राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस ठप्प: आन्दोलनरत नर्स प्रहरी नियन्त्रणमा

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस ठप्प: आन्दोलनरत नर्स प्रहरी नियन्त्रणमा

भक्तपुर : भक्तपुरको दूधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विगत वैशाख ११ गतेदेखि अशान्त छ। सरकारले स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका अत्यावश्यकीय क्षेत्रमा हड्ताल, धर्ना तथा आन्दोलन गर्न नपाइने कानुन बनाएको छ।

तर, सरकारी स्वास्थ्य केन्द्र राष्ट्रिय प्रत्यारोपण केन्द्र नर्सको आन्दोलनको कारण अशान्त हुँदै आएको छ। नर्सको आन्दोलनको कारण केन्द्रले प्रवाह गर्दै आएको सेवा प्रभावित हुँदै आएको छ। जसले गर्दा मृगौला रोगीले निर्धक्कसँग उपचार गराउन पाएका छैनन्।

आन्दोलनको कारण मृगौला फेल भएर बाँच्ने अन्तिम आशा लिएर केन्द्रमा उपचार गर्न आउने बिरामी बढी प्रभावित भएका छन्। नर्सको आन्दोलनको कारण केन्द्रको बहिरंग र अन्तरंग सेवा राम्ररी चल्न सकेको छैन। 

चिकित्सकले निश्चिन्त भएर मृगौला प्रत्यारोपणलगायतका शल्यक्रिया गर्न पाएका छन्। अंग प्रत्यारोपण भएका तथा शल्यक्रिया भएका बिरामीले केन्द्रभित्रै राम्रो रेखदेख पाउन सकेका छैनन।

बहिरंगमा आएका बिरामीहले चिकित्सकसँग राम्रो परामर्श गर्न पाएका छैनन्। मृगौला फेल भएकाले हप्तामा कम्तीमा दुईपटक चार घन्टा लगाएर गर्नुपर्ने नियमित डाइलासिस गर्न पाइरहेका छैनन्। आन्दोलनकारी नर्सले डाइलासिस वार्ड लक्षित आन्दोलन गरेका छन्। जसले गर्दा डाइलासिस गर्न आएका बिरामीले आधा समयमात्रै डाइलासिस गर्न पाइरहेका छन्।

आन्दोलनकारी ११  नर्स पक्राउ
शुक्रबारदेखि नर्सले पूर्ण रुपमा डाइलासिस सेवा ठप्प पारेर आन्दोलन अघि बढाएका छन्। गएको शुक्रबारबाट केन्द्रकी नर्स डिकी शेर्पा आमरण अनसन बसेकी छन्। 

आमरण अनसन बसेको हप्तादिन हुँदा पनि आफूहरुको माग सम्बोधन नभएपछि शुक्रबार उनीहरुले डाइलासिस सेवा ठप्प पारेका हुन्।

नर्सहरु डाइलासिस सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि महानगरीय प्रहरी परिसर भक्तपुरले आन्दोलनरत केन्द्रका ११ जना नर्सहरुलाई नियन्त्रणमा लिएको छ। आन्दोलनमा उत्रिएका नर्सहरुलाई नियन्त्रणमा स्थिायी गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।

उनीहरुले करारमा कर्मचारी भर्ना गर्ने व्यवस्था हटाउनसमेत माग गरेका छन्। त्यस्तै केन्द्रमा कर्मचारी व्यवस्थापन गर्न निकालिएको विज्ञापन स्थगित गर्नुपर्ने मागसमेत गरेका छन्। केन्द्रमा ९६ जना नर्सिङ स्टाफहरु करारमा कार्यरत छन्।

मृगौला पीडित पनि आन्दोलित
त्यस्तै केन्द्रको डाइलासिस सेवा ठप्प पारिएपछि मृगौला पीडितहरु पनि आन्दोलित भएका छन्। स्वास्थ्य सेवा पाउने बिरामीहरुको नैसर्गिक अधिकार कुन्ठित गरिएको भन्दै उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

डाइलासिस सेवा नपाए आफूहरुको स्वास्थ्य अवस्था नाजुक हुने भन्दै उनीहरुले छिटोभन्दा छिटो डाइलासिस सेवा सुचारु गर्ने प्रवन्ध गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन्। डाइलासिस गराउनुपर्ने बिरामीसहित मृगौला पीडितका परिवारजनसमेत जिल्ला प्रशासन कार्यालय घेरा उगर्न पुगेका थिए।

