१० करोड डलर चोर्ने साइबर गिरोह ‘गोज्निम’ छिन्नभिन्न
लन्डन : इन्टरनेट प्रयोग गरी १०अमेरिकी डलर (७ करोड ७० लाख बेलायती पाउन्ड) चोरेको अन्तर्राष्ट्रिय साइबर अपराधी गिरोह ‘गोज्निम’ प्रहरीले छिन्नभिन्न पारेको छ। ६ देशका प्रहरीको संयुक्त अभियानले गिरोह छिन्नभिन्न पार्नुका साथै चोरीमा संलग्न १० जनालाई अमेरिकी सहर पिट्सबर्गमा पक्राउ गरेको छ।
गोज्निमले ती देशका ४० हजारभन्दा बढी व्यक्तिको रकम चोरेका थिए। गोज्निम छिन्नभिन्न पार्न अमेरिका, बल्गारिया, जर्मनी, जर्जिया, मोल्दोभा र युक्रेनका प्रहरीले चलाएको संयुक्त अभियान निकै जटिल थियो।
इन्टरनेट बैंकिङका प्रयोगकर्ताको कम्प्युटरमा गिरोहले ‘गोज्निम’ भाइरस (मालवेयर) पठाउँथ्यो। आफ्ना बैंक खाता अनलाइन कारोबार गर्दा चलाउँदा प्रयोगकर्ताका बैंकसम्बन्धी सबै विवरण भाइरसले गिरोहलाई पठाउँथ्यो। तिनै विवरण प्रयोग गरि गिरोहले बैंक खाताबाट रकम चोर्थे।
इन्टरनेट ह्याकिङमा सिपालु अपराधीहरूले इन्टरनेटमा त्यस्ता सिपको विज्ञापन गरी आपसमा गिरोह बनाएको हेगमा प्रधान कार्यालय रहेको युरोपोल (युरोपियन पुलिस एजेन्सी) ले जानकारी दिएको छ। युरोपोलले गिरोहका गतिविधिको विस्तृत विवरण बिहीबार हेगमा दिएको हो। उसले ६ देशका प्रहरीले आपसी समन्वयमा गिरोह छिन्नभिन्न पार्नु अभूतपूर्व सफलता भएको बताएको छ।
युरोपोलका अनुसार गोज्निम नेटवर्कमा १० जना साइबर अपराधी थिए। उनीहरूलाई अमेरिकामा पक्राउ गरि चोरी र मनि लन्डरिङलगायत निकै वटा अभियोगमा मुद्दा चलाइएको छ। उनीहरूले मनि लन्डरिङमा अमेरिका र अन्य देशका बैंक खाता प्रयोग गरेको अभियोग पनि लगाइएको छ।
भाडामा साइबर अपराध
तर गोज्निम भाइरस बनाउने र इन्टरनेटमा गिरोह संगठित तथा नियन्त्रण गर्ने एक जनासहित गिरोहमा संलग्न ५ रसियाली भने फरार भएका छन्। उनीहरूले अन्य साइबर अपराधीलाई समेत भाडामा भाइरस दिने गरेको खुलेको छ। युरोपोलका अनुसार गिरोहले इन्टरनेटमा साइबर अपराध सेवा नै चलाएका थिए।
गोज्निमका १० जनासँगै अमेरिकाबाहेक अन्य देशमा रहेका गिरोहका सदस्य पनि यतिबेला पक्राउ परेका छन्। एक प्राविधिक सहायकसहित गिरोहको मुख्य नेता जर्जियामा पक्राउ परेका छन्। बैंक खाताहरूबाट रकम सार्ने अर्को सदस्यलाई बल्गारियाबाट पक्राउ गरी मद्दा चलाउन अमेरिका पठाइएको छ।
गोज्निम भाइरस इन्क्रिप्ट गरी कसैले भाइरस पत्ता लगाए नलगाएको हेर्ने अर्को एक प्राविधिक सदस्यलाई मोल्दोभामा पक्राउ गरी मुद्दा चलाइएको जानकारी युरोपोलले दिएको छ। गिरोहका २ सदस्यलाई भने जर्मनीमा पक्राउ गरी मनी लन्डरिङको अभियोगमा मुद्दा दायर गरिएको छ।
ससाना व्यापारी, व्यवसायी, वकिल, अन्तर्राष्ट्रिय कर्पोरेसन र नाफा नकमाउने गैरसरकारी संस्थाहरू गोज्निम गिरोहका सिकार भएका थिए।
सरे विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक प्रोफेसर एलन उडवार्डका अनुसार यो काण्डले कसरी इन्टरनेटसम्बन्धी ज्ञान र सिप साइबर अपराधमा प्रयोग हुन्छ प्रष्ट पारेको छ। ‘मालवेयर (भाइरस) निर्माताले आफ्नो उत्पादनको विज्ञापन गरे, जसबाट अन्य अपराधीले बैंकबाट रकम चोर्न सजिलै त्यसको प्रयोग गरे’, उनले भने, ‘यस्ता अपराध गर्न संगठित सेवा दिने काम पछिल्लो समय बढिरहेको छ। यसले लागुऔषधका तस्कर साइबर क्राइमतिर आकर्षित हुन थालेका छन्।’
के हो ‘गोज्निम’ ?
‘गोज्निम’ दुई बेग्लाबेग्लै मालवेयर मिसाएर विकास गरिएको मालवेयर (आपराधिक÷खराब सफ्टवेयर) हो। यसको विकासमा ‘निमाइम’ र ‘गोजी’ मालवेयरको मि श्रण गरिएको छ।
यीमध्ये पहिलो अर्थात निमाइमलाई ‘ड्रपर’ सफ्टवेयर हो। यस्तो सफ्टवेयरले अर्को मालवेयरलाई कम्प्युटर (डिभाइस) मा इन्स्टल (जडान) गर्छ। सन् २०१५ सम्म यसको प्रयोग खासगरी डिभाइसमा ‘र्यान्समवेयर’ पठाउन गरिन्थ्यो।
‘गोजी’ मालवेयर भने सन् २००७ यता प्रचलनमा छ। त्यसयता यो नयाँ प्रविधियुक्त भएर आर्थिक सूचना तथा जानकारी चोर्ने गरी विकसित भएको छ। यसलाई अमेरिकी बैंकमा संगठित साइबर आक्रमण गर्न प्रयोग गरिएको थियो। दुवै मालवेयर मिसाएर विकसित ‘गोज्निम’ लाई आईटी विशेषज्ञले ‘दुईटाउके राक्षस’ उपमा दिएका छन्।