वर्ष ११७

वर्ष ११७

नुवाकोट : ककनी—८ नुवाकोट थानसिङ छापमा एउटा घर छ। जहाँ पुग्दा तपाईंलाई छुट्याउन गाह्रो पर्छ— यो घर हो कि मन्दिर ? दैनिकजसो नयाँनयाँ भक्तजन जसरी मानिस आउँछन्। आशीर्वाद लिन्छन्। र जान्छन्।

यी सबैकी कारण हुन्— ११७ वर्षीया वृद्धा बाटुली लामिछाने। त्यो घरमा उनी आस्था र श्रद्धाको प्रतीक बनेकी छिन्। बाटुली आमाको जीवनबाट जोकोही लोभिन्छन्। चार वर्ष अघिसम्म उनी को थिइन्, छिमेकीबाहेक कसैलाई थाहा थिएन। उनी गाउँमै गुमनाम थिइन्। तर पछिल्लो समय उनी नुवाकोटकै पहिचान बनेकी छिन्।

बाटुली देशकै जेठी आमा हुन्। उनको दीर्घायुको कामना गर्न र यति लामो जीवन कसरी स्वस्थ्य रूपमा जिउन सकिन् भन्ने बुझ्न दिनहुँ उनको घरमा नयाँनयाँ व्यक्ति आउँछन्। यसरी सोधीखोजी गर्दैै घरसम्म आएरै दीर्घायुको कामना गर्नेप्रति बाटुली आमा हर्षविभोर हुन्छिन्।

सिन्धुपाल्चोकको गिरानचौरमा १९५९ मा जन्मेकी उनले छविलाल लामिछानेसँग बिहे गरेकी हुन्। उनीसँग एक छोरा, चार नातिनी, पाँच पनाति, पाँच पनातिनी र एक जनाति छन्। उनले २०७० सालमा मात्रै उनले नागरिकता लिएकी हुन्।

काठको सामान्य दुई तले त्यो पनि बाहिर मात्रै सिमेन्ट लगाएको माटोकै टहरो जस्तो घरमा उनी बस्छिन्। भूकम्पले भत्किएको घर एक वर्षअघि मात्रै यो रूपमा ठडिएको हो। बाहिर पिँढीमै सुत्छिन् उनी। घरसँगै गोठ छ। डाँडाकाँडा हरियाली हेर्दै बित्छन् उनको दिन। उनले यही घरमा ६३ वर्ष बिताइसकिन्।

उनको जीवन सुखद भने भएन। छोराछोरी जन्मिएपछि पति छविलाल कामको खोजीमा कतै गए, तर फर्की आएनन्। चार छोरामध्ये तीन जना बाँचेनन् पनि। परिवारको पालनपोषणदेखि घर व्यवहारका सबै जिम्मेवारी बाटुलीको काँधमा आयो। श्रीमान्को पीडाले उनी मानसिक रोगी पनि भइन्। तर पछि सामान्य अवस्थामा फर्किइन्। मजदुरी गरी परिवार पालिन्। जीवनका हरेक संघर्षबाट हरेस खाइनन्। चिन्ता नलिईकन जीवन अगाडि बढाउन सिकिन्। त्यसैले त बाटुली स्वस्थ छिन्।

शनिबार मात्रै उनको पहिलो पटक रगत परीक्षण गरियो। बूढानीलकण्ठ नगरपालिकाअन्तर्गतको स्वास्थ्य सेवा विभागको एक टोलीले उनको घरमै पुगेर स्वास्थ्य जाँच गरेको हो। रगतको परीक्षण रिपोर्ट आउन बाँकी छ। ‘मुटु, मिर्गौलाको अवस्था केकस्तो छ भनेर परिवारको आग्रहमा स्वास्थ्य जाँच गरेका हौं’, डा. सविना अर्यालले भनिन्, ‘रक्तचाप र शरीरका अन्य भागमा केही समस्या नरहेको रहेको पाइयो।’

बाटुलीका कान्छा छोरा नै ७८ वर्ष पुगे। उनी आमाको स्याहारसुसारमा खटिन्छन्। ‘आमा बिरामी भएर हस्पिटल लगेको मैलाई थाहा छैन,’ छोरा नेत्रप्रसाद लामिछानेले भने। सामान्य ज्वरो आउने र खोकी लाग्नेबाहेक स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ।

