श्रीको श्रीवृद्धि : आकाशमै जग र महल

श्रीको श्रीवृद्धि : आकाशमै जग र महल

शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि बुवासँगै हिँड्दाहिँड्दै सुधीर मित्तलले व्यवसायमै जम्ने सोच बनाए। बुवा वनवारीलाल मित्तल भने आफैंले व्यवसाय धानिरहेकाले आफ्ना सन्ततिलाई त्यसमा बाध्न चाहँदैनथे। सन्ततिले स्वतन्त्र विचरण गरून् भन्ने उनको सोच थियो।

त्यसैले पनि होला, उनले कहिल्यै पनि आफ्नो विरासतको व्यवसाय धान्न आफूपछिको पुस्तालाई प्रोत्साहित गरेनन्। स्वतन्त्र छाडिदिए। त्यति बेला मित्तल परिवार टेक्सटाइल, कार्पेट, गलैंचा, निर्माणलगायत व्यवसायमा संलग्न थियो। आफूभन्दा पछिको पुस्ताले पनि आफ्नै पौरखले केही गरोस् भन्ने उनको चाहना थियो।

स्नातकपछिको थप अध्ययन अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट लिने र अब्बल क्षमता बनाउनुपर्ने बुवाकै इच्छाअनुसार सुधीर मित्तलले एमबीए गर्ने सोचाइ बनाए। त्यतिबेला इन्टरनेट सुविधा थिएन। अमेरिकी दूतावासको पुस्तकालय गएर एमबीए अध्यापन गराउने विश्वविद्यालय र कलेज खोज्न थाले। त्यसै क्रममा सुधीरले फाइनान्सियल टाइम्सले निकालेको संसारभरका उत्कृष्ट बिजनेस कलेजको सूची फेला पारे। सूचीको पहिलो नम्बरमै रहेको फ्रान्सेली विश्वविद्यालय इन्सिडमै पढ्ने निश्चय गरेर पत्र पठाए।

नेपालमा त्यति बेला ईमेल इन्टरनेटको प्रचलन नभएकाले उनले जवाफ पनि पत्रमार्फत नै पाए। पत्रमा विश्वविद्यालयले दुई जनासँग अन्तर्वार्ता गरेर मात्रै अध्ययनको अनुमति दिन सकिने जवाफ पठायो। त्यसका लागि विश्वविद्यालयले सुधीरलाई सजिलो हुने र नजिक पर्ने स्थान छान्ने अवसर दियो।

नेपालबाट कोही पनि त्यहाँ नपुगेको हुँदा उक्त विश्वविद्यालयले उनलाई दिल्लीमा अन्तर्वार्ताका लागि बोलायो। सीधै काठमाडौंबाट उडान हुने भएकाले उनी दिल्ली सहज हुने ठानेर उतै लागे। त्यति बेला भर्खरै राजनीतिक व्यवस्था परिवर्तन भएर बहुदल आएको थियो।

राजनीतिक व्यवस्था परिवर्तनअघि भारतले नेपाललाई नाकाबन्दी गरेको थियो। उनलाई अन्तर्वार्तामा नेपाल भारतबीचको सम्बन्धका विषयमा पनि सोधिएको थियो। सुधीरले नेपालजस्तो सानो मुलुकलाई भारतले नाकाबन्दी गरेर गलत गरेको भन्ने लागेर त्यही आशयको जवाफ दिए।

त्यतिबेलाको समयअनुसार उनको तर्क भारतविरुद्ध जस्तो देखिए पनि त्यो उत्तरको आशय नेपाललाई समर्थन गर्ने मात्र थियो। यो विषय फरक प्रसंगमा थियो। इन्सिड रोज्ने सुधीर पहिलो नेपाली भएर पनि होला, उनलाई विश्वविद्यालयले अध्ययनका लागि छान्यो।

