उत्तर कोरियाली गतिविधिमा अमेरिकी चासो

उत्तर कोरियाली गतिविधिमा अमेरिकी चासो

काठमाडौं : उत्तर कोरियाले नेपालमा रहेर सञ्चालन गरेको अवैध गतिविधिबारे अमेरिकाले विशेष चासो रहेको स्पष्ट पारेको छ। अमेरिकाले उत्तर कोरियाली गतिविधि यस क्षेत्रको खतरा रहेको भन्दै त्यसमा सचेत हुन नेपाल सरकारलाई आग्रह गरेको छ। विश्वबाट एक्लिँदै गएको उत्तर कोरियाले नेपालमा अवैध गतिविधि तीव्र बनाएको सूचनासहित अमेरिकाले यस्तो धारणा राखेको हो। पछिल्लो समय अमेरिकाले चीनको बीआरआईसँगै उत्तर कोरियाको विषय पनि उठाउँदै आएको छ।

दक्षिण एसिया मामिलाका उपसहायक मन्त्री डेभिड जे रेन्जले गृहमन्त्री रामबहादुर थापासँग बुधबार भेट गर्दै अमेरिकी चिन्ता र चासो व्यक्त गरेका हुन्। उनले उत्तर कोरियाली अवैध गतिविधि रोक्न नेपाल सरकारलाई आग्रह गरेका थिए। उत्तर कोरियाले नेपालभित्रबाट बैंकिङ ह्याकिङको योजना बनाएको दाबी अमेरिकी अधिकारीहरूको छ।

रेन्ज भारतको मुम्बईका लागि कन्सुलेट जनरलमा नियुक्ति सिफारिस भएका व्यक्ति हुन्। अहिले उनले त्यहाँबाट यही क्षेत्र हेरिरहेका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक अमेरिका भ्रमणको समयमै अमेरिकी समकक्षी माइक पम्पेओले उत्तर कोरियाली अवैध गतिविधिबारे चिन्ता व्यक्त गरेका थिए। नेपालमा उत्तर कोरियाली अवैध गतिविधि नरोकिएकोमा अमेरिकी उपसहायक मन्त्री रेन्जले मंगलबार सञ्चारकर्मीसँग पनि गुनासो गरेका थिए।

उत्तर कोरियाका विषयमा अमेरिकी दूतावासले पनि पटकपटक सरकारको ध्यानाकर्षण गराएको थियो। उत्तर कोरियामाथि कठोर नाकाबन्दी जारी रहेको र राष्ट्रसंघको निर्णय ख्याल गर्न अमेरिकाले आग्रह गर्दै आएको छ।

अमेरिकाले बीआरआई मात्र नभएर उत्तर कोरियासमेत जोडेर नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै भ्रमण बाक्लो पारेको छ। अमेरिकालाई नेपालको राजनीतिक धरातलबारे बढी चासो रहेको विज्ञहरू बताउँछन्। ‘नेपालले अमेरिका र चीनबीच एउटामात्र मित्र छान्न सक्दैन। हामीलाई दुवै मित्र आवश्यक छ,’ दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख डा. निश्चलनाथ पाण्डेले भने, ‘बीआरआईमा हामीले हस्ताक्षर गरिसकेका छौं। यसबाट पछि हट्न सकिँदैन। त्यसबारे हामीले अमेरिकालाई बुझाउन सक्नुपर्छ।’

उनका अनुसार अमेरिका र चीनबीचको व्यापार द्वन्द्व बढ्दै जानु हाम्रा लागि चिन्ताजनक हो। उनले भने, ‘हामी कूटनीतिमा सचेत भएर आफ्नो समस्या आफंै समाधान गर्न विज्ञतामा जोड दिन आवश्यक छ। अमेरिकाले उत्तर कोरियाका सम्बन्धमा राखेको चासोप्रति नेपाल थप सचेत हुनैपर्ने उनले बताए।

गृहमन्त्रीसँगको भेटमा उपसहायक मन्त्री रेन्जले अमेरिका र नेपालबीचको पुरानो सम्बन्ध थप बलियो बनाउन साझा समस्यामा सहकार्य गर्नुपर्ने बताएका थिए। भेटमा रेन्जले अमेरिकाले आतंकवादसँग जुध्न र आतंकवादी खतरालाई निस्तेज पार्न सबैसँग सहकार्य गर्ने बताएका थिए। उनले नेपाललाई पनि त्यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयका अधिकारीले बताए।

नेपालमा शक्ति र उदय शक्ति मात्र होइन आतंक मच्चाउने मुलुक वा समूह पनि सक्रिय बन्न सक्ने धारणा चीन, नेपाल र भारत त्रिपक्षीय सहकार्यबारे बहस चलाउँदै आएका भाष्कर कोइरालाको छ। उनले अन्नपूर्णसँग भने, ‘नेपालमा अमेरिका र चीनको बाक्लो उपस्थिति हुन थालेको छ। यसबारे सरकार र सबै दलबाट समान धारणा आउनुपर्छ।’

कुनै पनि समस्यालाई कसैप्रति लक्षित नगरी नेपालले आफ्नो तवरले समाधान गर्न आवश्यक रहेको धारणा उनको छ। ‘आन्तरिक रुपमै यस्ता समस्या समाधान गर्दै त्यस्तो शक्तिको चासोलाई मनन गरेर अघि बढ्न सक्नुपर्छ,’ कोइरालाले भने, ‘हामीले आन्तरिक गृहकार्य गर्नुपर्छ। अध्ययनमा कन्जुस्याइँ गर्न हुँदैन।’ उत्तर कोरियका विषयमा अमेरिकी चासो जायज रहेको उनको भनाइ छ।

बीआरआई र इन्डो प्यासिफिक रणनीति एकअर्र्का मुलुकको आफ्नो रणनीति भए पनि उत्तर कोरियाली समस्या फरक रहेको उनले बताए। उत्तर कोरिया आणविक र क्षेप्यास्त्र कार्यक्रमकै कारण विश्वबाट एक्लिँदै गएको छ। तर उत्तर कोरियालीलाई नेपाल आवागमन सहज छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.