कर्मचारी नहुँदा हैरान : स्थानीय प्रतिनिधि भन्छन्, ‘कर्मचारी खोज्दै बित्यो दुई वर्ष’

कर्मचारी नहुँदा हैरान : स्थानीय प्रतिनिधि भन्छन्, ‘कर्मचारी खोज्दै बित्यो दुई वर्ष’

बैतडी : बैतडीका अधिकांश स्थानीय तहका विषयगत शाखाहरु कर्मचारी अभावमा नाम मात्रैका शाखा भएका छन् । विषयगत शाखा मार्फत हुने काम समयमै नहुँदा सेवाग्राही पनि हैरान हुने गरेका छन् ।

मणिलेक मावि काँडा मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीका अनुसार गत वर्षको छात्रवृत्तिको रकम अहिलेसम्म वितरण गर्न सकिएको छैन । पाठ्यपुस्तक वापत रकम पनि नगरपालिकाबाट निकासा भएको छैन ।

उनी भन्छन्, ‘नगरपालिकाको शिक्षा शाखामा शिक्षाका अधिकृत स्तरका कर्मचारी हुने भन्ने व्यवस्था छ । तर, अहिलेसम्म श्रोत व्यक्तिहरुले शाखा सञ्चालन गरिरहेका छन् । माध्यमिक तह सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहलाई दिएको भए पनि स्थानीय तहमा कर्मचारी नै नहुँदा समस्या छ ।’

जिल्लाका १० ओटै स्थानीय तहका शिक्षा शाखा हेर्ने जिम्मेवारी श्रोत व्यक्तिहरुलाई दिइएको छ । स्थानीय तहहरुलाई शिक्षाको अधिकार दिएपछि सजिलो हुनुको सट्टा कर्मचारीको अभावमा काम नै रोकिन थालेको छ ।

जिल्लाको दुर्गम गाउँपालिकाको रुपमा रहेको सिगास गाउँपालिकामा पनि विषयगत शाखामा कर्मचारी छैनन् । शाखाहरुमा कर्मचारी नहुँदा कामकाजमा बाधा परिरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी बताउँछन् । उनका अनुसार गाउँपालिकामा जम्मा तीन जना कर्मचारी छन् । विषयगत शाखामा मात्रै होइन वडा समेत सचिव छैनन् ।

विषयगत शाखामा कर्मचारी नहुँदा सोचे अनुसार काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको गुनासो छ । जसकारण विभिन्न फाँटका काम समेत बाँडफाँड गर्न नसकिने कर्मचारीहरु बताउँछन् ।

कर्मचारी अभावका कारण शिक्षा, कृषि, स्वास्थ्य लगायत क्षेत्रका कामहरु नै बढी प्रभावित हुने गरेको सूर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । कर्मचारी अभावबाट नियमित सेवा नै प्रभावित भएपछि स्थानीयको पनि गुनासो बढ्न थालेको छ । मेलौलीका स्थानीय केशवसिंह भाट भन्छन्, ‘स्थानीय तहबाट सबै सेवा पाइन्छ भनेर खुसी भएका थियौँ । तर नगरपालिकामा कर्मचारी नै छैनन् । भने अनुसार काम नै हुँदैन । कर्मचारी विनाका स्थानीय तहहरुले के गर्नु ?’

त्यसो त, नगरपालिकाले नीति, रणनीति कार्यान्वयनमा समेत समस्या आउने गरेको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक बताउँछन् । नायक भन्छन्, ‘विषयगत शाखा मात्रै नभएर कहिले प्रमुख प्रशासकीय अधिकृत खोज्नुपर्छ । कहिले लेखापाल खोज्नुपर्छ । कर्मचारी खोजखाजमै दुई वर्ष बित्न थाल्यो ।’

लेखापाल पनि छैनन्

जिल्लाको मेलौली नगरपालिकाका हरेक वडामा विकास निर्माणका कामहरु लगभग सकिएका छन् । तर लेखापाल नहुँदा भुक्तानी हुन सकेको छैन ।

‘वडामा सम्पन्न भएका कामको भुक्तानी कहिले हुन्छ भनेर स्थानीयले सोधेका सोध्यै छन् । तर नगरपालिकामा कहिले लेखापाल हुँदैनन् कहिले प्रमुख प्रशासकीय अधिकृत हुँदैनन् ।

मेलौली नगरपालिका–३ का वडाध्यक्ष रघुवीरसिंह भाटका अनुसार लेखापाल नहुँदा सबै काम रोकिएको छ । पुरचौंडी नगरपालिकाको पनि उस्तै हालत छ । जहाँ लेखापाल नभएकै कारण भुक्तानी रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.