इन्सिडले त्यहाँ अध्ययन गर्ने विद्यार्थीको प्रोफाइलसहित पुस्तक छाप्ने गथ्र्यो। त्यो पुस्तक विभिन्न अन्तर्राष्ट्रिय संस्थासमक्ष पनि पुग्थ्यो। यसैमार्फत विभिन्न देशका संस्थाले विद्यार्थीको विवरण पनि संकलन गर्दा रहेछन्। सोही क्रममा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले उनलाई छनोट गरेछ।

उनका साथीभाइले उनको नाम आईएफसीको छनोट सूचीमा रहेको थाहा पाएपछि नेपालमा इन्सिडको चर्चा चुलिएको थियो। आईएफसीले उनको अन्तर्वार्ता लियो। अन्तर्वार्ताबाट सफल भएपछि आईएफसीको मुख्यालय वासिङ्टन डीसी पोस्टिङ भए। त्यतिबेला विश्वविद्यालयको अध्ययन सकिएकाले उनी नेपाल फर्किसकेका थिए।

उनी आईएफसीको छनोटमा परेको जानकारी उनका बुवालाई पत्रमार्फत प्राप्त भयो। उनलाई बाहिर गएर काम गर्ने इच्छा त थिएन। अन्तर्राष्ट्रिय संस्थासँग काम गर्दा धेरै विषयको ज्ञान हुने मौका पाइने सुझाव बुवाबाट पाएपछि उनी आईएफसी मुख्यालय जान तयार भए।

आईएफसीमा दुई÷तीन वर्ष मात्रै काम गर्ने भनेर गएका उनलाई संसारका विभिन्न भागमा जाने, योजना बनाउने, कार्यान्वयन गर्ने गर्दै गर्दा एक दशक बितेको पत्तै भएन। नेपालको मोह र नवीन कार्यको खोजीमा आईएफसीको जागिर छाडेर उनी स्वदेश फर्किए।

उनले आईएफसी छाडे पनि आईएसफसीले उनलाई छाडेन। उसले नेपालमै कार्यालय स्थापना गरेर जिम्मेवारी लिन आग्रह गर्‍यो। निजी क्षेत्रसँग काम गर्ने आईएफसीले त्यतिबेला भोटेकोसी र खिम्ती जलविद्युत्मा लगानी गर्ने योजना बनाएको थियो। त्यतिबेलाको राजनीतिक परिस्थितिका कारण उद्देश्यअनुसार योजनाले सफलता पाउन सकेन। त्यतिबेला उनले राजीनामा गर्न चाहेका थिए। आईएफसीले सुधीरलाई दिल्ली बोलायो। दिल्लीबाटै नेपालसहितको कार्यालय हेर्ने जिम्मा दियो। लगानी विस्तार नभइसकेको नेपालमा आईएफसीको कार्यालय खोल्ने काम करिब १९ वर्षअगाडि मात्र भयो।

दिल्लीमा तीन÷चार वर्ष काम गरेपछि उनलाई पनि पुनः वासिङ्टन डीसी नै बोलायो। तर, सुधीर भने अमेरिका जान चाहेनन् र राजीनामा स्वीकृत गराएर नेपालमै बसे।

आईएफसी छोडेपछि उनले बुवासँगको सहकार्यमा काम गर्न थाले। संयुक्त राष्ट्रसंघ (यूएन)मा त्यतिबेला हाम्रो एमआई १७ नामक ठूला हेलिकप्टर उडिरहेको थियो। जब नेपालको हवाई उड्डयन सुरक्षामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गम्भीर सुरक्षा चासो (एसएससी) व्यक्त गरेर नेपाली वायुसेवालाई सन् २०१३ देखि प्रतिबन्ध लगायो। तब नेपालकै दर्ता भएको हाम्रो हेलिकप्टर पनि उड्न पाएन। यसलाई युरोपेली युनियन (ईयू)ले पनि निरन्तरता दियो। अहिले आइकाओले प्रतिबन्ध हटाइसके पनि ईयूले अझै हटाएको छैन।

