किसानलाई मल पाउन सास्ती

किसानलाई मल पाउन सास्ती

धादिङ : एक बोरा मललाई ९ सय तिर्नुपर्छ। त्यसका लागि पनि ४ घण्टा लाइन बसेर बल्ल एक बोरा मल पाइन्छ। ‘हामी किसानलाई जहिले पनि मल चाहिएका बेलामा यस्तै दुःख हुन्छ’, नीलकण्ठ नगरपालिका ११ ज्यामरुङका दीपक धमलाले सदरमुकामस्थित नीलकण्ठ साझा सहकारीबाट ठेलमठेल गर्दै १ बोरा मल खरिद गरेपछि गुनासो गरे।

धमलाको मात्रै होइन, मंगलबार मल लिन आएका सदरमुकाम आसपासका किसान सबैैको यस्तै गुनासो छ। बारीमा छरेको मकै उम्रिएको छ भने खेतमा लगाएको चैते धान फूल खेल्ने बेला भएको छ। मल नहाली उब्जनी बढ्दैन तर धादिङका किसानले चाहेको बेला भने कहिल्यै मल उपलब्ध हुन सकेको छैन।

नीलकण्ठ नगरपालिका ९ पाल्पाकी कोपिला लम्साल मल किन्न लगातार ४ दिन सदरमुकाम धाइन्। ४ दिन आउँदा पनि नपाएपछि कार्यालयको फोन नम्बर लिएर गएकी लम्सालले मंगलबार मल आउने जानकारी सोमबार साँझ नै पाएपछि छिमेकी र साथीसहित बिहान ८ बजे सहकारी आइपुगिन्। करिब ४ घण्टा कुरेपछि १ बजेतिर बल्लतल्ल १ बोरा मल खरिद गरिन्। लम्सालले भनिन्, ‘भीडभाड हुन्छ भनेर बिहानै खानासमेत नखाइ आइयो, टन्टलापुर घाममा लाइन लाग्दाको दुःख कसले देख्ने ? ’

हरेक वर्ष र हरेक सिजनमा किसानलाई मल आवश्यकपर्ने बेलामा सधंै हाहाकार हुने गरेको छ। १ बोरा मल खरिद गर्न घण्टौं लाइन र सास्ती खेप्नुपर्दा किसान हैरान छन्। ज्यामरुङका दीपक धमलाले भने, ‘सरकार कृषकलाइ कृषि उत्पादन बढाउ भन्छ, १ बोरा मल पाउन पनि यत्रो लँडाइ गर्न पर्छ, हरेक वर्ष मल चाहिने बेलामा यस्तो सास्ती हुँदा पनि किन किसानका दुःख कसैको आँखामा नपरेको होला।’

यतिबेला खेतमा लगाइएको चैतेधान र मकै तथा वैशाख पहिलो सातादेखि पाखो बारीमा छरेको मकैमा रासायनिक मल हालेर गोड्ने सिजन हो तर किसानले चाहेको बेलामा सहकारीले कहिल्यै पनि सहज तरिकाले मल उपलब्ध गराउन सक्दैन।

किसानको सहजताका लागि सरकारले गाउँगाउँका कृषि सहकारीबाट मल बिक्रीवितरण गर्ने निति पनि बनाएको छ तर किसानलाई आवश्यकपर्ने बेलामा गाउँका सहकारीले समेत मल ल्याउन सक्दैन।

यसै कारणले किसान बाध्य भएर १ बोरा मल खरिद गर्न सदरमुकाम झर्न र घण्टांै लाइन बस्न बाध्य हुन्छन्। नेत्रावती गाउँपालिका सेमजोङका कृषक हस्तबहादुर गुरुङले भने, ‘कम से कम वडा कार्यालयसम्म भने पनि सहजरूपमा मल बिक्री गर्ने वातावरण मिलाइदिए खेतीकिसानी नै गरेर हातमुख जोर्ने किसानलाई त राहत हुन्थ्यो कि।’

कृषि ज्ञान केन्द्र धादिङको तथ्यांकअनुसार धादिङ जिल्लाभरका लागि १ वर्षमा १२ हजार मेट्रिक टन मल आवश्यक पर्छ। तर कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न सहकारीमार्फत मुस्किलले ४ हजार मेट्रिक टन मल मात्रै उपलब्ध गराउँदै आएको छ। बाँकी आवश्यक मल बजारका व्यवसायीले चोर बाटोबाट ल्याउँदै महँगोमा किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानबाटै आउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.