दार्चुलामा राष्ट्रिय प्रशारण लाइन जोडिँदै
दार्चुला : नेपाल विद्युत प्राधिकरणले दार्चुला सदरमुकाम क्षेत्रलाई राष्ट्रिय प्रशारण लाइनले जोड्ने तयारी थालेको छ।गोकुलेश्वर क्षेत्रमा रहेको ११ केभी क्षमताको प्रशारण लाइनलाई सदरमुकाम क्षेत्रमा जोड्न लागिएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ।
महाकाली नगरपालिका-७ धापस्थित थालिगाडसम्मको ३३ केभी प्रशारण लाइनमार्फत सदरमुकाम क्षेत्रमा राष्ट्रिय प्रशारण पुर्याउन लागिएको वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए।'गोकुलेश्वरदेखि थालिगाडसम्मको २५ किलोमिटर लामो ३३ केभी प्रशारण लाइन निर्माण भइसकेको र परीक्षण समेत सफल भइसकेको छ,' उनले भने।
धापको थालिगाडमा प्राधिकरणले ३३/११ केभीको सब स्टेशन निर्माण गरिरहेको छ। तीन वर्षदेखि निर्माणाधिन सवस्टेशनको कार्य सम्पन्न हुन समय लाग्ने भएकाले तत्काल ११ केभी लाइनमार्फत खलंगामा विद्युत सेवा पुर्याउने प्राधिकरणको तयारी छ।
चमेलिया जलविद्युत आयोजनास्थल बलाँचमा रहेको ३३÷११ को सवस्टेशनबाट अहिले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर क्षेत्रमा विद्युत सेवा वितरण गरिएको छ।
गोकुलेश्वर क्षेत्रमा पुगेको ११ केभी विद्युत सेवालाई तत्काल खलंगासम्म जोड्ने प्राधिकरणको तयारी छ। थालिगाडको सब स्टेशन निर्माण सम्पन्न भएपछि भने ३३ केभी विद्युत सेवा नै जोडिने वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। 'सब स्टेशन निर्माण नहुन्जेलसम्मका लागि मात्र ११ केभी विद्युत सेवा जोडिने हो, सबस्टेशन बनिसकेपछि भने ३३ केभी विद्युत उपलब्ध गराउछौं, उनले भने।
राष्ट्रिय प्रशारण लाइनमार्फत सदरमुकाम क्षेत्रमा सेवा दिन प्राविधिक तयारी भइरहेको प्राधिकरणका सुपरभाइजर मिनराज पन्तले बताए। जेठको पहिलो सातासम्म राष्ट्रिय प्रशारणमार्फत सदरमुकाम क्षेत्रमा विद्युत सेवा उपलब्ध हुनसक्ने उनको भनाई छ।
चैत्र १८ देखि गोकुलेश्वर थालिगाड ३३ केभी प्रशारण लाइनको परीक्षण गर्ने कार्य थालिएको छ। एक महिनामा प्रशारण लाइनको परीक्षण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका प्राविधिक कर्मचारी केशवसिंह विष्टले बताए।
गोकुलेश्वरदेखि नङतड, आगर, बगौरा, बरमुडे, निसिल हुदै थालिगाडसम्मको प्रशारण लाइन निर्माण सम्पन्न भइसकेको छ। थालिगाडदेखि खलंगासम्म भने ११ केभी प्रशारण लाइन सञ्चालनमै रहेको छ। जोलजिविहुँदै ल्याइएको भारतीय विद्युत लाइनले जोलजिवि, दत्तु, धाप र खलंगा क्षेत्रमा हाल विद्युत सेवा पुगिरहेको छ।
भारतबाट आयात गरिएको विद्युत सेवा गुणस्तरीय र भरपर्दो नभएको गुनासो छ। दार्चुलामै चमेलिया र नौगाड नदीमा विद्युत उत्पादन भइसक्दा पनि जिल्लाको उत्पादित विद्युत उपभोग गर्न नपाएकोमा स्थानीयवासीको असन्तुष्टि छ।
साढे ३ दशक अघि निर्माण भएको दार्चुला साना जलविद्युत केन्द्रको विद्युतले भने खलंगाको बंगाबगड क्षेत्र र महाकाली नगरपालिकाको वडा नम्बर १, २ र ३ को क्षेत्रमा विद्युत सेवा उपलब्ध भइरहेको जिल्ला विद्युत प्राधिकरण दार्चुलाले जनाएको छ।