विधेयकविरुद्ध उत्रिए कालिकोटका पत्रकार
कालिकोट : सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध कालिकोटका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरेका छन्। प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधेयकमा प्रेस स्वतन्त्रता विरोधी बुँदा तत्काल संशोधन गर्न मागसहित कालिकोटको जिल्ला प्रशासन कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका हुन्।
कलम, डायरी, क्यामेरा, भ्वाइस रेकर्डरलगायतका सञ्चार सामग्री प्रशासन परिसरमा राखेर विरोध प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ कालिकोटले जनाएको छ।
विरोध प्रदर्शनपछि महासंघका कर्णाली प्रदेश सदस्य तथा प्रेस युनियन कालिकोटका अध्यक्ष बिष्णु न्यौपाने, महासंघ जिल्ला शाखा अध्यक्ष तुलाराम पाण्डेले लोकतान्त्रिक सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोज्नु बिडम्बना भएको बताए।
उनीहरुले सरकारले प्रेसलाई नियमन गर्नु अन्यथा होइन, तर अहिले नियन्त्रण नै गर्ने नियत राखेर विधेयक ल्याइएको दाबी गरे।पत्रकारितालाई व्यवस्थित, मर्यादित बनाउने नाममा नियतबस आएका बुँदाले प्रेस स्वतन्त्रतामा कुनै पनि बाहनामा आक्रमण गर्ने उनीहरुको दाबी छ।
यसले प्रेस स्वतन्त्रतासँगै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमा समेत प्रभाव पार्न सक्ने खतरा देखिन्छ। नेपाल प्रेस युनियन कालिकोटका उपाध्यक्ष पुष्पराज भट्टराई, रिपोटर्स क्लब कालिकोटका अध्यक्ष बिश्वनाथ सिम्खाडालगायतका पत्रकारले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरी ल्याइएको विधेयक नसच्याए दुर्भाग्य हुने बताए।