लामो समय श्री एयरलाइन्सका हेलिकप्टर उड्न पाएन। हेलिकप्टर उड्न नपाउँदा श्रीले अफ्रिकामै हेलिकप्टर ग्राउन्डेड गर्‍यो। यसका कारण एयरलाइन्सलाई ठूलो आर्थिक क्षति भयो। अहिलेसम्म पनि श्री एअरलाइन्सका हेलिकप्टर उड्न पाएका छैनन्। दुई महिनाअघि मात्रै एउटाले उडान सुरु गरे पनि अरूले उड्न पाएका छैनन्।

नेपालमा पनि बाटोघाटो बनेकाले यहाँ त्यसको धेरै काम नहुने भयो। त्यसपछि अब विकल्प सोच्नुुपर्छ भनेर २०७२ को भूकम्प जानुभन्दा दुई÷तीन महिनाअगाडि मात्रै सुधीरले बुवासँग छलफल गरेर फिक्स्ड विङ जहाज चलाउने निधो गरे। भूकम्पका कारण यो योजना केही समय थाती भयो। तर, नियमित उडानको जहाज प्रक्रिया सुरु गर्न नपाउँदै बुवाको निधन भयो। बुवाकै इच्छाअनुसार अब नियमित उडानका फिक्स्ड विङ जहाज उडाउने बाबुको सपना सुधीरले पूरा गरे।

श्री एअरलाइन्सले भर्खर प्रक्रिया सुरु गर्न खोज्दै गर्दा भूकम्पले केही समय नयाँ काम स्थगित गराउन बाध्य बनायो। आर्थिक गतिविधि घट्ने भएकाले श्रीले नियमित उडानको जहाजलाई केही समय होल्ड गर्ने निर्णय गरेको थियो। बुवाको निधनपछि उनले सञ्चालन गरेका सबै व्यवसायको जिम्मेवारी लिनुपर्ने भयो। उनलाई अब बुवाको इच्छा पूरा गर्नुपर्छ भन्ने लाग्यो।

नेपालमै बसेर काम गरिनसकेको र यहाँको सिस्टम नबुझ्दा उनलाई केही असहज भने भयो। तर, यसले उनलाई व्यवसाय विस्तारका लागि अझै सशक्त मनोबल निर्माणका लागि सघायो। बुवाको इच्छा भएको र आफ्नै जन्मभूमि भएकाले पछि हट्नु हँुदैन भनेर नियमित उडानकोे प्रक्रिया सुरु गरे।

हुन त उनलाई उडान प्रक्रिया सुरु गरेपछि नियामक निकायले सहयोग नगरेको, सहजीकरण नहुनेसहितको कारणले कतै गलत त गरिएन भन्ने लागेको पनि हो। तर, हिम्मत नहारेका कारण जहाज सञ्चालन गर्न सफल भए। पर्यटन मन्त्रालयले अनुमति दिएपछि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिन एक वर्ष लगायो। जहाज आएर पनि तीन चार महिना उडाउन नदिएर दुःख दिइयो।

विदेशी वायुसेवाले उडान गर्दा सबै पैसा देशबाहिर जान्छ। नेपाली वायुसेवाले बोकेको यात्रुले विदेशी मूल्य नेपालमै आउने र अर्थतन्त्रमा योगदान पनि बढ्छ। यसर्थ, सरकारले वायुसेवाको लाइसेन्स दिनै रोक्नु गलत रहेको उनको ठम्याइ छ। ‘सरकारले हवाई उड्डयन क्षेत्रको नियमन गर्नकै लागि बनाएका निकायले नियमन गर्न सक्छ। तर, नियमनको नाममा दुःख दिनु भएन भन्ने हो’, सुधीर भन्छन्, ‘हामीले क्षेत्रीय अन्तर्राष्ट्रिय उडानमा जानकै लागि जेट जहाज थप गरिरहेका छौं। आन्तरिक उडानमा सीमित दायरा हुने र अन्तर्राष्ट्रियमा असीमित हुन्छ। त्यसैले पनि सम्भावना बढी भएकै क्षेत्रमा जानुपर्छ भनेर हामी अन्तर्राष्ट्रिय उडान सुरु गर्दै छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.