मनाङमा यार्सा टिप्नेलाई आचारसंहिता
बेसीसहर : सिजन सुरु भएसँगै हिमाली जिल्ला मनाङमा यार्सागुम्बा टिप्न जानेको भीड लाग्न थालेको छ ।
हिमपात र आन्तरिक व्यवस्थापनका कारण गत वर्ष भन्दा यस वर्ष ढिला गरी खर्क खुलाइएको छ । दुई साताअघि नम्ग्याखर्कमा पुर्जी खुलाइएको थियो भने अन्य स्थानमा जेठ १ गतेबाट खुला गरिएको छ ।
संकलनकर्तालाई यस वर्ष संकलन कार्यका लागि आचारसंहिता बनाएर कडाइ गरिएको छ । यार्सागुम्बा टिप्ने ठाउँमा हुनसक्ने अवाञ्छित गतिविधि, अमर्यादित क्रियाकलाप, गुन्डागर्दी, चोरीडकैती, लुटपाटलगायत क्रियाकलाप रोक्न कडाइ गरिएको हो । संकलनकर्तालाई नागरिकताको फोटोकपी राखेर परिचयपत्रसहित पुर्जी दिने गरिएको छ ।
यार्सागुम्बा टिप्न नागरिकता अनिवार्य गरिएको छ । मनाङमा यार्सा टिप्न जिल्लाबासी मात्रै नभई अन्य जिल्लाबाट पनि जाने गर्छन् । यार्सागुम्बा संकलन गर्ने क्षेत्रमा मादक पदार्थ सेवन गर्न, जुवातास खेल्न प्रतिबन्ध लगाइएको छ । विगतका वर्षमा रक्सी खाने, रक्सीसँग यार्सागुम्बा साट्ने, यार्सागुम्बा बाजी राखेर जुवातास खेल्ने प्रवृत्ति देखिएकाले यसलाई प्रतिबन्ध लगाइएको नम्ग्याखर्क व्यवस्थापन उपसमितिका अध्यक्ष याद घलेले बताए ।