बाँदर आतंकले जग्गा बाँझै
स्याङ्जा : गल्याङ नगरपालिका–१० स्थित डुबिन्डाँडाको भुतिया गाउँ बाँदर आतंकले वर्षौंदेखि मारमा परेको छ। खेतबारी बाँझिएका छन्। सिंगो गाउँ लगभग रित्तो भएको छ। जे रोपे पनि बाँदरले सखाप पार्ने भएकाले स्थानीय बाध्य भएर जग्गा बाँझै छाड्न बाध्य छन्। गाउँ छाडेर धेरै हिँडेका छन्। बाँदर आतंकका कारण सो वडाका ३० घरपरिवार बसाइँ–सराइको सिफारिस लिन आएको वडा कार्यालयले जनाएको छ।
सिँचाइ सुविधा भएका खेत पनि बाँझै छन्। खेती लगाए पनि खानेबेला नहुँदै बाँदरले सखाप पारिदिने सिमलसौराका राम शर्माले बताए। ‘आफ्नो जग्गामा जे लगाए पनि राम्रो उत्पादन हुन्छ, माटो उर्वर छ। तर, बाँदरले केही राख्दैन’, उनले भने। बाँदरकै कारण बाध्य भएर खेतबारी बाँझै राख्नुपरेको उनले सुनाए। गाउँका धेरैजसो जग्गा बाँझै छन्। एउटै व्यक्तिको १० देखि २० रोपनीसम्म जग्गा बाँझो छ। सो वडामा मात्र करिब हजार रोपनी जग्गा बाँदर आतंकका कारण बाँझै रहेकोे वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले जानकारी दिए।
वडाको सबभन्दा ठूलो समस्या बाँदर बनेको छ। सो क्षेत्रमा जताततै बाँदर आतंक छ। यसअघि गल्याङ नगरपालिकाले बाँदर नियन्त्रण गर्न केही प्रयास गरेको थियो। तर, प्रभावकारी हुन सकेन। समस्या समाधानका लागि केन्द्रबाटै विशेष कार्ययोजना आउनुपर्ने वडाध्यक्ष शर्माको भनाइ छ। ‘हुलका हुल बाँदरले केही राख्दैन। खान मिल्ने खान्छ, खानै नमिल्ने पनि सत्यानास पार्छ। बारीमा खुर्सानीबाहेक केही बाँकी राख्दैन’, पूर्व कृषि बागवानी अधिकृत ख्यामनारायण चापागाईंले भने। उनका अनुसार एक ठाउँबाट लेखेटेर अर्को ठाउँ पु¥याए पनि समस्या समाधान हुन सकेको छैन। ‘बाँदर नियन्त्रण गर्न राज्यले नीतिगत व्यवस्था बनाउन आवश्यक देखिएको छ’, उनले भने, ‘यस क्षेत्रका लागि यो ठूलो समस्या बनेको छ।’
बाँदरले घरभित्रै पसेर भण्डारण गरिएका खाद्यान्नसमेत खान थालेको छ। ‘घरमा कोही नभएका बेला घरभित्र पसेर अन्नपात खान पल्केको छ’, गल्याङ–११ का माया भण्डारीले भनिन्, ‘घरमा राखेका मकैका झुत्तासमेत बोकेर हिँड्न थालेको छ।’ गल्याङका साथै जिल्लाका अन्य भागमा पनि बाँदर आतंक छ। ‘खेतबारीमा भएका फलफूल, अन्न, तरकारी मात्र होइन, आँगनमा सुकाएको बिस्कुनसमेत बाँदरले राख्दैन’, भीरकोट नगरपालिका–१ की सीता अर्यालले भनिन्।
नगरपालिकाले भारतबाट बाँदर छोप्ने प्राविधिक ल्याए पनि समस्या समाधान हुन सकेको छैन। कति बाँदर छोपेर चितवन राष्ट्रिय निकुञ्ज लगिए पनि अन्य क्षेत्रका बाँदर आएर फेरि दुःख दिने गरेको स्थानीय मायापल्ली मगरले बताइन्।