पहिचानमा संक्रमण
काठमाडौं : प्रत्येक क्यानभासमा ओइल पेन्टिङ छ। खैरो मात्र खैरो रङले त्यो भरिएको छ। कताकता सेतो, कालो, हरियो र गोल्डेन माछा रङको ‘फ्लेबर’ त्यही खैरो रङभित्र देखिन्छ। झट्ट हेर्दा पुरानो जमानामा पुगेजस्तो महसुस हुन्छ। तर त्यहाँ आधुनिक युगका थुप्रै चिजबीच पत्तै नपाउने गरी जोडिएका छन्।
सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा रहेका पेन्टिङ अहिले यस्तै स्वरूपमा भित्तामा झुन्डिएका छन्। कलाकार मन गुरुङको ‘लस्ट इन ट्रान्ज्याक्सन’ शीर्षकमा बनेका यी चित्रमा गोरखावासीको जीवनशैली देख्न सकिन्छ।
गुरुङको गृह जिल्ला गोरखा नै हो। आफ्नै समुदायलाई पेन्टिङमा उतार्ने उद्देश्यले उनले यी चित्र कोरेका हुन्। अघिल्लो चोटि सन् २०१७ मा पावर पोलिटिक्स एन्ड बार शीर्षकमा उनको पहिलो चित्रकला प्रदर्शनी भएको थियो। त्यतिबेला उनले पूर्णरूपले राजनीतिमा केन्द्रित भएर कुची चलाएका थिए। अहिलेका चित्रमा समाज र सामाजिक चरित्रमा देखिएको संक्रमण उनले देखाउन खोजेका छन्।
पुरानो स्थिति चट्ट छोड्न नसकेको र नयाँ अवधारणा अपनाउन बाध्य भएको दुई अलग सत्यलाई गुरुङको पेन्टिङले देखाउँछ। धोती, पटुका र शिरमा नातो गुथेकी महिलाले चोलीको सट्टा टिसर्ट लगाएको दृश्यले त्यही पहिचानमाथिको संक्रमण देखाउँछ भने एक हिन्दु वृद्ध महिलाको घाँटीमा क्रिस्चियन धर्मको लकेट झुन्डिएको चित्रले घोत्लिन बाध्य गराउँछ। त्यस्तै अर्को एक चित्रमा पुरुषले आफ्नो परम्परागत काम गर्दै आएका छन् तर ढाका टोपीको सट्टा क्याप लगाइरहेको देखिन्छ।
गुरुङले यस्ता महिलाको आवरण आफ्नो क्यानभासमा उतारेका छन् जो अहिले पनि दूध दुहुने काम गर्छन्। तर उक्त दूध अब उनीहरू काठको ठेकीमा राख्दैनन्। त्यो ठाउँ प्लास्टिकको भाँडाले ओगटी सकेको छ। उनले बनाएको अर्को चित्र हो बिग्रिएको ढ्यांग्रो। यो चित्रले उक्त बाजा लोप हुने संघारमा पुगेको देखाउँछ। माउरीको घारीमाथि डिस एन्टिना अड्याउनुले पनि सामाजिक परिवर्तन देखाइरहेको छ।
रोधी गाउने र मादल घन्किने गाउँघरमा एमपी थ्रीबाट गाना बज्न थालेको छ। हातले बुनेका झोला अहिले पोलिथिनको झोलामा परिणत भएको छ। यो नेपाली समाजमा जहीँतही देखिने कुरा हो।
गुरुङले यस्तै कुरा समेटेर स्थानीय पहिचान भूमण्डलीकरणले गर्दा संक्रमणको सिकार भएको देखाउन खोजेका छन्। गुरुङ भन्छन्, ‘पुँजी बजारको बढ्दो प्रभावसँगै मानिसले मेहनत गर्न छाडेको र सजिलो बाटो अपनाउन नोकरी गर्न थालेका छन्।’ नेपालले उत्पादनभन्दा उपभोग ज्यादा गर्न थालेको उनी बताउँछन्। पहिचान संक्रमणमा पर्नु पनि यसैको परिणाम भएको उनको भनाइ छ।
सबै चित्रमा गोरखाको खोर्ला गाउँको परिवेश छ। पारम्पारिक मूल्य मान्यता आधुनिक विचारधाराले तीव्र रूपमा परिवर्तन गर्दा नेपाली समाजका मानिस, उनीहरूको परम्परा र परिवेश संक्रमणको सिकार हुन बाध्य भएको गुरुङ बताउँछन्। युवाहरू देशबाट पलायन हुन थालेपछि बुजु्रगको अवस्था, देशमा भित्रिएको रेमिट्यान्सले देश विकासमा कुनै भूमिका नखेल्नुले नेपालको वास्तविक अवस्थाको उजागर गरेको छ।
गुरुङको पेन्टिङले आउने युगका लागि नेपाली समाजमा आजको झल्को देखाउन सक्षम छ भने हाम्रा मौलिक पहिचानलाई कसरी बचाउन सकिन्छ भन्ने चिन्तासमेत प्रकट गर्छ।