उनीहरुले डाइलासिस नपाएर आफ्ना बिरामीको ज्यान गए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन्।

मृगौला पीडित सरोकार समाज नेपालको अगुवाइमा भएको धर्नाका सहभागीहरुले केन्द्रमा डाइलासिस गर्न नपाएर अन्यत्र जानुपर्दा हुने खर्चको क्षतिपूर्ति आन्दोलनकारी नर्स वा उनीहरुको माग सम्बोधन नगर्ने स्वास्थ्य मन्त्रालयले व्यहोर्नुपर्ने माग गरे।

समाजका अध्यक्ष बलराम सुवेदीले केन्द्रको डाइलासिस सेवा छिटोभन्दा छिटो सुचारु गर्न माग गरे। आफूहरुको माग सम्बोधन नगरिए मृगौला पीडितहरु थप आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए।

‘आन्दोलनमा स्वास्थ्य माफियाको चलखेल’
अध्यक्ष सुवेदीले भक्तपुरस्थित राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनको नाउँमा स्वास्थ्य माफियाहरुको चलखेल भइरहेको दाबी गरे।

उनले अंग प्रत्यारोपणको क्षेत्रमा केन्द्र र केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पाइरहेको सफलताबाट तर्सिएर स्वास्थ्य माफियाहरुले केन्द्रमा बाधा अवरोध पु¥याइरहेको आरोप लगाए।

‘नभएर केन्द्र बन्नुभन्दा अघि नै प्रत्यारोपण सुरु भएको वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा अंग प्रत्यारोपणले किन सफलता पाउन सकेन ?’, अध्यक्ष सुवेदीले प्रश्न गरे, ‘वीर र त्रिविमा २०–३० वर्षमा सयजनाको मृगौला प्रत्यारोपण भएन तर भक्तपुरले पाँच वर्षमा पाँचसयभन्दा बढीको मृगौला प्रत्यारोपण गरिसक्यो।’

उनले केन्द्रमा सुरु भएको आन्दोलनको माग जेसुकै भए पनि त्यसको मुख्य उद्देश्य केन्द्रलाई अरु सरकार अस्पतालजस्तै पंगु बनाउने र प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठलाई केन्द्रबाट हटाउने रहेको दावी गरे।

‘नभए डा. श्रेष्ठविरुद्ध केन्द्रका नर्स सँगसँगै चिकित्सकहरुसमेत लागिपर्नुको अर्थ के हो ?’, अध्यक्ष सुवेदीले प्रश्न गरे, ‘डा. पुकारको ठाउँमा आउन चाहनेहरुले उहाँले जस्तै काम गर्नसक्नु हुन्छ ? सक्नुहुन्न भने मृगौला बिरामीहरुको जीवनसँग नखेल्नुहोला।’

प्रशासनद्वारा वार्ताको पहल
यसैबीच मृगौला पीडितहरु आन्दोलनमा उत्रिएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शुक्रबार नै आन्दोलनरत नर्स र केन्द्रबीच वार्ताको पहल गरेको छ। तर आन्दोलनरत नर्सहरु वार्तामा आउन तयार नभएपछि शुक्रबार साँझसम्म वार्ता हुन सकेको छैन।

आन्दोलनरत नर्सहरुले पहिले प्रहरीले पक्राउ गरेका आफ्ना सम्पूर्ण सहकर्मीहरुलाई रिहा गर्नुपर्ने सर्त राखेका छन्।

प्रजिअ भट्टले आन्दोलनकारी नर्सहरु औपचारिक वार्तामा नआउँदा समस्या भइरहेको सुनाए। उनले करार कर्मचारी भर्नासम्बन्धी ऐन र लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गर्नुपर्ने नर्सहरुको माग प्रशासनले पूरा गर्न नसक्ने बताए।

‘करारमा कर्मचारी भर्नासम्बन्धी ऐन संसदले मात्रै खारेज गर्न सक्छ। विज्ञापन लोकसेवाले मात्रै खारेज गर्नसक्छ’, प्रजिअ भट्टले भने, ‘तैपनि समस्या समाधान गर्ने पहल गरिरहेका छौं। केन्द्रको डाइलासिस सेवा सुचारी गर्ने प्रयास गरिरहेका छौं।’

त्यस्तै केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले आफूहरुले पटकपटक वार्ता गर्दा पनि समस्या समाधान नभएको सुनाउँदै अहिले प्रमुख जिल्ला अधिकारीमार्फत पहल भइरहेको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.