दलमा परेको छ। जसका कारण आज देशमा दुईतिहाइको सरकार हुँदा पनि जनताले अनुभूत गर्न सकेका छैनन्।
धन थुपार्नु मात्र राजनीति होइन। राजनीति स्वार्थविनाको हुनै सकेन। राजनीति गर्नेको जीवनशैली सम्भ्रान्तको जस्तो छ। भाषणलाई आधार मान्ने हो भने निःस्वार्थ राजनीति गर्नेलाई कहाँबाट धनार्जन हुन्छ?राजनीतिलाई कमाइ खाने व्यवसाय बनाइँदा राजनीति शब्दकै अपमान भएको छ। समाज सेवाको भावना मरेर धनार्जनको भावना बलशाली भएपछि राजनीति शब्दले मात्रै आफैं के गर्न सक्छ र?सत्तापक्षमा दम्भ र घमण्ड मात्रै देखिन्छ भने प्रतिपक्षमा कथित नेता मात्र हुन राजनीति गर्नेको बाहुल्य छ। त्यस्ता नेतामा राजनीतिलाई सर्भाइभ गराउने एजेन्डा हुँदैन पनि। हो, केही युवा टक्रिएका छन् तर विकृत राजनीतिलाई सही दिशामा ल्याउन उनीहरूसँग पनि कुनै एजेन्डा छैनन्। किनकि उनीहरू पनि तिनीहरूकै पछि लागेका छन्, जसले नेताको हैसियत गुमाइसकेको छ।
देशविरुद्धमै लबिङ
हाम्रा पात्रहरूमा राजनीतिक संस्कार छ भने कोही कसैको गोटी नबनी देशभक्त बन्न सिक्नुपर्छ। बोलीमा लोकतन्त्र र राष्ट्रभक्त भएर मात्र हुँदैन व्यवहारबाटै देखिनुपर्छ। राष्ट्र, राष्ट्रियता अनि मात्र प्रजातन्त्र हो। देशको अस्तित्व नरहे केका लागि लड्ने?
राजनीतिलाई साँच्चिकै निरन्तरता दिने हो भने अन्तरपार्टी सञ्जाल गठन गरेर गुण र दोषका आधारमा सबैले सबैलाई हेर्ने दृष्टिकोण सार्वजनिक गर्नुपर्छ राष्ट्रलाई केन्द्रमा राखेर। विरोधका लागि विरोधले मात्र हाम्रो राजनीति अब चल्न सक्दैन। नेपाललाई खेलमैदान बनाउने विदेशी रणनीतिको सिकार नेपाली नै हुन्छ भने त्योभन्दा विडम्बना के हुन सक्छ?राजनीतिलाई सर्भाइभ गराउन पनि एकता अहिलेको आवश्यकता हो।
सम्भ्रान्त शैलीको परिचायक बनेका (जो आफूलाई ठूला नेता ठान्छन्) हरू जंगल जाने घुर्की लगाइरहेका छन्। गिरिजाप्रसाद कोइराला छैनन्, उनलाई जसरी घुर्की लगाएर आफ्ना एजेन्डा लागू गराउन सफल हुने दिन अब गए। हो, त्यतिबेला निहत्था मान्छे मार्ने क्रम रोक्नु कोइरालाको बाध्यता थियो, जनसमर्थन पनि। तर आज त्यो परिस्थितिबाट हामी निकै अघि बढिसकेका छौं। धर्मनिरपेक्षता र गणतन्त्र ल्याउँदा हाम्रो स्वाभिमान र स्वाधीन राष्ट्रको राष्ट्रियताको पहिचान चकनाचुर भयो, बनाइयो भन्ने महसुस आज परिवर्तन आवश्यक देख्नेले महसुस गरेको हुनुपर्छ। विप्लव क्रान्तिको उद्घोषलाई प्रतिबन्ध लगाउनुपर्ने स्थिति त्यसै आएको होइन।
अनुशासन, मितव्ययिता र असल संस्कार नेताहरूले जनतालाई सिकाउने हो। तर यहाँ फजुल खर्च गर्ने प्रवृत्तिलाई प्रोत्साहन मात्र दिइन्छ। नेदरल्यान्डका प्रधानमन्त्री साइकल चढेर कार्यालय जान्छन्। तर हाम्रो देश जहाँ प्रधानमन्त्री बाटो हिँड्दा सडक खाली राख्नुपर्छ। यो कायर मानसिकताको उपज नभए के हो?भीडसँग डराउने व्यक्ति कसरी नेता हुन सक्छ?
संसद् आज व्यक्तिनियन्त्रित भइरहेको छ। बहुमतको भीडले संसद्लाई बन्धक बनाएको छ। प्रतिपक्षीको कदर हुँदैन। संसद्को नेता पार्टी नेताको हैसियतमा रमाउन चाहन्छ। दुईतिहाइ यसैका लागि थियो त?माथि भनिए झैं अनुसरणकर्ता बनाउने कि समर्थकको अस्थायी भीड मात्र जम्मा गर्ने?जनताका प्रतिनिधिलाई बोल्न नदिएर राजनीति कसरी सर्भाइभ हुन्छ?
यतिबेला नागरिक समाजको चर्चा चलेको छ। अब त उठ्ने बेला भएन र?यही अवस्थाले निरन्तरता पायो भने अब हामी नेपाली भएर रहिरहन सक्ने अवस्था बाँकी छ रहला र? एघार प्रदेशका नयाँ कुराले हामीलाई कहाँ पु¥याउला? यो प्रश्नले नेपालीलाई मात्र होइन, चीनलाई पनि झस्काएको हुनुपर्छ। अब ‘गोटी’ होइन, अनुसरणकर्ता बटुल्ने बाटोमा हिँडे मात्र राजनीति सार्थक हुनेछ। पराई समर्थक बाटोले व्यक्ति केही समयका लागि लोकप्रिय होला, दीर्घकालका लागि देशलाई फाइदा हुनेछैन।