अग्र्यानिक तरकारी र घरकै दही, दूध र मही बाटुलीका प्रिय खानेकुरा हुन्। पहिले उनी आफैं गाई पाल्थिन्। चार वर्षअघिसम्म उनले गाईलाई घाँस काटेर खुवाउने गरेको नेत्रप्रसादले जानकारी दिए। बाटुली आमाले एक छाक मात्रै दूधभात खान्छिन्। घर वरपर हिँडडुल गर्छिन्। ‘हामीले जस्तो सम्पत्ति कमाउने पीर भएन बाटुलीलाई, जे छ त्यसैमा रमाइन्’, स्थानीय ७० वर्षीय वृद्ध विष्णुप्रसाद भण्डारीले भने।

आध्यामिक स्वाभव छ बाटुलीको। नियमित पूजा गरी मात्रै खाने गर्छिन्। शाकाहारी जीवनशैलीले उनलाई दीर्घजीवी रहन सघाएको जानकारहरू बताउँछन्।

आध्यामिक स्वाभव छ बाटुलीको। नियमित पूजा गरी मात्रै खाना खान्छिन्। शाकाहारी जीवनशैलीले उनलाई दीर्घजीवी बनायो।

आमाको स्याहार र संरक्षणमा रातदिन खटिनुपर्छ उनका छोराबुहारीलाई। आमाको स्याहारसुसारको कामलाई बोझका रूपमा लिएका छैनन्। छोराबुहारी आफंै बिरामी छन्। तर पनि सेवामा कन्जुस्याइँ गरेका छैनन्। ‘आमा कहिलेकाहीँ राति निदाउनुहुन्न। हामी पनि जागराम बस्छौं’, छोरा नेत्रप्रसादले भने। आमाको स्याहार र संरक्षण गर्नु आफूहरूको कर्तव्य रहेको उनले बताए। ‘आमाकै कारण चिनिने मौका पनि पाइयो। यसैमा हामी सन्तुष्ट छांै’, बाटुलीकी बुहारी ईश्वरी लामिछानेले भनिन्।

परिवारले बोझ नठानी निकै सचेत रूपमा बाटुलीको स्याहार र संरक्षण गरेकाले दीर्घजीवनमा सघाएको स्थानीय वृद्ध विष्णुप्रसादले भने। ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले पनि बाटुलीको परिवार सिंगो समाजका लागि नै प्रेरणा रहेको बताइन्।

मन्त्रीले गरिन् सम्मान

बाटुलीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ। उनलाई शनिबार मन्त्री थममाया थापाले दोसल्ला, प्रमाणपत्र र नगद २५ हजार रुपैयाँले सम्मान गरिन्। ‘आमा तपाईंसँग छोराबुहारी र नातिनातिना मात्रै छैनन्, स्याहार र संरक्षणका लागि सरकार पनि साथमै छ,’ मन्त्री थापाले भनिन्, ‘चिन्ता नलिनुस् अझ धेरै वर्ष बाँच्नुस्। हाम्रो प्रार्थना छ।’

दीर्घजीवन बाँचेकी बाटुली सबैकी प्रेरणा र देशकै लागि गौरव रहेको भन्दै मन्त्रालयले सम्मान गरेको हो। ‘परिवारका सदस्यको स्याहारसुसारले आधुनिक पुस्ताका लागि समेत सन्देश दिने काम गरेको छ’, मन्त्रालयका सहसचिव वीरबहादुर राईले भने।

बाटुलीको स्याहार एवं संरक्षणका लागि गतिलो घर निर्माणदेखि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउनेसम्मका काममा भने कसैले जिम्मेवारी लिएको छैन। बाटुली विश्वकै जेठो व्यक्ति भनिए पनि त्यसलाई आधिकारिकता दिन ढिला भइसकेको छ। गिनिज बुकको वेबसाइटका अनुसार जापानकी यासुतारो कोइदी विश्वकी सबैभन्दा जेठी व्यक्ति हुन्। उनी अहिले एक सय १६ वर्षकी भइन्। केही समय अगाडिसम्म पनि स्थानीय गाउँपालिकाले बाटुलीको बारेमा चासो लिएकै थिएन। तर एक महिनाअगाडि मात्रै गाउँपालिकाको बैठकले निर्णय गरी उनलाई मासिक १० हजार दिने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.