अनुदान लिएनन् ४ हजार भूकम्पपीडितले

अनुदान लिएनन् ४ हजार भूकम्पपीडितले

नुवाकोट : भूकम्पले घर भत्किएका हजारौं सेवाग्राही अझै बेखबर छन्। विदुर र बेलकोटगढी नगरपालिकाका साथै १० गाउँपालिका रहेको नुवाकोटमा भूकम्पका कारण एक हजार एक सय १२ जनाले अकालमै ज्यान गुमाउनुपरेको थियो भने ५ हजार जना घाइते भएका थिए।

पहाडी संरचना रहेको नुवाकोटमा साढे ४ हजार भूकम्पपीडित अझै हराइरहेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका अनुसार भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका छन्।

उनीहरू चार वर्ष बित्दासमेत भूकम्प प्रभावित लाभग्राही अनुदान प्रक्रियामा सहभागी नभई अझै गुमनाम भएका हुन्। भूकम्पबाट घर भत्किएर पीडित ४ हजार पाँच सय ८८ घरपरिवार पहिलो किस्ता अनुदानसमेत नलिई सम्पर्कविहीन छन्। ‘यति ठूलो संख्यामा रहेका भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएर पनि पुनर्निर्माण प्राधिकरणको सम्पर्कमा आएका छैनन्’, प्राधिकरणका नुवाकोट प्रमुख विकी लाखाजुले भने। ‘यसरी लाभग्राहीका रूपमा सम्पर्कमा नरहेकाहरू कहाँ होलान् !’ उनले आश्चर्य व्यक्त गरे।

भूकम्पमा परी घर नभत्किएका, बस्न योग्य एकभन्दा बढी घर भएका, एकाघरमै रहेर पनि भूकम्पपीडित लाभग्राहीको सूचीमा आफूलाई राखिएका र बस्नयोग्य घर भएर बनाउन आवश्यक नपरेकाहरू हुन सक्ने प्राधिकरण कार्यालयको अनुमान छ। सम्पर्कमा आएमा आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ। भूकम्प गएको चार वर्ष बितिसक्दा पनि नुवाकोट जिल्लामा भूकम्पपीडितको घर पुनर्निर्माणको गति अझै पनि निराशाजनक छ। भूकम्पले जिल्लामा ध्वस्त हुन पुगेका ७६ हजार घरमध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन बाँकी छन्।

सरकारले अबको दुई महिना अर्थात् असार मसान्तसम्म पुनर्निर्माण गरिसक्नुपर्ने समयसीमा तोकिदिएको छ। तर, अहिलेसम्म ३९ प्रतिशत घर निर्माणले मात्रै पूर्णता पाएकाले बाँकी घर समयमै बनिसक्नेमा शंका थपिएको छ। नुवाकोटमा ७६ हजार पाँच सय ५१ घरधुरी भूकम्पबाट प्रत्यक्ष प्रभावित भएका थिए। जसमध्ये सरकारी मापदण्ड पूरा गरेका ३२ हजार चार सय घर निर्माण हुन बाँकी छ।

हालसम्म ४४ हजार ८९ घर निर्माण सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोटमा पहिलो किस्ता अनुदान रकम लिएकाहरू ७१ हजार नौ सय ६३ अर्थात् ९४ प्रतिशत परिवार छन्।

यसैगरी, पहिलो र दोस्रो किस्ता अनुदान लिएका घरपरिवार ८९ प्रतिशत अर्थात् ६४ हजार एक सय ७६ छन्। यसैगरी, पहिलो किस्ता अनुदान लिएर दोस्रो किस्ताका लागि १२ हजार तीन सय ७५ परिवारले घर पुनर्निर्माणमा चासो देखाएका छैनन्।

दोस्रो किस्ता लिएका तर तेस्रो किस्ता अनुदान पाउन बाँकी २० हजार ८७ लाभग्राही छन्। लाभग्राही सूचीमा सूचीकृत भएका भूकम्पपीडित परिवारलाई निर्माण सम्पन्न भएपछि अन्तिम तेस्रो किस्ता अनुदान ४ अर्ब ४० करोड ८९ लाख निकासा भइसकेको छ।

बाँकी घरको निर्माणले गति लिइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटले जनाएको छ। यसअघि लामो समयसम्म निर्माण सामग्री अभाव, कामदार अभाव र स्वयं भूकम्पपीडित तथा पुनर्निर्माण प्राधिकरणको सुस्ततालगायत कारण पुनर्निर्माणमा ढिलाइ हुँदै आएको थियो।

पछिल्लो ५÷६ महिनायता पुनर्निर्माणले द्रुतगति लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटका प्रमुख विकी लाखाजुले बताए। ‘मंसिरसम्म पुनर्निर्माणको गति अत्यन्त्यै सुस्त थियो’, प्रमुख लाखाजुले भने, ‘घर निर्माणमा धेरै जटिलता थिए।’ सरकारले दिएको अन्तिम घर निर्माण समयसीमा यसै वर्षको असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.