बुद्धमय बन्दै भैरहवा
भैरहवा : गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्धारको रुपमा रहेको भैरहवा बुद्धमय बनिरहेको छ। भैरहवाका मुख्य सडकहरुमा गौतम बुद्धको प्रतिमा राख्न थालिएको हो। शुक्रबार मात्रै दुईबछटा अनावरण गरियो।
२५६३ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा प्रदेश-५ का उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीले भैरहवामा बुद्ध मूर्तिको अनावरण गरे। उनले बुद्धको मूर्ति राखेर मात्रै नभई अब नगरलाई हरियाली र प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिए।
लुम्बिनीसँग सबैभन्दा नजिक रहेपनि भैरहवामा बुद्धसँग सम्बन्ध झल्काउने खासै कुनै पनि वस्तु नभएको कारण सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्र भित्र बुद्ध मूर्ति राख्न सुरु गरेको हो।
पहिलो चरणमा भैरहवा क्षेत्रको बेलहियादेखि अञ्चलपुरसम्म करिब २ सय मिटरको दुरीमा बुद्ध मूर्ति राखिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए। उनका अनुसार यस बाहेक लुम्बिनी सडकखण्डमा पनि बुद्धचोकदेखि मायादेवी चोकसम्म मूर्तिहरु राखिने छ।
बुद्धको प्रतिमा राख्न पहिलो चरणको लागि नगरपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको थियो। बुद्ध मूर्ति राख्नु नगरपालिकाले मात्र नभई भैरहवामा क्रियाशिल सबै संघ संस्थाको दायित्व भएकोले अभियानमा सहयोग गर्न प्रमुख अधिकारीले अपिल गरे। पितलको धातुमा सुनको लेपन लगाएर मूर्ति बनाइएको छ। उनका अनुसार अहिले दुईवटा मूर्ति राखिए पनि महिना भित्रै १० मूर्ति राखिने छ।
बुद्ध मूर्तिसँगै भैरहवाकै बैंकरोड बुद्धत्व झल्किने गरि सबै घर एकै प्रकारको रङ्गले रंगाउने भएको छ । पहिलो चरणमा बैंकरोडबाट सुरु गरी विस्तारै नगरको अन्य क्षेत्र हुदै सबै घर एउटै रंगको गराउने नगरपालिकाको योजना छ।