संखुवासभामा हावाहुरी : दुई करोड क्षति
खाँदबारी : पानीसँगै आएको हावा हुरीले संखुवासभाको धर्मदेवि नगरपालिकामा करिव २ करोड बरावरको क्षति पुर्याएको धर्मदेवि नगरपालीकाका मेयर रमेश कुमार जिमीले बताएका छन्।
आइतबार साँझ आएको हावाहुरीले धर्मदेवि–३ तामाफोकका मछेम जिमी, कविन जिमी, योगेन्द्र जिमी, ओम जिमी र सुर्यमान जिमीको घर पुर्ण रुपमा क्षति भएको छ भने अन्य ६ घरमा आंशिक क्षति पुगेको मेयर जिमीले बताए। हावाहुरीले ५ घर बस्नै नहुने भएको छ। ६ वटा घरको छानो उडाएको छ। घरसँगै अन्य साना गाईवस्तु बाँध्ने कटेरामा पनि क्षति पुर्याएको छ। हावा हुरीसँगै आएको असिना पानीले धर्मदेवि नगरपालीका क्षेत्रमा अलैची, तरकारीबाली, नगदेवालीमा समेत क्षति पुर्याएको छ।
पीडितहरुलाई तत्काल रेडक्रस र नगरपालिकाले त्रिपाल वितरण गरेको छ। सोमबार अस्थायी बसोबासको लागि नेपाल रेडक्रसले त्रिपाल कम्मल र नगरपालीकाले राहत सामाग्री वितरण गरिएको हो। पीडित परिवारलाई आवश्यक राहतका लागि चाडै नै कार्यपालिकाको बैठक बसी थप राहत वितरण गर्ने मेयर जिमीले जानकारी दिए।