बन्द हुँदै राडीपाखी उद्योग
भोजपुर : उत्पादित सामग्रीले उचित बजार र मूल्य नपाएपछि भोजपुुरका राडीपाखी तथा अल्लोका उद्योग बन्द हुने अवस्थामा छन्।
भेडाको ऊन झिकी बनाइने राडीपाखी तथा अल्लोबाट तयारी गरिएका सामग्रीको भाउ खस्केपछि व्यवसायीलाई उद्योग चलाउन समस्या भएको हो। बजार अभावमा उत्तरी साल्पासिलिछो गाउँपालिका र पूर्वी अरुण गाउँपालिकाका विभिन्न भेगमा वर्षौंदेखि चलाइरहेका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। कच्चा पदार्थ प्रशस्त मात्रामा पाइए पनि तयारी गरिएका सामानले बजारभाउ नपाउँदा बन्द नै गर्नु पर्ने अवस्थामा पुगेको अरुण गाउँपालिका–४ चरम्बीका रानीमाया राईले सुनाइन्।
‘धेरै मेहनत गरेर राडी बनाएर बजार लग्यो। नबिकेपछि घरै फर्काउनुपर्छ। महिनौं लगाएर बनाएको राडीलाई सस्तोमा खोज्छन्। सस्तोमा दिँदा गरेको निमेक नै उठ्दैन’, उनले भनिन्, ‘अब राडीपाखी बुन्ने भेटिँदैन। भाउ नै नपाएपछि गाउँमा राडीपाखी बनाउनै छाडिसके।’ जिल्लाको उत्तरी भेगको भेडापालन हुने स्थानमा भेडाको ऊन र उत्तरी कुलुङ, दोभाने, खाटाम्मा, पूर्वको जरायोटार, चरम्बी, याकुलगायत स्थानमा अल्लोको रेशाबाट विभिन्न राडी, लुकुनी र घुमराडी बनाइन्छ। तर, पछिल्लो समय त्यसको उत्पादन क्रमश: घट्न थालेको छ। उचित मूल्य नपाएपछि व्यवसायीमा निराशा छाउन थालेको छ।
अल्लोको रेशा निकाल्ने, सुकाउने, पकाउने, कुट्ने, धुने लामो प्रक्रियाबाट सामान तयार गरिन्छ। धेरै श्रम लगाएर तयारी गरिएका ती सामान बिक्री गर्न बजार नजिकमा नहुँदा पनि समस्या हुने गरेको साल्पासिलिछो गाउँपालिका–४ खाटम्माकी अल्लो व्यवसायी मालती कुलुङले बताइन्। उनी भन्छिन्, ‘एकातिर भाउ छैन। अर्कोतिर नजिक बजार छैन। तयारी सामान भोजपुर सदरमुकामसम्म पुर्याउनै तीन दिन पैदल हिँड्नुपर्छ। गाडीमा महँगो ज्याला लाग्छ। यो व्यवसाय गर्नै चर्को भइसक्यो।’
भौगोलिक रूपमा विकट ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री बनाउँछन्। तर, गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको व्यावसायी मीना कटुवाल सुनाउँछिन्। बलियो र वर्षौंसम्म टिकाउ हुने राडीपाखी र अल्लोका कपडाभन्दा आधुनिक नयाँ फेन्सी सामान सर्वसाधरणको रोजाइमा पर्ने भएकाले पनि उद्योग संकटमा परेको व्यवसायी सुनाउँछन्।
घरेलु उद्योग बन्द हुने क्रमले भेडापालक कृषक तथा अल्लो काड्ने किसानको समेत पेसा धराशायी बनेको छ। पेसा संकटमा परेको सुनाउँदै षडानन्द नगरपालिका–९ किमालुङका भेडापालक लाक्पानेरु शेर्पा भन्छन्, ‘पहिले राडीपाखी बनाउन एक जनाले सय किलोसम्म भेडाको ऊन लैजान्थे। आजभोलि कहिलेकाँही एक÷दुईजना मात्र आउँछन्। त्यो पनि १०÷१२ केजी लैजान्छन्। किन्ने कोही नभएपछि भेडाको ऊन नै झिक्न छोडिसक्यौँ।’
घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रूपमा विकास गर्ने योजना रहेको बनाएको छ। राडीपाखी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्ने, तालिम दिने योजना बनाइएको समितिका प्रमुख चेतननाथ गौतमले बताए। उनका अनुसार षडानन्द नगरपालिका र अरुण गाउँपालिकाको अल्लो तथा राडीपाखी व्यवसायीलाई तालिम र आवश्यक औजार वितरण गर्ने तयारी भइरहेको छ। यसका साथै सदरमुकाम र विभिन्न जिल्लाका बजारमा कोशेली घरको स्थापना गरी यसको बजारीकरण समेत गरेर लैजाने उनले बताए।