नवलपरासीका नाका तीन दिन बन्द
परासी : भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका लागि पश्चिम नवलपरासीका सीमा नाका तीन दिनका लागि बन्द गरिएका छन्। जिल्ला सुरक्षा समितिले शुक्रबारदेखि आइतबारसम्मका लागि सीमा नाका बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए।
निर्णयपछि सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। बन्द हुने सीमा नाकामा महेशपुर, भूजहवा, विस्नुपुरा, झोलनिपुरलगायत भारतको उत्तरप्रदेशसँग जोडिएका प्रमुख र सहायक नाका रहेको प्रजिअ लामिछानेले बताए।
लोकसभा निर्वाचन जेठ ५ गते (१९ मे) हुँदै छ। त्यसका लागि जेठ ३ गते बिहानदेखि ३ बजेदेखि जेठ ५ गते साँझ ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो। सीमा नाका बन्द भएपछि एक देशबाट अर्को देशमा आवतजावतमा रोक लगाइएको छ। जिल्लाको २८ किमि भारतको उत्तरप्रदेशसँग सीमाना जोडिएको क्षेत्र छ।