खुला दिसा ‘उन्मुक्त’ : शौचालय छ तर बाहिरै दिसापिसाब

खुला दिसा ‘उन्मुक्त’ : शौचालय छ तर बाहिरै दिसापिसाब

धनगढी : सुदूरपश्चिम प्रदेश एक वर्षअघि खुला दिसामुक्त भएको थियो। तर, अभियान प्रभावकारी नहुँदा यहाँका सहर–बजार दुर्गन्धित भएका छन्। प्रदेश सदरमुकाममा सार्वजनिक शौचालय छैन। अन्य जिल्लाको अवस्था पनि उस्तै छ। अछामबाट सुरु भएको खुला दिसामुक्त क्षेत्र घोषणा अभियान कैलालीमा आएर टुंगिएको थियो।

अभियानले पहाडी जिल्लामा सार्थकता नपाउनुमा पानी मुख्य कारण मानिएको छ। खुला दिसामुक्त घोषणा गरे पनि अनुगमन नहुँदा शौचालय प्रयोगविहीन बनेका छन्। स्थानीय तहले सरसफाइका क्षेत्रमा रणनीति नबनाउँदा अभियानले सार्थकता पाउन नसकेको जिसस कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए।

मुख्यमन्त्री त्रिलोचन भट्टले तामझामका साथ कैलाली खुला दिसामुक्त घोषणा गरेका थिए। तर, अझै सार्वजनिक शौचालय नबनाइएको धनगढी उपमहानगर–२ सरस्वतीनगरका प्रेम बीसीले बताए। प्रदेशकै पहिलो खुला दिसामुक्त जिल्ला अछाममा सुरुका दिनमा शौचालय बनाउन ध्यान दिइएको थियो। तर, अनुगमन नहुँदा स्थानीय अझै खुला ठाउँमा शौच गर्ने गरेका छन्।

चेतना कमीका कारण अझै अधिकांशले शौचालय प्रयोग गरेका छैनन्। २०६८ को जनगणनाअनुसार अछाममा ४८ हजार ३ सय ५१ घरधुरी छन्, जसमा ४७ हजारले शौचालय बनाएको दाबी गरिएको छ। गाउँतिर अझै खुला ठाउँ दिसापिसाब गर्ने गरेको मेल्लेख–४ कुस्कोटका प्रेम साउदले बताए। ‘गाउँपालिकाकै कार्यालय वरिपरि दिसापिसाब गरेको देखिन्छ’, उनले भने।’

अनुगमन नहुँदा शौचालय प्रयोगविहीन भएको सरसफाइको क्षेत्रमा कार्यरत ललित बोगटीले बताए। ‘अनुगमन कसले गर्ने भन्ने यकिन छैन’, उनले भने, ‘बजारहरूका खोलाछेउछाउ दिसापिसाब देखिन्छ।’ स्थानीय सरकारले यस विषयमा कार्ययोजना र रणनीति बनाउन सकेका छैनन्।

पानी नहुँदा समस्या

बैतडीका अधिकांश क्षेत्रमा पानी अभावका कारण शौचालय प्रयोगविहीन छन्। ‘खानेपानीकै जोहो गर्न मुस्किल हुन्छ। स्थानीयमा अझै चेतनाको कमी छ। यसले खुला दिसामुक्त क्षेत्र घोषणा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन’, मेलौलीका केशवसिंह भाटले भने, ‘बजार क्षेत्रमा सार्वजनिक शौचालय छैन। पानी अभावमा घरमा भएका चर्पी पनि प्रयोगविहीन छन्।’

पाटन नगरपालिका–५ वसन्तपुरमा पनि पानीकै अभावमा शौचालय प्रयोगमा आउन सकेका छैनन्। वडा कार्यालयले पूर्ण सरसफाइका कार्यक्रम अघि बढाए पनि पानीकै अभाव रहेको वडा नम्बर ५ का अध्यक्ष फुनीसिंह बोहराले बताए। ‘हामीले जसरी भए पनि पानीको जोहो गर्नुपर्छ भनेका छौं’, उनले भने, ‘शौचालयका लागि पनि पानी व्यवस्था गर्नुपर्छ। हाम्रो सोच परिवर्तन हुनु आवश्यक छ।’

घोषणापछिका कार्यक्रम सञ्चालन गर्न नसक्दा केही समस्या देखिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नम्बर १ बैतडीका प्राविधिक दीपक केसीले बताए। ‘सरसफाइका सबै कार्यक्रम स्थानीय तहले सञ्चालन गर्ने भनेको छ’, उनले भने, ‘खुला दिसामुक्त क्षेत्र घोषणापछिका कार्यक्रम सञ्चालन गर्न नसक्दा केही समस्या देखिएको छ।’

कतिपय विद्यालय तथा स्वास्थ्य संस्थामा पनि शौचालय सञ्चालनमा आउन सकेका छैनन्। नयाँ घर बनाउनेले पनि सँगै शौचालय नबनाउँदा खुला दिसामुक्त क्षेत्रलाई निरन्तरता दिन गाह्रो भइरहेको छ। ‘पानी अभावमा कतिपय ठाउँमा शौचालय प्रयोगविहीन छन् भने कतिपय ठाउँमा चेतनाकै अभाव रहेको पाइएको छ’, चौखाम स्वास्थ्य चौकीका इन्चार्ज हेमन्तसिंह साउदले भने, ‘खुला ठाउँमा दिसा गर्दा विभिन्न रोग लाग्छन् भन्ने थाहा छ तर कार्यान्वयनमा चुनौती देखिएको छ।’ राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार एक ९१ घरधुरी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.