कुलेखानी तेस्राेकाे परीक्षण १५ दिनभित्र

कुलेखानी तेस्राेकाे परीक्षण १५ दिनभित्र

काठमाडौं : १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको संरचना तथा उपकरणको परीक्षण जेठ दोस्रो साता पूरा हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको यो आयोजना १५ दिनभित्रमा सक्ने जानकारी दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो।

आयोजनाको विद्युत्गृहका उपकरणबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण १५ दिनभित्र सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीले जनाएका छन्। प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आइतबार नै समाधान गरिदिएको छ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ। ‘विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान करिबकरिब सम्पन्न भइसकेको छ। अहिले उपकरणको ड्राई टेस्ट भइरहेको छ, सुरुङ पेनस्टक पाइप हुँदै मेन इनलेटभल्वसम्मका सम्पूर्ण संरचना तथा उपकरण परीक्षण भइसकेको छ’, घिसिङले भने, ‘जतिसक्दो छिटो आयोजनाबाट विद्यत् उत्पादन गर्न सबै उपाय लगाइरहेका छौं।’ आयोजनाको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेड र त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनको लापरबाही र कमजोर कार्यसम्पादनका आयोजनाको निर्माण ढिलाइ भएको छ। कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलबाटै भारतमा रहेका हुसालका शरद गोल्छालाई टेलिफोन गरी अझै निर्माणमा लापरबाही गरे कम्पनीले अन्य स्थानमा लिएको ठेक्का टोडी कालोसूचीमा राख्ने चेतावनी दिए।

‘अझै पनि विभिन्न बहाना बनाएर कुलेखानी तेस्रोको निर्माण अवरोध गरी विद्युत् उत्पादन धकेले हुलासले लिएका अन्य प्रसारण तथा सबस्टेसन आयोजनामा विलम्ब जरिवाना तिराउँदै ठेक्का तोडेर कालोसूचीमा राख्छु’, उनले आक्रोशित हुँदै टेलिफोनमा गोल्छालाई चेतावनी दिए। ‘राष्ट्रिय महत्वको आयोजनाको काम सम्पन्न नगरेर मुलुकलाई बन्धक बनाउने ? योभन्दा ठूलो अवराध के हुन सक्छ ? ’

कम्पनीले विद्युत्गृह तथा प्रसार लाइन निर्माणमा संलग्न श्रमिकलाई तलब नदिएपछि उनीहरूले केही दिनअघि आन्दोलन गर्दै काम ठप्प पारेका थिए। प्राधिकरणले समस्या समाधानका लागि ठेकेदार कम्पनीलाई आइतबार नै पैसा दिनेछ। कम्पनीले श्रमिकलाई करिब १८ लाख रुपैयाँ दिन बाँकी छ।

प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणको आपूर्ति, जडान र संचालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट अशुल्ने निर्णय प्राधिकरणले गरेको थियो।

प्रसारण लाइनको तीनमध्ये दुईवटा टावरको निर्माण सकिएको छ। कम्पनीले बाँकी एउटा टावर खडा गरिरहेको छ। त्यसपछि ५ सय मिटर तार तान्नु पर्नेछ। ठेकेदार कम्पनीले यो काम एक हप्ताभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ। कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो। सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको हो। आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो। निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.