अस्थायी शिक्षकहरु एघार दिनदेखि आमरण अनशनमा
काठमाडौं : प्रक्रिया पुर्याएर स्थायी गरिनुपर्ने माग राख्दै सामूदायिक विद्यालयमा कार्यरत केहि अस्थायी शिक्षकले आमरण अनशन शुरु गरेको एघार दिन पुरा भएको छ।
उनीहरु वैशाख २० गतेदेखि आमरण अनशनमा छन्। अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन शिक्षक सेवा आयोगले गत वर्ष नै परीक्षा सञ्चालन गरेर नतिजासमेत सार्वजनिक गरिसकेको छ। विगतको आन्तरिक प्रतिस्पर्धा सम्बन्धि परीक्षामा सहभागी हुन नपाएकाका लागि फेरि परीक्षा सञ्चालन गर्नुपर्ने माग उनीहरुले सरकारसँग राखेका छन्।
अनशनमा बसेको लामो समय बितिसक्दा पनि माग पुरा गर्ने सम्बन्धमा कसैले चासो दिएको छैन। उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा शिक्षा मन्त्रालयका अधिकारी र नेपाल शिक्षक महासंघबीच अनौपचारिक छलफल भएको छ। तर ठोस निर्णय भएको छैन।
आमरण अनशनमा बसेका कारण उनीहरुको स्वास्थ्यमा समस्या देखिएको छ। तर विगतमा विना प्रतिस्पर्धा शिक्षण पेशामा प्रवेश गरेकालाई आन्तरिक वा स्वत स्थायी गरिने प्रवृत्ति गलत भएको भन्दै शिक्षा सम्बद्ध व्यक्ति तथा समूहले भने अनशन प्रवृत्तिको आलोचना गरेका छन्। आमरण अनशनमा पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत बसेकी छिन्। शिक्षा मन्त्रालयका सचिव खगराज बरालले उनीहरुको माग पुरा गर्ने सम्बन्धमा आन्तरिक छलफल भइरहेको बताए।