मुक्त हलियामाथि राजनीति : डेढ करोड खर्चेर बनेकाे घरमा काेही छिरेनन्
डोटी : मुक्त हलिया पुनस्र्थापनाका लागि डोटीमा सरकारले गरेको डेढ करोभन्दा बढी लगानी खेर गएको छ ।
सरकारकै लापरवाही र माफियाहरुको चलखेलका कारण न सरकारी लगानी सदुपयोग भयो, न त मुक्त हलिया राम्ररी बस्न नै पाए । पुर्नस्थापना सम्बन्धी नीतिका आधारमा गत आर्थिक वर्ष सरकारले मुक्त हलियालाई बसोबासका लागि एक करोड ५७ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो ।
पूर्वी चौकी गाउँपालिका–२ बगलेक र दिपायल सिलगढी नगरपालिका–७ उडीतोलामा सरकारले उपलब्ध गराएको रकमबाट एक सय परिवारमध्ये ३० परिवारले जमिन खरिद गरी घर पनि बनाएका थिए । तर घर निर्माण गरेको एक वर्ष बित्न लाग्दा पनि जम्मा दुई परिवार घरमा बसेका छन् । बाँकी घर खाली नै छन् ।
घर त बने पूर्वाधार भएन
बस्नका लागि बनाइएका घरमा न्युनतम पूर्वाधार नै नहँुदा बस्ने अवस्था नरहेको स्थानीयको गुनासो छ । मुक्त हलिया रहेका बगलेखका गम्भीरे कोली भन्छन्, ‘जग्गा किन्ने बेला अनेक कुरा सुनाएर पानी समेत नभएको जंगलमा जमिन किन्न बाध्य पारे । किनिसकेपछि वास्तै गरिदिएनन् ।’
उनीहरुमध्ये १८ परिवारले बगलेखमा र १२ परिवारले उडीतोलामा घर बनाएका थिए । तर अहिले पूर्वाधारको अभावमा उनीहरु नयाँ घरमा बस्न सकेका छैनन् ।
पूर्व सांसद समेत रहेका मुक्त हलियाका नेता मोहन बमले जमिन खरिद गर्ने बेला खानेपानी, विद्यालय र विद्युत् बस्तीमै पुर्याइदिने आश्वासन दिएको बताउँछन् गाउँलेहरु ।
तर अहिले त्यस्तो केही नहुँदा बस्न नसकेको उनीहरुको गुनासो छ । मुक्त हलिया मौरी नेपाली भन्छिन्, ‘घरमा पटक पटकआएर किन्ने भए किन, नभए पैसा फ्रिज जान्छ । आखिर तिमीहरुले केही पनि पाउँदैनौ भने । गाडीमै हालेर मालपोत कार्यालय लगे, गाडीमै घर पु¥याइदिए । आफ्नै नेताहरुले राम्रै हुन्छ, सरकारबाट अरु पनि सेवा सुविधा पाइन्छ भनेपछि हुरुक्कै भएर जमिन किन्यौँ । तर अहिले केही सुविधा छैन ।’
अधिकांश मुक्त हलिया जमिन खरिदका लागि जमिनका मालिक मोहन बमको विश्वासमा परेर आफूहरु ठगिएको आरोप लगाउन थालेका छन् । मोहन बम भने हलियाहरुको इच्छा अनुसार नै जमिन किनाएको बताए । ‘मेरो जमिन हो, मैले कसैलाई पनि बेच्न सक्छु । तर मैले जमिन बेच्ने बेला कसैलाई आश्वासन दिएको थिइनँ,’ नेता मोहन बम भन्छन् ।
घर बनाएको जमिन नै विवादित
पुर्वी चौकी गाउँपालिका वडा नम्बर २ बगलेकका ३० मुक्त हलिया परिवारमध्ये गाउँसँगै जोडिएको बाटेओखड जंगलमा १८ हलिया परिवारले साँघुरा तीन कोठे झुपडी बनाएका छन् । १२ परिवारले भने दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ७ उडीतोलामा बनाए ।
तर बाटेओखड जंगलमा मुक्त हलियाले किनेर घर बनाएको जमिन ०७४ सालदेखि नै विवादित जमिन रहेको उनीहरुले अहिले मात्रै थाहा पाएका छन् । बाटेओखडमा रहेको जमिन १४ मुक्त परिवारले सहदेव खाती र चार परिवारले बिमला बमको जमिन १२÷१२ आनासम्म किनेर घर बनाएका थिए । बिमला मोहन बमकी श्रीमति हुन् ।
मुक्त हलियाहरुले खरिद गरेको बाटेओखडको जमिन एक वर्षअघिसम्म मोहन बमकै हर्टीकल्चर प्रालीको नाममा थियो । ०७४ सालमा हलियाहरुको सामुहिक बस्ती बसाउन सरकारले नै जमिन खरिद गरी घर बनाएर उनीहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम ल्यायो । जसका लागि जमिन खरिद गर्न मात्रै ७८ लाख बजेट आएको थियो ।
यस क्रममा नेकपा विप्लवका नेताकार्यकर्ताले मालपोत कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कमीसन खाएको भन्दै कालोमोसो दलेर दुव्र्यवहार समेत गरे ।
पुर्नस्थापनाका लागि छनोटमा परेका एक सय परिवारलाई जमिन र घर निर्माणका लागि नगद नै दिने गरी बजेट आएको थियो । ०७४ को बजेट विवादका कारण फ्रिज गएको कुरा नजिर बनाउँदै माफियाहरुले हतारमा जमिन खरिद गर्न लगाएको स्थानीय मुक्त हलिया प्रकाश बिकको आरोप छ । त्यसो त मुक्त हलियाका लागि बनाइएका नयाँ घर मापदण्ड समेत पूरा भएका छैनन् । यसले पनि उनीहरु नयाँ घरमा बस्न तयार छैनन् ।