प्रदेश ५ को बजेट अधिवेशन सुरु : नमुना प्रदेश बनाउ सुझाव
बुटवल : प्रदेश नं ५ को बजेट अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले जेठ २ गते बैठक आह्वान गरेका थिए ।
यो प्रदेशसभा स्थापनाको चौथो अधिवेशन हो । बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले बजेटको रुपरेखाको विषयमा सरकारलाई सुझाव दिएका छन् ।
उनीहरुले नमुना प्रदेश निर्माणको खाका सहित पछाडि परेको क्षेत्र समेट्ने बजेट बनाउन आग्रह गरे । समृद्ध प्रदेश निर्माणका लागि योजनामा आधारित बजेट आवश्यक हुने भन्दै त्यसमा ख्याल गर्न सांसदहरुले आग्रह गरेका थिए ।
बैठकमा बोल्दै नेकपाका सांसद कृष्णध्वज खड्काले मुलुककै नमुना प्रदेश बन्ने गरी कार्ययोजना सहितको बजेट ल्याउन सुझाव दिए । प्रदेश निर्माणमा सत्तापक्ष र विपक्षी हुन आवश्यक नरहेको उनले बताए ।
कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले ग्रामीण क्षेत्रका जनताले परिवर्तनको आभास पाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए । जनताका आधारभुत आवस्यकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने उनको भनाइ थियो ।
समाजवादी पार्टीका सांसद सहषराम यादवले कृषिको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने भन्दै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने सुझाव दिए ।
यस्तै बैठकमा राजपा सांसद कल्पना पाण्डेले प्रदेश सरकार अन्र्तगत अहिलेसम्म महिला संरचना नबनेकाले महिलाका समस्या राख्ने एउटा छुट्टै संरचना बनाउन सुझाव दिइन् ।
बैठकको प्रारम्भमै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रदेशसभाको अर्को बैठक जेठ ९ गते दिउसो १ बजे बस्ने गरी स्थगित भएको छ । जेठ ९ गतेको लागि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।