प्रदेश बस सेवा सञ्चालन अन्यौलमा
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष भित्रै सञ्चालन गर्ने भनेको प्रदेश बस सेवा सञ्चालन अन्यौलमा परेको छ।आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममै समेटिएको प्रदेश बस सञ्चालन अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तीन महिनाभित्रै बस सेवा सञ्चालन गर्ने भनेर उद्घोष गरेको प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहँदा काम अगाडि बढाउन नसकेको हो।
बस सञ्चालनका लागि सोमबार धनगढीमा यातायात पूर्वाधार निर्देशनालय डोटीले गरेको अन्र्तक्रिया कार्यक्रममा ग्रिड कन्सलटेन्सीका टिम लिडर डा. प्रदिपकुमार श्रेष्ठले अध्ययन प्रतिवेदन प्रस्तुत गरे।
उनले सरकारी बस सञ्चालनका लागि विश्वमा भएका प्रयास र सुदूरपश्चिमको वस्तुस्थितका बारेमा प्रस्तुत गरे। प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा तीन महिनाभित्रै बस सञ्चालन गर्ने उद्घोष गरेको प्रदेश सरकारले बल्ल अध्ययन प्रतिवेदन प्रस्तुत गरेको हो।
मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बस सञ्चालनसम्बन्धी ऐन, सडकको अवस्थामा अध्ययन र कार्ययोजना नबनेसम्म बस सेवा सञ्चालन हुन नसक्ने बताए। 'प्रदेश बस सञ्चालन गर्नु भनेजस्तो सजिलो छैन, यहाँको हकमा विद्युतीय बस चलाउनु त झन् गाह्रो छ, उनले भने, 'जुनसुकै बस चलाएपनि आवश्यक तयारी चाहिन्छ, त्यो अहिलेसम्म हुन सकेको छैन, लागिरहेकै छौं ।'
सुरुका तीन महिनामै बस सेवा सञ्चालन गर्ने जनाएको प्रदेश सरकारसँग अहिलेसम्म त्यससम्बन्धी कुनै योजना छैन। प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश बस सेवा सञ्चालनका लागि २० करोड बजेटसमेत विनियोजन गरेको छ। चालू आर्थिक वर्ष सकिन अब डेढ महिना बाँकी छ।
प्रदेश बस सञ्चालनका लागि प्रयास जारी रहेको यातायात पूर्वाधार निर्देशनालय डोटीका निमित्त निर्देशक प्रेमदत्त भट्टले बताए 'प्रदेश बस सञ्चालन गर्न सजिलो काम होइन,' उनले भने, 'कसैले पनि यसमा हात हाल्न चाहेनन्, बल्ल एकजना व्यक्ति सम्पर्कमा आउनुभएको छ।'उनले अध्ययन प्रतिवेदन हात परेपछि कसरी बस सञ्चालन गर्न सकिन्छ भनेर भन्न सकिने बताए।
प्रदेश बस सञ्चालन प्रदेशका 9वटै जिल्लामा सञ्चालन गर्ने कार्यनीति छ। तर, अहिले यो कार्यक्रमलाई सूचारु गर्नका लागि कैलाली र कञ्चनपुरमा मात्रै सञ्चालन गर्ने कि भन्ने कोणबाट पनि छलफल भइरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव भट्टले बताए। कञ्चनपुरको गड्डाचौकीदेखि चिसापानीसम्म विद्युतीय चार्जिङ स्टेसन राखेर बस सेवा सञ्चालन गर्ने गरी छलफलसमेत भएको बताइएको छ।
बस सञ्चालका लागि पहिलो भरणमा अध्ययन भएको अध्ययन कर्ता डा.प्रतिपकुमार श्रेष्ठले बताए। मन्त्रालयका अनुसार प्रदेश बस सेवा सञ्चालनका लागि काठमाडौंको साझा यातायातले पनि प्रस्ताव गरिरहेको जनाएको छ। मन्त्रालयका सचिव भट्टले अहिले नै कसैलाई यसबारे निर्णय नदिइसकेको बताए।
यसअघि बस सेवा सञ्चालनका लागि मन्त्रीले चासो दिइरहेको भएपनि कर्मचारीले वास्ता नगर्दा यो कार्यक्रम सुरुवात हुन नसकेको गुनासो आएको थियो। कर्मचारी अभावले गर्दा कामकाज सम्हाल्न समस्या भएकाले यो कार्यक्रम पनि प्रभावित हुन पुगेको मन्त्रालयका कर्मचारी बताउँछन्।