गाउँमै उद्यमी
ताप्लेजुङ : सिरिजंघा–२ की फूलमाया भट्टराईलाई सीप सिकेर गाउँमै उद्यम गर्ने रहर थियो। घरायसी कामका कारण समय मिलेको थिएन।
बिहान सवेरैदेखि बेलुकासम्म घाँस दउरा, मेलापात र घरधन्दामै बित्थ्यो। तर, एक सातायता फूलमायाको दैनिकी फेरिएको छ। घरबाट १० मिनेट दूरीमा रहेको वडा कार्यालयमा राडी बुन्ने तालिम सिक्न थालेकी छन्। फुलमायाजस्तै नौ जना गृहिणी गाउँमै राडी बुन्ने उद्योग स्थापना गर्ने उद्देश्यसहित तालिममा सहभागी छन्।
‘छ दिन भयो सिक्न थालेको’, हर्षित मुद्रामा उनले भनिन्, ‘धागो मिलाउने काम सकेर तानमा बुन्न थाल्यौं। ढिलै भए पनि रहर पूरा भएको छ।’ गाउँमा प्रगतिशील लघु उद्यमी समूह संघ दर्ता गरेर राडी बुन्ने व्यवसाय सुरु गर्ने लक्ष्य रहेको कोषाध्यक्ष सविना पौडेलले बनाइन्। ‘भेडाको उनबाट बनाइने राडीको बजार राम्रो रहेकाले आँट गर्यौं’, सविनाले भनिन्, ‘भेडाको ऊनका लागि अर्डर पनि दिइसकेका छौं।’
सिलाइ कटाइ सिक्ने इच्छा भए पनि सिदिङ्वा गाउँपालिका–२ की अस्मिता लिम्बूलाई घरपरिवारले दिएनन्। हाम्रो जातले गर्ने पेसा हैन भने। तर, उनको दृढ संकल्पका अगाडि परिवार र आफन्तको केही लागेन। अहिले घरछेउमै सिलाइकटाइ सिकिरहेकी छन्। ‘भर्खरै आँगनबाट सडकको ट्र्याक खुलेको छ’, अस्मिता भन्छिन्, ‘सिकेपछि घरमै काम सुरु गर्छु।’ स्थानीय सरकार क्रियाशील भएपछि गाउँमा चहलपहल बढेको छ।
पहिले सदरमुकामसम्म पुगेर गर्नु पर्ने काम स्थानीयस्तरमै हुन थालेका छन्। सडक सञ्जालले दूर दराजका बस्तीलाई जोड्दै छन्। त्यसैले पनि गाउँमा बसेर साना व्यवसाय गर्नेलाई अब अवसर रहेको सिरिजंघा गाउँपालिका प्रमुख टीकाराम गुरुङ बताउँछन्। गाउँपालिकाले समेत त्यस्तालाई सहयोग गर्ने उनले बताए।
अन्य ठाउँका नागरिक पनि गाउँ सुहाउँदो सीप सिकिरहेका छन्। पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बिदिनका ९ जना महिला खाँडीका कपडा बुन्न सिक्दै छन्। खाँडीको कपडा लोप हुने अवस्थामा पुगेका बेला महिलाले तदारुकता देखाएको घरेलु कार्यालय ताप्लेजुङका प्रमुख सुनिल आचार्य बताउँछन्। भर्खरै फुङलिङ नगरपालिका–७ का १४ जनाले दूधका परिकार बनाउने तालिम लिएको आचार्यले बताए। ताप्लेजुङ ललिपप, बम्बइसन, रसबरीजस्ता परिकारको राम्रो बजार रहेको सहजीकरण गर्न इलामबाट ताप्लेजुङ आइपुगेकी उद्यमी लीला भट्टराईले बताइन्।
‘पाथीभरा, कञ्चनजंघा, फुङ्फुङे झरनालगायत पर्यटकीयस्थल रहेको ताप्लेजुङमा पर्यटकको आवागमन दिनानुदिन बढ्दो छ’, उनले भनिन्, ‘तीनको दृश्यावलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यहींका उद्यमीबाट उत्पादित दुग्धजन्य पदार्थका परिकार कोशेली बन्न सक्छन्।’ सीप लिएकी मञ्जु लिवाङले उद्यमी बन्न तयार रहेको बताइन्।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत जिल्लाभर तालिम सञ्चालन गरिएको घरेलु प्रमुख आचार्यको भनाइ छ। उद्यम गर्ने दृढ योजना भएकालाई उपकरण सहयोग गर्ने तालिमको व्यवस्थापन गरिरहेको सौगात गृह माइक्रोफाइनान्सका जिल्ला कार्यक्रम संयोजक मनप्रसाद नाल्बोको भनाइ छ।