आदरणीय हजुरआमा साष्टांग दण्डवत् !
एक सय १७ वर्ष पुगिसकेकी हाम्री आदरणीया हजुरआमा बाटुली लामिछाने नुवाकोटको धानसिङमा हुनुहुन्छ। अस्ति (२९ वैशाख २०७६) मा यसै दैनिकमा उहाँको विषयमा पढ्न पाउँदा हामी गौरवान्वित हुन पायौं। हाम्रा पुस्तक र पत्रपत्रिकामा सय वर्ष नाघेका शताब्दी पुरुषहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा सत्यमोहन जोशीजस्ता विशिष्ट व्यक्तिहरूका विषयमा लेख तथा समाचार पढ्न पाउँदा गौरवान्वित हुँदै आएका छौं। तर हाम्रा नारीका विषयमा भने उति चासो राखिएको नदेख्ता हामी औधि चिन्तित थियौं।
यस्तैमा हाम्रो हृदय नै द्रवीभूत तुल्याउँदै अन्नपूर्ण पोस्ट्ले यसपाला श्रद्धेया माता बाटुली लामिछानेको आकर्षक र प्रेरणाप्रद तस्बिर प्रकाशित गरेर हाम्रो हृदय द्रवीभूत तुल्याएको छ। एकातिर हाम्रा माताहरूप्रति उच्च भावना र स्नेहको अविरल धारा बगाउँदै यस लेखले हामीलाई प्रेरणा, स्नेह र आस्थाको अविरल आशीर्वाद दिइरहने हाम्री हजुआमाको परिचय दिएको छ भने अर्कातिर मनुष्य जीवनको सदा बगिरहने उत्साह, उमंग र सत्स्नेहको कञ्चन भावनाको पनि ज्योति फिँजाएको छ।
हाम्री हजुरआमा बाटुली मेरा पुर्खाहरूले सधैं उल्लेख गर्ने नुवाकोटको थानसिङमा हुनुहुँदो रहेछ। घुम्दैघुम्दै कुनै दिन त्यहाँ पुगेको पनि छु र त्यो अति सुन्दर पहाडी क्षेत्रको अवलोकन पनि गरिसकेको छु। तर जतिबेला म त्यहाँ पुगेको थिएँ मेरी श्रद्धेय हजुरआमाको परिचय मलाई थिएन, खालि पहाडी सौन्दर्य र हरियाली वातावरणले ढकमक्क त्यस स्थलको सौन्दर्यले म द्रविभूत भएको थिएँ। त्यति मात्र होइन, त्यहाँ हाम्रा पुर्खामध्ये कतिजना पुगेका र त्यहाँ रमाएका कुरा मैले मेरा पुर्खाहरूको स्थल दोलखाको सुकाठोकर तथा इलामको मेरो जन्मस्थल वरबोटेमै पनि पटकपटक सुनेको थिएँ। आज त्यस पवित्र रमणीय र आकर्षक क्षेत्रमै मेरी हजुरआमा बाटुली नै हुनुहुँदो रहेछ भनेको वर्णन सुन्न र पढ्न पाउँदा म पुलकित भएको छु।
मेरा प्यारा भाइ नरेन्द्रराज प्रसाईंले आफ्नी जीवनसँगिनी इन्दिरा प्रसाईं (अर्थात् ‘नइ’) सँग मिली हाम्रा शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको जन्मोत्सवको महोत्सवमा ‘नइ प्रकाशन’ को आकर्षक उत्सव मनाएका बेला मैले आदरणीय सत्यमोहन जोशीज्यूसँगको वार्तालापको शुभअवसरसमेत प्राप्त गरेको बेला अर्थात् ‘नइको साहित्यिक उत्सव’ मा सत्यमोहन जोशीज्यूसँग निकैबेर वार्तालाप गर्ने र प्रेरणा प्राप्त गर्ने अवसर पाएँ। त्यसैबेला मलाई हाम्रा पुजनीय पुर्खाहरू कमलमणि दीक्षित, मदनमणि दीक्षित र अरू निकै साहित्य स्रष्टाहरूको सम्झना भयो। हाम्रो मातृभूमि यस्ता महान् सर्जकहरूको कृतिकारिताले सिँगारिएकोमा म आफूलाई भाग्यमानी ठान्दै श्रद्धेय हजुरआमा बाटुलीदेवीको दीर्घायुप्रति श्रद्धावान् हुँदै नेपाली हुन पाएकोमा मक्ख पर्छु। जन नेपाली भाषा र नेपाली साहित्य !!
हो, म अहिले ८४ वर्ष पार गरेर ८५ मा टेक्न पुगेको मात्र छु र हजुरआमाको एक सय १७ वर्षको उमेरमा पुग्न मैले धेरै लेख्नुपर्छ, ग्रन्थहरूको सिर्जनमा लागिरहनुपर्छ, तर हजुरआमाको यो उच्चकोटिको प्रेरणा भने मेरो जीवनको ठूलो उपलब्धि हुनेछ !