भारतमा लोकसभा चुनाव : ५९ सिटका लागि मतदान
नयाँ दिल्ली : भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौं चरणको मतदान भएको छ। दिल्लीसहिछ ६ राज्यका ५९ सिटका लागि आइतबारको निर्वाचनमा ७ सय ९७ जना उम्मेदवार रहेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ। यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी सबै सिटमध्ये भाजपा (भारतीय जनता पार्टी)ले ४४ ठाउँमा जितेको थियो।
आइतबार उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका ८/८, दिल्लीका ७ र झारखन्डका ४ लोकसभा निर्वाचन क्षेत्रमा मतदान भएको छ। बेलुकी ६ बजेसम्म सबैभन्दा धेरै मतदान पश्चिम बंगालमा भएको चुनाव आयोगले जानकारी दिएको छ।
त्यहाँ ८० दशमलव १३ प्रतिशत मत खसेको छ। झारखन्ड, मध्य प्रदेश र हरियाणामा पनि ६० प्रतिशत मत खसेको छ। राजधानी दिल्लीमा ५५ दशमलव ४४ प्रतिशत मतदान भयो। उत्तर प्रदेश मा ५० दशमलव ८२ र बिहारमा ५५ दशमलव ०४ प्रतिशत मत खसेको छ।
आइतबारका चर्चित उम्मेदवार
छैटौं चरणको निर्वाचनमा केन्द्रीय मन्त्री मेनका गान्धीसहित भाजपाका उम्मेदवारहरू वरुण गान्धी, रिता बहुगुणा जोशी, दिलीप घोष, मीनाक्षी लेखी र प्रज्ञा सिंह ठाकुरलगायत मैदानमा छन्।
कांग्रेस नेता दिग्विजय सिंह, ज्योतिरादित्य सिन्धिया, शीला दीक्षित, अजय माकन, भूपिन्दरसिंह हुड्डा, पूर्व क्रिकेटर कीर्ति आजादलगायत पनि चुनावमा उत्रेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र मानस भुइँया पनि चुनावी प्रतिस्पर्धामा छन्।
भारतमा अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ। ७ चरणमा हुने लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान यही मे १९ मा हुनेछ। यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र मे ६ मा दिन पाँचौं चरणको निर्वाचन भइसकेको छ।
पाँचौं चरणको निर्वाचनमा ७ राज्यका ५१ सिटका लागि मतदान भएको थियो। त्यसमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, कांग्रेस नेत्री सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानी निर्वाचन प्रतिस्पर्धामा थिए।
यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कुल ५१ सिटमध्ये भाजपाले ४० जितेको थियो भने कांग्रेसले २ सिट मात्र जितेको थियो। उसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो। भारतमा आगामी मे १९ मा सातौं तथा अन्तिम चरणको निर्वाचन हुनेछ। चुनाव सकिएको ४ दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ।
कसले गरे मतदान
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयको मतदान केन्द्रमा मतदान गरे। दिल्लीमा पाका भारतीय मतदाता १ सय ११ बर्से बच्चन सिंहले मतदान गरे। दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितले पनि राजधानीमा नै मतदान गरिन्। विदेशमन्त्री सुषमा स्वराजले दिल्लीमा नै मत खसालिन्। उनी यसपटक चुनावी प्रतिस्पर्धामा उत्रेकी छैनन्।
कांग्रेस नेत्री सोनिया गान्धी र पति रबर्ट वाड्रासहित महासचिव प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मत खसालेपछि प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफूले मतदान गरेको प्रतिक्रिया दिइन्। उनले यो निर्वाचनमा आफूले मतदाताको आक्रोश देखेको र भाजपाको हार निश्चित रहेको बताइन्।